खानेपानीमा देखिएको आर्सेनिक समस्या समाधान गर्न सहकार्य जरुरी «

खानेपानीमा देखिएको आर्सेनिक समस्या समाधान गर्न सहकार्य जरुरी

File – This undated image shows Minister for Water Supply Umakant Chaudhary.

खानेपानीमन्त्री उमाकान्त चौधरीले तराईका जिल्लामा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्दै तीनै तहको सरकारबीच सहकार्य गर्नुपर्ने बताएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा खानेपानी मन्त्रालयअन्तर्गत उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले तराईका जिल्लामा खानेपानीमा देखिएको आर्सेनिक समस्या समाधान गर्न तीनै तहको सरकारका बीचमा समन्वय, सहकार्य र सहजीकरण गर्नुपर्ने बताएका हुन् । उनले संघीय तहबाट कार्यान्वयन हुने योजना भने आर्सेनिक रहे, नरहेको यकिन गरेर मात्रै बनाइने गरेको बताए । उनले खानेपानीको गुणस्तर परीक्षणका लागि आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याएको उल्लेख गरे । मन्त्री चौधरीले संघीय खानेपानी कार्यालयमा पानी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने कार्यक्रम पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको जानकारी दिए ।


उनले दीर्घकालीन रूपमा आर्सेनिकमुक्त पानीको वितरणका लागि कर्णाली, कोशी, नारायणी, सुनकोशी, मरिण, चतरालगायतका नदीबाट पानी ल्याई वितरण गर्नका लागि आयोजनाको अध्ययन भइरहेको दाबी गरे । उनले सो आयोजना आगामी आर्थिक वर्षबाट नै अगाडि बढाउने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्