सेयर बजारमा पटक–पटक आन्दोलन किन «

सेयर बजारमा पटक–पटक आन्दोलन किन

सेयर लगानीकर्ताले आन्दोलन गरेर धितोपत्र बोर्डसँग शुक्रबार सम्झौता गरे । ५२ लाख सेयर लगानीकर्ताको प्रतिनिधित्व भन्दै गरिएको आन्दोलनका बारेमा बजारमा सकारात्मकभन्दा नकारात्मक टिप्पणी पाइन्छ । बजार बढाउन हो कि घटाउन आन्दोलन गरिएको हो भन्ने लगानीकर्ताका प्रश्नको बीच करिब पाँच सय अंक सेयर बजारले गुमायो । शुक्रबार आन्दोलन सकिएपछि अचानक बढ्न थालेको बजार आइतबार पनि बढ्यो तर सोमबार घट्यो । अघिल्ला साताभन्दा यता शुक्रबारदेखि धितोपत्र बोर्डले के–कस्ता नीतिनियम ल्यायो र बजार बढ्यो वा राष्ट्र बैंकले के परिवर्तन ग¥यो र बजार बढ्यो भन्नेबारे कसैसँग पनि उत्तर छैन । त्यसैले धितोपत्र बोर्डको कमजोरीका कारण लगानीकर्ताहरू हाबी भएको पनि बजारमा चर्चा छ । यसैबीच केही सेयर ट्रेडरको स्वार्थमा गरिने आन्दोलनले सेयर इन्भेस्टरको माग तथा आमलगानीकर्ताको मागको हित सुनिश्चित हुन सक्छ कि सक्दैन, अर्को बहस सुरु भएको छ । आन्दोलनकारीका मागहरूमाथि छलफल र बहसबिना एकैचोटि कार्यान्वयन समिति बनाएर धितोपत्र बोर्डले पनि आफ्नो कमजोरी लुकाउन खोजेको आरोप पनि छ । धितोपत्र बोर्डको कमजोरीका कारण ससानो जमात वा स्वार्थ समूहका मागहरू कार्यान्वयन गर्दै जाँदा अरू समूह जन्मने र फेक संगठनको पर्खाल तयार हुने जोखिम रहने बजारमा चर्चाका बीच सेयर बजार घट्नुमा नेपाल राष्ट्र बैंक वा धितोपत्र बोर्ड कसको कमजोरी भन्नेबारे कारोबारले गरेको कुराकानीको सार ः

मौद्रिक नीति र सेयर बजारको सम्बन्ध नबुझेर आन्दोलन
दीपेन्द्रबहादुर क्षत्री
पूर्वगभर्नर, नेपाल राष्ट्र बैंक
मौद्रिक नीतिले सेयर बजारमा समस्या प¥यो भन्नु यी दुईबीचको सम्बन्ध नबुझ्नु हो । सेयर बजारमा किन बारम्बार आन्दोलन हुन्छ अनि नेपाल राष्ट्र बैंकलाई किन गाली गरिन्छ भन्ने जान्नुअगाडि मौद्रिक नीति र सेयरको सम्बन्ध जान्नुपर्छ । त्यसभन्दा पनि पहिला मौद्रिक नीति भनेको के हो र सेयर भनेको के हो ? जान्न आवश्यक छ । मौद्रिक नीति भनेको केन्द्रीय बैंकले तय गरेको बृहत् आर्थिक नीति हो । यसले मुद्रा आपूर्ति र ब्याजदरको व्यवस्थापन समावेश गर्छ र मुद्रास्फीति, उपभोग, वृद्धि र तरलताजस्ता समष्टि आर्थिक उद्देश्यहरू प्राप्त गर्न देशको सरकारले प्रयोग गरेको माग पक्ष आर्थिक नीति हो । सामान्य अर्थमा बुझ्ने हो भने ब्याजदरको माध्यमबाट स्रोत र साधन परिचालन गर्ने काम मौद्रिक नीतिले गर्छ । मौद्रिक नीतिले कुनै व्यक्तिले बाहिरबाट आर्जन गरेको अतिरिक्त बचतलाई अर्थतन्त्र सञ्चालन गर्न तथा उत्पादन वृद्धि गर्न, रोजगारी वृद्धि गर्न सघाउँछ । यस्तै, सूचीकृत कम्पनीले सेयर खुलाउँछन् । कम्पनीले पुँजीका लागि सेयर बजारमा आफूलाई प्रस्तुत गर्छन् र लगानीकर्ताले लगानी गर्छन् ।
