२६ वर्षपछि नेपाललाई पानी «

२६ वर्षपछि नेपाललाई पानी

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ ।
सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूल नहर निर्माण कार्य थालनी भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निर्मार्ण गरी सक्नुपर्ने भएपनि लामो समय नहर निर्माणमा भएको ढिलाइले नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो । महाकाली सिंचाई आयोजना तेस्रो चरणका अनुसार भारततर्फबाट निर्माण गरेको नहरको भागमा केही दिन अगाडिबाट परीक्षण गर्नको लागि पानी छोड्न थालेको छ । यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर बुधबार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ ।
लामो समय भारतले आफ्नो भूमिमा बनाउनुपर्ने मूल नहर निर्माणमा चासो देखाएको थिएन । तर केही वर्ष अगाडिबाट नहर निर्माणमा भारतीय पक्षले तदारुकता देखाएपछि २६ वर्षपछि नहरमा पानी आएको हो । महाकाली सिंचाई आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले तीन दिनदेखि निरन्तर रुपमा टनकपुर नहरबाट नेपालतर्फ पानी आइरहेको बताए । उनले टनकपुर नहरबाट २६ वर्षपछि आएको पानीले १५ असार अर्थात धान दिवसको दिन नहरको पानीबाट किसानहरुले धान रोप्ने कार्यक्रमसमेत रहेको बताए ।

निर्देशक बमले २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैमा खुसी छाएकोसमेत बताए । उनले नहर निर्माण पूर्णरुपमा पूरा नभएकाले निर्माण कार्य सम्पन्न भएको क्षेत्रलाई आधार बनाएर नहरमा पानी सञ्चालन गर्ने योजना बनाएको बताए । “नेपाल–भारत दुई देशबीच महाकाली सम्झौता भएको थियो । त्यो सम्झौता अनुसार नेपाललाई टनकपुर ब्यारेजबाट हामीलाई २८÷३५ क्युमेक्स पानी उपलब्ध गराउने सहमति भएको थियो । काम गर्दै जाँदा २६ वर्षको दौडान नेपालतर्फ नहर बनेर पानी झरेको अवस्था छ । अहिले निरन्तर पानी परीक्षण भइरहेको छ” उनले भने, “आज हामी किसानको चाडपर्व धान दिवसको अवसरमा टनकपुरबाट १९ किलो मिटरबाट पानी ल्याएर टनकपुरको पानीबाट पहिलो पटक किसानको खेतमा पानी पु¥याएर रोपाईं गर्ने कार्यक्रम राखेका छौं । २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैलाई खुशी लागेको छ ।”
आयोजना निर्देशक बमले नेपाल भारत सन्धि भएको झण्डै २६ वर्षसम्म आउँदा मूल नहरको १८.५ किलोमिटर क्षेत्रमा मात्रै मूल नहर निर्माण सम्पन्न भएको बताए । उनले ब्रह्मदेव क्षेत्रबाट सन् २००१ मा मूल नहर निर्माण गर्ने भनेर अनुसन्धान थालिएको नहरको आर्थिक वर्ष २०६३÷०६४ देखि सिंचाइको मुख्य नहर निर्माण अगाडि बढाइएको बताए । निर्देशक बमले मूल नहर निर्माण सुरु भएपनि नहर निर्माणको गति तीव्र भएको कारण नहरमा अहिले पानी बग्ने अवस्था आएको बताए । ब्रह्मदेव क्षेत्रबाट १५२ किलोमिटर लामो मूल नहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २४ किलोमिटरको शाखा नहर बनाउनुपर्ने नहरहको अहिले विभिन्न चरणमा नहर निर्माणको कार्य भइरहेको बताए ।


उनले महाकाली सन्धिको धारा ४ अनुसार नेपाली इलाकाको दोधारा–चाँदनी क्षेत्रका लागि शारदा नहरबाट पाउने पानीको लागि पनि नहर निर्माणको काम अगाडि बढाइएको बताए । निर्देशक बमले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आवश्यक जग्गा अधिकरण गर्नको लागि प्रक्रिया अगाडि बढाइएको पनि बताए । सन् २०२२ सम्म मूल नहर निर्माण पूर्ण रुपमा सम्पन्न गरिसक्नुपर्ने भनिएपनि निर्माण पूरा हुने सम्भावना भने न्यून देखिन्छ । सन्धिअनुसार मूल नहरबाट नेपालले गर्मीमा २८.३५ क्युमेक्स पानी पाउनेछ भने हिउँदको समयमा ८.५ क्युमेक्स पानी प्राप्त गर्नेछ ।
मूल नहर निर्माणसँगै मूल नहरको शाखानहर निर्माण गर्ने कुरालाई पनि अगाडि बढाइएको छ । महाकाली सिंचाई तेस्रो चरण आयोजनाका अनुसार ब्रह्मदेव क्षेत्रमा १२ वटा शाखा बिस्तार गरिनेछन् भने मुसेपानी हात्तीथला क्षेत्रमा १० वटा नहरका शाखा बिस्तार गरिनेछन् । सन्धिअनुसार दोधारा–चाँदनी क्षेत्रमा भारतले १० घनमिटर प्रतिसेकेण्ड ९३५० क्यूसेक पानी उपलब्ध गराउनेछ भनेर उल्लेख गरिएको छ । यस्तै भारतले भने सन् १९२८ मा नै निर्माण गरेकोे शारदा ब्यारेजबाट निरन्तर भारतीय भूमिमा पानी आपूर्ति गराउने नहर करिव साढे ११ हजार क्युसेक क्षमताको छ । नेपाली पक्षबाट समयमै नहर निर्माण गर्न नसक्दा पानीको ठूलो हिस्सा कब्जा गरेको भारतले दोधारा–चाँदनीले पाउनुपर्ने जम्मा ३ सय ५० क्युसेक पानी पनि भारतले अहिलेसम्म दिएको छैन ।
सन् १९९६ मा नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि हुँदा दोधारा र चाँदनीलाई सिंचाइका लागि पानी दिनुपर्ने तथा भारतीय भूमिमा एक हजार दुईसय नहर निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो । वि.सं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो ।
फोटो ः कञ्चनपुरको भीमदत्त नगरपालिका ९ स्थित ब्रह्मदेव क्षेत्रको महाकाली नदीमा निर्माण गरिएको नहरमा भारतले छोडेको पानी ।

प्रतिक्रिया दिनुहोस्