रसुवाघाट-कालापानी खानेपानीको काम अन्तिम चरणमा «

रसुवाघाट-कालापानी खानेपानीको काम अन्तिम चरणमा

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा नदीको पानी गाउँमा लैजान थालिएको रसुवाघाट–कालापानी खानेपानी आयोजानको ९० प्रतिशत काम सकिएको छ । सुनकोसीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्टिङका लागि २०७२ साल चैत ११ गते उद्घाटन गरिएको आयोजनाको काम अन्तिम चरणमा पुगेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
नदी किनारमा मेसिन राख्ने पम्प हाउस, नदी किनारमा पानी संकलन ट्यांकी, नदी र गाउँको बीचमा १० हजार लिटर क्षमताको दुईवटा आरभीटी ट्यांकी तथा सबैभन्दा माथि गाउँमा ३० हजार लिटरको आरसीसी ट्यांकी निर्माण भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताए । नदीभन्दा १८ सय मिटरमाथि रहेको गाउँमा पानी निकाल्ने प्रयास स्वरुप थालिएको आयोजनाको १२ सय मिटर जीआई पाइप वेल्डिङ गरेर जडान गरिसकिएको छ । यस्तै, पाइप अड्याउने सयवटा पिलर पनि बनिसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष राउतले बताए । कालापानी बस्तीमा पाइप जडानको काम भइरहेको र सो काम पनि अन्तिम चरणमा रहेको राउतको भनाइ छ ।
आयोजनाका लागि निर्माणस्थलमा पानी तान्ने तीनवटा मेसिन, २५ केभीका तीनवटा विद्युत् ट्रान्सफर्मर, पोलिथिन पाइपलगायतका सामान ल्याई सकिएकाले जडान गर्न बाँकी छ ।
निर्माण उपभोक्ता समितिका अनुसार अब नदीको किनारमा समवेल (इनार) निर्माण, विद्युत्का १७ वटा पोल, ६ सयमिटर जीआईपाइप, तार खरिद गरेर ल्याउन बाँकी छ । “हामीले ९० प्रतिशत काम सकेका छौं,” निर्माण उपभोक्ता समितिका अध्यक्ष खत्रीले भने, “अब बाँकी रहेको समवेल निर्माण, १७ वटा पोल, ६ सयमिटर जीआईपाइप राख्ने बित्तिकै पानी गाउँमा निस्कने वातावरण बन्छ ।”
नदीको पानी लिफ्ट गर्न सुरु गरिएको खानेपानी आयोजनाका लागि आव ०७३/७४ मा खानेपानी तथा सरसफाइ मन्त्रालयबाट ७० लाख बजेट विनियोजन भएको थियो । खानेपानीको समस्या चर्किएको कालापानीमा पम्पिङ प्रविधिमार्फत सुनकोसीको पानी गाउँमा निकाल्ने विकल्पअघि सारिएको हो । नदीको पानी गाउँमा निकालेर ९७ धारामार्फत ५ सय बढी उपभोक्तालाई पानी वितरण गर्ने लक्ष्य राखिएको छ । छिमेकी वडा इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि कालापानीका ११५ घरपरिवार अहिले घण्टौं धाएर पानी पिउन बाध्य छन् ।
उपभोक्ताको ३६ लाख बराबरको श्रमदान रहने आयोजना १ करोड ८० लाखको लागतमा पूरा हुने खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय खोटाङले जनाएको छ । क्रमागत योजनाका रूपमा रेडबुकमा समावेस आयोजनाको काम यसै आवभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । गाउँ र नदीकोबीच तीन स्थानमा ट्यांकी निर्माण गरिने र विद्युतमार्फत पहिलो, दोस्रो हुँदै तेस्रो ट्यांकीमा नदीको पानी निकालिने खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयका प्रमुख विजय ठाकुरले बताए । “नदीको पानीलाई लिफ्ट गरेर पहिलो ट्यांकीमा निकालिने छ, त्यस पानीलाई पुःन दोस्रोमाथिको ट्यांकीमा पुरायाइने छ,” ठाकुरले भने, “दोसो ट्यांकीमा चढाइएको पानीलाई पुःन सबैभन्दा माथिल्लो ट्यांकीमा जम्मा गरेर वितरण हुनेछ ।” आयोजनाको सर्भेका क्रममा २ लाख रकम प्राप्त भएकोमा आव ०७१/७२ मा १० लाख र आव ०७२/७२ मा १० लाख बजेट प्राप्त भएको थियो ।
खानेपानीको समस्या चर्किदै गएपछि कालापानीमा सुनकोसीको पानी लिफ्ट गर्ने प्रयास स्वरुप २०७० सालमा ‘डिटेल सर्भे’ गरिएको थियो ।
उत्तम चौलागाईं

प्रतिक्रिया दिनुहोस्