Logo

दुर्गम गाउँका घरघरमा खानेपानीका धारा

दोलखाको कालिञ्चोक गाउँपालिका–१ का बेगुम्पा र क्याम्पलगाउँका घरघरमा खानेपानी सुविधा पुगेको छ । दोलखाको दुर्गम गाउँको रूपमा चिनिने यी गाउँमा थामी जातिको मात्र बसोबास छ ।
पानीको मुहान गाउँनजिकै भएर पनि व्यवस्थित हुन सकेको थिएन । त्यसैले यहाँका बासिन्दा खोलाबाटै पानी ल्याएर खान बाध्य थिए । घरघरमै पानीका धारा बनेर पानी झर्न थालेपछि स्थानीय पनि खुसी भएका छन् । घरघरमा पानीको धारा बनेपछि अब पानी लिन जाने समय पनि बचत भएको छ भने सरसफाइ गर्न पनि सहज हुने भएको छ । दुर्गम गाउँका घरघरमा पानीको धारा पु¥याउन गाउँपालिकाको अभियानमा वाटर एड र सामुदायिक विकास मञ्चले ५३ लाख सहयोग गरेको छ । उपभोक्ताले २३ लाख बराबरको श्रमदान गरेका छन् भने म्याचिङ फण्डमार्फत कालिञ्चोक गाउँपालिकाले नौ लाख ९५ हजार खर्च गरेको छ । ठाडो खोरिया खानेपानी योजनाले बेगुम्पाका ९९ घरमा धारामा पानी झरेको छ ।
क्याम्पलको १३६ घरमा पनि यस अघि घरघरमा धारो बनिसकेको छ । यो वडाको यी दुई सबैभन्दा ठूला बस्ती हुन् । खानेपानी योजनाका लागि गाउँपालिकाले पनि लगानी गरेको छ भने स्थानीयले पनि श्रमदान गरेका छन् । यी बस्तीमा पानीको सुविधा पुगेपछि अरु टोलका घरघरमा पनि खानेपानी विस्तार गर्ने गाउँपालिकाले योजना बनाएको छ ।
कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले दुर्गम गाउँमा घरघरमा खानेपानी निर्माणमा सहयोग गरेकोमा सहयोगी निकायलाई धन्यवाद दिए । “हाम्रा वडा नं. ३, ४, ७ र ८ मापानीको समस्या भएता पनि मुहाननजिक छैनन्,” उनले भने, “खानेपानीको विकल्प कोसीको पानी तान्नु वा पहाडमा पनि डिप बोरिङ नै हो सहयोगका लागि दातृ निकायलाई अनुरोध गर्छु ।”
खानेपानीका हरेक घरघरमा मिटर जडान गरिएको ठाडो खोरिया खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष कालुमान थामीले बताए । विगतमा बनेका योजनाको व्यवस्थित मर्मत संहार नहुँदा अलपत्र परेपछि अहिले उपभोक्ता समितिमार्फत व्यवस्थापन गर्ने गरी मर्मत संहार कोषको समेत व्यवस्थापन भएको छ । मर्मत संहार र नियमित पानी आपूर्तिका लागि हरेक घरधुरीले पानी उपयोग गरेवापत शुल्कसमेत निर्धारण भएको छ ।

सामुदायिक विकास मञ्चका अध्यक्ष राजु थापाले खानेपानी खानयोग्य रहेको जानकारी दिए । योजनासँगै सीप र प्रविधि पनि हस्तान्तरण गरेकाले अब नियमति मर्मत सम्हार गरेर योजना चलाउन अनुरोध गरे । स्थास्थ्यका लागि स्वस्थ पानीको आवश्यकता पर्छ । हाम्रो गाउँ घरमा स्वस्थ पानीकै अभावमा विभिन्न रोग लाग्ने गरेका छन् । त्यसमा पनि दुर्गम गाउँमा यसको समस्या विकराल छ । सरकारी तथा गैरसरकारी साझेदारीमा बनेका यस्ता योजनाबाट स्वस्थ पानी आपूर्ति गरी नागरिक स्वस्थ राख्न ध्यान दिनुपर्छ । घरघरमा पनीको सुविधा पुगे पानीका लागि घण्टै लाइन बस्नुपर्ने र हिँड्नु पर्ने समस्या समाधान भए बचेको समय उत्पादनमूलक काममा लगाउन सकिन्छ भने करेसाबारी समेत हरियाली हुनेछन् । सरसफाइमार्फत स्वस्थ रहनसमेत मद्दत गर्छ । खानेपानी योजना गाउँपालिका अध्यक्षमार्फत उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्