व्यापारको दृष्टिले लगानी गर्नेहरूले सेयर बजारमा छोटो अवधिका लागि मात्र कारोबार गर्छन् । जस्तैः लगानीकर्ताले बैंकबाट लोन लियो, १० प्रतिशत बढ्यो भने १० प्रतिशत पनि फेरि बैंकबाट लोन लिएर फेरि थप सेयर किन्छन् । त्यसै कारण सेयर बजारमा छिटोछिटो सेयर बजार तलमाथि भइहालेमा उनीहरूलाई मर्का पर्छ । तर, लगानीकर्ताले लामो समयको अवधि कुर्न सक्ने भएकाले लगानीकर्ताले ६ महिना, एक वर्षसम्म कुर्न सक्छ । त्यस अवधिसम्म उसले कम्पनीको प्रतिफल पनि पाउँछ, सेयर बढेमा अलिकति लाभ पनि हुन्छ । त्यसैले लगानीकर्ताले लामो समय लगानी गरेको पाइन्छ । तर, सेयर व्यापारले भन्दा लगानीकर्ताको सेयर बजार अपेक्षा बढी देखिन्छ । तर, हालको अवस्थामा छोटो समयका लागि लगानी गर्ने भएको हुनाले बढी व्यापार केन्द्रित छ ।
मौद्रिक नीति र सेयरको सम्बन्धमा केन्द्रीय बैंकले ब्याजदर तलमाथि गर्दा सेयरमा लगानी गर्ने अनुकूल र प्रतिकूल दुवै परिस्थिति सिर्जना हुन्छ । पहिलो, बजार सहभागीहरूले प्रयोग गर्ने छुट दर परिवर्तन गरेर स्टक रिटर्नमा प्रत्यक्ष प्रभाव पर्छ । कडा मौद्रिक नीतिले कम्पनीहरूको भविष्यको नगद प्रवाहलाई पुँजीकरण गर्ने दरमा वृद्धि गराउँछ, जसले स्टकको मूल्य घटाउँछ ।
साउँको ब्याज बढ्न थाल्यो भने साउँको ब्याज बढेपछि सेयर बजारमा लगानीकर्ताले सापट लिँदा चर्को (महँगो) मूल्य पर्ने भयो । चर्को (महँगो) लागतमा स्रोत र साधन लिएपछि सेयरमा घाटा देखियो । त्यसै कारण केही लगानीकर्ताहरू हाम्रो रोजीरोटीको दक्खल दिन पाइन्छ ? हाम्रो पेटमा लात्ताले हान्न पाइन्छ ? भन्दै छद्मभाषामा आन्दोलन गर्छन् । लगानीकर्ताको मागका कारण पनि ब्याज घटाउनुपर्ने देखियो, जसका कारण आन्दोलन भएको देखिन्छ । तर, आन्दोलन गरेर ब्याज घटाउनु मुर्खता हो । राष्ट्र बैंकले सेयर बजार हेरेर ब्याजदर निर्धारण गर्ने पनि होइन । किनकि राष्ट्र बैंकको काम वित्तीय स्थायित्व कायम राख्नु हो ।

आन्दोलनले बजार बढ्दैन
डा. नीरज पौडेल
उपप्राध्यापक (अर्थशास्त्र)
काठमाडौं विश्वविद्यालय
सेयर बजारको विरोधसम्बन्धी जान्नुभन्दा पहिला सेयर बजार भनेको के हो भनेर जान्नु जरुरी छ । साथै, सेयर बजारले देशको आर्थिक स्थितिमा कस्तो प्रभाव पार्छ भन्ने पनि जान्नु जरुरी छ । कुनै पनि कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै एकाइमा लगानीकर्ताहरूलाई बिक्री गरिन्छ भने त्यस कम्पनीको पुँजी विभाजन एकाइको दस्ताबेजलाई पुँजी भनिन्छ । तसर्थ कम्पनीका लागि पुँजी जम्मा गर्न सेयर जारी गरिन्छ । बजार विरोध वा आन्दोलन गर्न भनेको मलाई चाहिँ बकबास लाग्छ । कोही बजार मूल्य घट्यो भने आन्दोलन गर्ने हुन्छन् भने भोलि–पर्सि केही मूल्य बढ्यो भनेर पनि आन्दोलन गर्ने पनि हुन्छन् । किनभने यो सेयर बजार घट्यो भने सबैलाई घाटा भइरहेको हुँदैन, कसैलाई चाहिँ फाइदा भइरहेको हुन्छ । त्यस कारण त्यसरी आन्दोलन गरेर हुने हैन । सबै लगानीकर्ताले बजारको रिक्स बुझेर लगानी गरेका हुन्छन् । कुनै पनि व्यापारमा त्यही त हुन्छ नि, त्यसकारण यो आन्दोलन गर्नाले पुँजीबजारको विकासमा राम्रो संकेत दिँदैन ।
