लमजुङका उपभोक्ता शुद्ध खानेपानीबाट वञ्चित

लमजुङका अधिकांश खानेपानी आयोजनामा सुरक्षा योजना लागू नभएको पाइएको छ । जिल्लाका साना तथा ठूला योजनामा स्रोतदेखि उपभोक्तासम्म खानेपानीको सुरक्षालाई निरन्तर सुनिश्चितता गर्ने प्रभावकारी विधि कार्यान्वयनमा नभएको पाइएको हो ।
जिल्लास्थित स्वास्थ्य कार्यालयले खानेपानी शुद्धता परीक्षणका क्रममा उपभोक्ता संस्थाहरूमा खानेपानी सुरक्षा योजना कार्यान्वयन भए÷नभएको सर्वेक्षण गरेको हो । कार्यालयले गरेको सर्वेक्षण प्रतिवेदनअनुसार जिल्लाका केही उपभोक्ता संस्थामा खानेपानी सुरक्षा योजना लागू भए पनि प्रभावकारी कार्यान्वन नभएको पाइएको छ ।
सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य कार्यालयले अधिकांश उपभोक्ता समितिमा खानेपानी सुरक्षा योजना टोली गठन नभएको, जोखिम नियन्त्रण तथा प्रभावकारिता विश्लेषण नभएको, अनुगमन तयारी, कार्य सञ्चालन तथा नियमित प्रमाणीकरण नभएको जनाएको छ । सोबाहेक पानी शुद्दीकरण कागजात नभएको, पानी प्रशोधन केन्द्र प्रभावकरी रूपमा सञ्चालन नभएको, जैविक र भौतिक प्रदूषणको सम्भावना रहेको, उपभोक्ता सन्तुष्टि पहिचान तथा जनचेतना कार्यक्रम सञ्चालन नभएको कार्यालयले जनाएको छ । कतिपय उपभोक्ता संस्थामा पानी परीक्षण प्रयोगशाला नभएको, नियमित पानी परीक्षण नभएको, मुहान क्षेत्रमा जथाभावी फोहोर तथा पहुँंच नियन्त्रणमा नरहेको पनि जनाएको छ ।
जिल्लामा सदरमुकाम बेसीसहरसहित सुन्दरबजार र मध्यनेपालका केही ठूला खानेपानी आयोजनामा खानेपानी सुरक्षा योजना लागू भएका छन् । खानेपानी सुरक्षा योजना लागू भएका उपभोक्ता संस्थाहरूमा पनि कार्यान्वयनको चरण निकै फितलो भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

लमजुङमा सुन्दरबजारअन्तर्गत तीनवटा खानेपानी आयोजनामा खानेपानी सुरक्षा योजना लागू भएको छ भने मध्यनेपालमा दुईवटा र बेसीसहरमा एकमात्र आयोजनामा सो योजना लागू भएको छ । सुन्दरबजारस्थित लसुनेखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सुन्दरबजार खानेपानी तथा सरसफाइ उपभोक्त समिति र भोटेवडार तार्दीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा सो योजना लागू भएको हो ।
सोबाहेक मध्यनेपालको रम्घा समिभन्ज्याङ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भोर्लेटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा सो योजना लागू भएको छ । सदरमुकामस्थित बेसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा पनि सो योजना लागू भएको छ ।
खानेपानी सुरक्षा योजना नहुँदा लमजुङका अधिकांश क्षेत्रका खानेपानी मुहान तथा धाराको पानी पिउनका लागि अयोग्य भएको पाइएको छ । स्वास्थ्य कार्यालय लमजुङले जिल्लाका विभिन्न स्थानका खानेपानी स्रोतहरूको नमुना परीक्षण गर्दा अधिकाँश खानेपानीमा दिसाजन्य जिवाणु इकोली अर्थात् कोलिफम भेटिएको जनाएको छ ।
जिल्लाका आठवटै स्थानीय तहमध्ये १ सय २० स्थानमा खानेपानी नमुना परीक्षण गर्दा ९१ स्थानको खानेपानी पिउनका लागि अयोग्य भेटिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । जिल्लामा गरिएको परीक्षणअनुसार ७६ प्रतिशत खानेपानीका मुहान तथा धाराहरूको पानीमा दिसाजन्य जिवाणु भेटिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।