दोबाबासीका घरघरमा खानेपानी सुविधा

अन्नपूर्ण गाउँपालिका–१ दोबामा घरघरमा खानेपानीका धारा पुगेपछि स्थानीयबासीलाई सहज भएको छ । वर्षौंदेखि सफा र स्वच्छ खानेपानीबाट वञ्चित भएका दोबावासीका घरघरमा धारा जडान भई पानी आउन थालेपछि दैनिकी सहज बनेको हो ।
खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीबाट चार वर्ष अगाडि दोबा खानेपानी योजना सुरु गरेको थियो । गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको चार करोड ८९ लाख ६९ हजार ४ सय ६९ रुपैयाँ लागतमा योजना सुरु गरिएको कार्यालयका इन्जिनियर राजेश उलकले बताए । उनका अनुसार योजनामा स्थानीयबासीले २० प्रतिशत श्रमदान जुटाएका छन् ।
दोबाका सबै घरधुरीमा एक घर एक धारा खानेपानी पु¥याउने लक्ष्यका साथ चारवटा बस्तीमा एकैसाथ चारवटा स्किममा योजना सञ्चालन गरिएको छ । योजनामा ५० हजार देखि ७० हजार लिटर क्षमताका तीनवटा ट्यांकी र २० देखि ३० हजार लिटर क्षमताका तीनवटा गरी ६ वटा ट्यांकी निर्माण भएका छन् । दोबा खानेपानी योजना अन्तिम चरणमा पुगेको छ । कार्यालयका इन्जिनियर उलकले भने, “अबको दुईचार महिनाभित्र योजना पूर्णरूपमा सम्पन्न हुन्छ ।”

दोबाको मुख्य गाउँमा गतवर्ष दुई सय एक घरधुरीमा धारा जडान गरी पानी सञ्चालन गरिसकिएको छ । चालू आर्थिक वर्षमा मरकाका १ सय ६७ घरधुरीमा पानी खसालिएको छ । यसैगरी सुनारीको बस्तीका ४१ र बगरका ३४ घरधुरीमा खानेपानीका धारा जडान भइसकेको र पानी सञ्चालन गर्न बाँकी रहेको उपभोक्ता समितिका अध्यक्ष डमबहादुर पुर्जाले बताए ।
सुनारी र बगरका बस्तीमा मुख्य पाइपलाइन, ट्यांकी, धारा जडान सम्पन्न भई सहायक पाइपलाइन विस्तार र मिटर जडान गर्ने काम बाँकी रहेको र आगामी आर्थिक वर्षको सुरुवातमै सो काम सम्पन्न भई धारामा पानी सञ्चालन गरिने इन्जिनियर उलकले बताए । दोबाका करिब ४ सयभन्दा धेरै घरधुरी रहेका छन् । योजना सम्पन्न भएर घर घरमा पानी आउन थालेपछि पिउने पानी लिन घण्टौं पैदल हिँडेर टाढा पुग्नुपर्ने बाध्यता हटेको वडा अध्यक्ष दिलिपकुमार गर्वुजाले बताए । योजनाको काम अन्तिम चरणमा पुगेको छ ।