यो सेयर बजार भनेको गाडीको मोबिलजस्तै हो, इन्जिन नै होइन तर मोबिलजस्तो हो । यसले चाहिँ कहाँ, कुन क्षेत्रमा आर्थिक अवस्था कमी छ, कुन क्षेत्रमा बढी छ भनेर जानकारी दिन्छ । कुन कम्पनीले आर्थिकमा राम्रो गरिरहेको छ, त्यसको सेयर बढ्छ र जसले राम्रो गरिरहेको छैन त्यसको सेयर बजार घट्छ । त्यसकारण यसले संकेत दिने काम गर्छ । योचाहिँ ट्राफिक लाइटजस्तो हो, ट्राफिक लाइट हेरेर गाडीहरूले कता जाने भनेर निर्णय गर्छन् नि ! त्यस्तै यसले ट्राफिक लाइटको काम गर्छ । यसले देशमा आर्थिकमा महŒवको त भनेर साध्य नै छैन । फेरि यो अहिलेको मात्रै नभएर परम्परागत, पहिले हजारौं वर्षदेखि रहेको छ ।
आन्दोलनजस्ता गतिविधिले वास्तविक लगानीकर्ताले लगानी गर्दैन, हामी विदेशी लगानी पनि स्वदेशमा भिœयाउन सक्दैनौं । किनभने यहींचाहिँ आन्दोलन गरेर बजार मूल्य घटाउने÷बढाउने, राजनीतिक रूपमा डिसिजन लिने जस्ता कार्य भइरहेका हुन्छन् । तैपनि यसले यसले चाहिँ केही असर पार्ला जस्तो मलाई लाग्दैन । योचाहिँ नेपालमा पेट्रोलको भाउ घटाऊ भनेर आन्दोलन गरेजस्तै हो ।
आन्दोलनले छेउटुप्पा केही पनि छुँदैन । यसले बाहिरी रूपमा निर्धारण हुन्छ, हाम्रो रोल भनेको हामीले कर घटाउने÷बढाउने काम हो । सेयर बजार भनेको सबैभन्दा कम कर लाग्ने बजार हो । यसमा एकपटक कर घटायो भने एकपटक यो सस्तो हुन्छ, तर फेरि भोलि बढिहाल्छ नि ! यो कुरा हाम्रा हातमा त छैन नि । सेयर बजारमा लगानी लगाउनुभन्दा पहिले नै सेयर बजारको नियम, परिस्थिति बुझेर लगानी गर्ने हो, पछि गएर ला मलाई थाहा थिएन भन्न त मिल्दैन । देशको कानुन मलाई थाहा छैन, मैले त अपराध गरिहालें भनेजस्तै हो । सेयरको मूल्यलाई कम्पनीको काम (पर्पmमेन्स) ले असर पर्छ, अरू केहीले पनि असर पार्दैन । त्यसैले पहिले नै हाम्रो बजार मूल्य बिग बबलमा गइसकेको थियो । त्यसैले पनि बजारको मूल्य घटेर आएको हो । त्यसैले आन्दोलन गरेर कुनै पनि फाइदा छैन । नेपालको मात्र नभएर संसारमै यस्तै हो । एउटा भ्रम सरकारको हात छ भनेर पनि लगानीकर्ताहरू आक्रोशित भएका हुन् । त्यसैले यो आन्दोलन गर्नु बकबास मात्रै हो । आन्दोलनले असर नपर्ने भन्ने होइन, एउटा कलाकारले केही कुरा बोल्दा त असर पर्छ नि, त्यस्तै हो ।

आन्दोलनले बजार घटाउने वा बढाउने होइन
छोटेलाल रौनियार
सेयर लगानीकर्ता
आन्दोलन सक्किसक्यो । आमरण अनशन हो र आमरण अनशनबाट पनि आन्दोलनकारीलाई फाइदा वा माथिबाट केही जवाफ आएन । नआएपछि अनशन १० दिनको रह्यो । सेबोनले बोलाएर सेबोनबाहिर अनशन बसेर आन्दोलनकारी समूह आए, सम्झौता गरेर आमरण अनशन तोडियो । आन्दोलनमा तीनवटा दर्ता भएका संस्था छन् । उहाँहरूलाई र उताबाट दुई जनाले र आन्दोलन संगठन समितिबाट तीन जना र बोर्ड बाट दुई जना गरी ७ जनाको संगठन बनाएर १२ गते एउटा बैठक बसियो । त्यसमा राम्रो कुरा आएको छ ।
आन्दोलन भनेको सेयर बजारको मूल्य बढाउन होइन, नीतिनियम गलत भइरहेको छ भनेर चेतना जगाउन र चेतावनी दिन हो । राष्ट्र बैंकको मौद्रिक नीति आयो । मौद्रिक नीतिका समीक्षाहरू पहिलो तथा दोस्रो चौमासको र तेस्रो चौमासको तीनवटै खराब प्रतिवेदन आएका कारण बजारमा असर प¥यो । अर्थ मन्त्रालयले केही गरेन । आईपीओको सप्लाइ आएको आयै भयो । आईपीओहरूको माग बढाउने काम केही गरेन, तर बजारमा सेयरको माग बढाउने काम गरे भने आफैं बजार बढ्छ । बजार बढेपछि सेबोन सकारात्मक हुन्छ । उहाँहरूले गर्नुपर्ने काम नगरिदिएकाले त्यो काम गर भनेर आन्दोलन गरिएको हो । यो कुनै सेयर बजार मूल्य बढाउन भनेर गरिएको होइन । सानो लगानीकर्ताहरूमा एक वर्षदेखि असर परिरहेको छ, एक वर्षदेखि बजार घटिरहेको छ । ३२ सयदेखि घट्दा–घट्दा १८ सयसम्म आइपुगेको छ । छोटो समयमा १४ सय त घटिसकेको छ । यो आन्दोलनले घटेको होइन, “आन्दोलनभन्दा पहिला जुन मौद्रिक नीति ल्याएको राष्ट्र बैंकको हरेक कारणले घटेको हो । १२ गते लगानीकर्ता सबैसँग पहिलो वार्ता भयो, त्यसमा राम्रा–राम्रा कुराहरू भइरहेको छ । अब उहाँहरूको हप्ताको एक वा दुई पटक बैठक बस्छ होला, लगातार सुधारको कार्यक्रम हुँदै जान्छ, अनि बजार पनि राम्रो नै हुन्छ । आन्दोलनको गलत व्याख्या विश्लेषण गर्छन् मान्छेहरू । यसले बजार बढाउन÷घटाउनमा कुनै पनि भूमिका खेल्दैन । यो कुरा मिलेन, त्यो कुरा मिलेन, मिलाइदिनुहोस् भनेर हामी त बजार घटे पनि बढे पनि वर्षको ३ सय ६५ दिन नै सेबोनमा, राष्ट्र बैंकमा, अर्थ मन्त्रालयमा गइरहेका हुन्छौं । यसपालि राष्ट्र बैंकको नीतिका कारण १०-११ महिना पहिलाभन्दा नराम्रो भएको हो । मौद्रिक नीतिको समीक्षा हुन्छ । तीन-तीन महिनामा त्यो समीक्षामा पनि झन्–झन् कडाइ गरियो । अनि पो बजार घटेको हो भने खासगरी राष्ट्र बैंकको मौद्रिक नीतिले र मौद्रिक नीतिका तीनवटा समीक्षाले घटाएको हो । यो नीति–नियम सुधार गर्दै ल्याइयो भने बजार मूल्य बढ्छ, उदाहरण हिजोको म्यासेजले बजार मूल्य बढेको लिन सकिन्छ ।

सेयर बजारमा स्थिर नीति लिनुपर्छ
तारा फुलेल
लगानीकर्ता
सेयर बजारमा आन्दोलन गर्नुको मुख्य कारण नेपाल सरकार, अर्थ मन्त्रालय, नियामक निकायहरूले गर्नुपर्ने कामहरू समयमै नगर्नु अहिलेको आन्दोलनको आवश्यकता हो भन्दा हुन्छ ।नियामकको गलत र वेमौसमी नीतिले अहिलेको परिस्थिति श्रृजना भएको हो ।अस्थिर नीति ल्याइयो भने लगानीकर्ताहरू पनि अस्थिर हुन्छन् । गभर्नरज्युले ब्याज दर बढ्छ, कहिले अर्थतन्त्र खराव, कहिले श्रीलंकाको स्थिति आउँछ जस्ता सार्वजनिक प्रस्तुतीले सेयर बजारमा असर पर्छ । जिम्मेवार निकायले बोल्दै हिंड्ने होईन निति बनाउने हो । सेयर बजारमा स्थिर नीति भएन भने समग्र लगानीकर्ताहरूको मनोबल घट्छ मनोवल घट्नु भनेको समग्र कारोवारमा असर पर्छ । लगानी गर्दा उत्साहित मानसिकता हुनुपर्छ र क्यापिटल मार्केटको विस्तार हुन्छ र देश निर्माणमा सहयोग पुग्छ । विगतमा सरकार र लगानीकर्ता बिच सम्झौता भएका ५८ बुँदे माग ,अहिलेको १९ बुँदे माग छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याईयोस र नेपालको सेयर बजारमा पटक–पटक आन्दोलन गर्न नपरोस् भनेर अहिले यसलाई फाइनल अथवा अन्तिम आन्दोलनका रूपमा लगानीकर्ताले आन्दोलन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्