पर्यटन पुनरुत्थानको कार्ययोजना बनाइँदै «

पर्यटन पुनरुत्थानको कार्ययोजना बनाइँदै

कोभिड–१९ का कारण लयमा फर्किन नसकेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि कार्ययोजना बनाएर कार्यान्वयन गरिने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रलाई लयमा ल्याउन कार्ययोजना ल्याउने भएका हुन् ।
आइतबार मन्त्री नियुक्त भएका श्रेष्ठले सोमबार शपथ ग्रहणपछि मन्त्रालयको कार्यभार सम्हाल्दै पर्यटन क्षेत्रको पुनरुत्थानका लागि विभिन्न समयमा गठन भएका समितिहरुले दिएका प्रतिवेदन अध्ययन गरेर ७ दिनभित्र कार्ययोजना बनाई पेस गर्न समिति गठन गरेका छन् । मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित समितिमा निजी क्षेत्रको समेत सहभागिता रहने जनाइएको छ ।
त्यस अवसरमा मन्त्री श्रेष्ठले भने, “पर्यटन क्षेत्रलाई माथि उठाउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्नेछौं ।” कोभिडले सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको र यस क्षेत्रको पुनरुत्थान आवश्यक भएकाले कार्ययोजना तयार गर्न नवनियुक्त मन्त्री श्रेष्ठले समिति गठन गर्ने निर्णय गरेको मन्त्रालयमा उपसचिव तथा सहप्रवक्ता टेकनारायण पौडेलले बताए । उनले भने, “कोभिड–१९का कारण पर्यटन क्षेत्र अति नै प्रभावित भएकाले गर्दा पर्यटन क्षेत्रलाई लयमा फिर्ता ल्याउनको लागि यसअघि पनि विभिन्न समयमा गठन भएका समितिले दिएको प्रतिवेदन र सुझावका आधारमा कार्ययोजना पेस गर्न भनिएको छ ।”
सन् २०१९ को अन्त्यमा चीनबाट फैलिएको कोभिड–१९ का कारण पर्यटक आगमनमा असर गरेको थियो । सन् २०२० को मार्चबाट नेपालमा सुरु भएको कोरोनाको असरका कारण थलिएको पर्यटन क्षेत्रले अझै पूर्ण रुपमा गति लिन सकेको छैन । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रलाई पुनरुत्थानका लागि पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको थियो । त्यस्तै, निजी क्षेत्रको अग्रसरतामा पाटा नेपाल च्याप्टरले टुरिजम रिकभरी टास्कफोर्स गठन गरेको थियो । त्यसैगरी निवर्तमान पर्यटनमन्त्री प्रेम आलेको पालामा पर्यटन पुनरुत्थान प्राविधिक समिति गठन भएको थियो ।
समितिले वैशाख दोस्रो साता आलेलाई प्रतिवेदन बुझाउँदै आन्तरिक र बाह्य पर्यटकमा रहेको सेवा शुल्कको असमानता हटाएर नयाँ एकद्धार प्रवेश नीति ल्याउन सुझाएको थियो । साथै अन्तर प्रदेश उडान र हवाई सेवा विस्तारको लागि आवश्यक गृहकार्य गरी स्रोत बजारमा सिधा हवाई सञ्जाल विस्तार गर्न पनि सिफारिस गरेको थियो ।
त्यस्तै, समितिले नेपालमा सबैभन्दा बढी पर्यटक पठाउने शीर्ष १० मुलुकका नेपाली दूतावासमा पर्यटन अधिकारी नियुक्त गर्न पनि सुझाएको थियो । पर्यटन सेवाप्रदायकहरु र पर्यटनसँग सम्बन्धित सबै पक्षबाट कुनै पनि आपतकालीन मामिलाहरुको जवाफ दिन हप्ताको सातै दिन र २४ सै घण्टा उपलब्ध एक प्रशिक्षित, दु्रत र समर्पित क्विक रेस्पोन्स टिमको अवधारणामा एउटा पर्यटन टोली मन्त्रालयमै व्यवस्था गर्न पनि समितिले सुझाएको थियो ।
प्रतिवेदन बुझाउँदै समितिका संयोजक राजाराम गिरीले कोभिड–१९ का कारण समग्र पर्यटन क्षेत्र एकदमै अप्ठ्यारो अवस्थामा पुगेको बेला उक्त समिति गठन भएकोमा करिब अढाई महिना लगाएर पर्यटन व्यवसायी तथा विज्ञहरुसँग छलफल गरी प्रतिवेदन तयार गरिएको बताएका थिए । सो समितिले नेपालको पर्यटन क्षेत्रलाई माथि उठाउनका लागि दुर्गम क्षेत्र वा नयाँ गन्तव्यको खोजी गरी स्रोत बजारमा प्रचारप्रसारमा जोड दिएर देशभर नै पर्यटकीय गन्तव्यको विस्तार गर्नुपर्नेमा जोड दिएको थियो ।

त्यसैगरी उक्त प्रतिवेदनले नेपालका धेरै दर्शक र अनुयायी भएका व्यक्तित्वहरुलाई विभिन्न देशहरुमा पर्यटन सद्भावना दूत नियुक्त गर्ने, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न विगतमा योगदान पु¥याएका शीर्ष सेलिब्रेटीहरु, पर्वतारोहीहरु, खेलाडीहरुलाई नेपाल आमन्त्रण गरेर प्रचारप्रसार गर्न पनि सुझाएको थियो । साथै अन्तरक्रियात्मक वेबसाइट र एप डिजाइन गर्ने, अन्तर्राष्ट्रिय र घरेलु विमानस्थलका सबै आगमन बिन्दुमा प्रशिक्षित र मैत्रीपूर्ण स्वयंसेवक नियुक्त गर्ने, स्वच्छ, सफा र हरियाली नेपालको अवधारणामा स्थानीय तहहरुसँग सहकार्य गरी देशभरका पर्यटकीय स्थलहरुमा सरसफाइमा ध्यान दिनका लागि राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । बढ्दो पर्यटन बजार तथा आतिथ्य र सेवा क्षेत्रमा आवश्यक पर्ने प्रशिक्षित जनशक्ति तयार गर्न नेपाल पर्यटन तथा होटल व्यवस्थापन एकेडेमी (एनएटीएचएम) को सहकार्यमा सातवटै प्रदेशमा पर्यटन तालिम केन्द्रहरुको स्थापना गर्न पनि समितिले सुझाएको थियो ।
विभिन्न समयमा पर्यटन क्षेत्रको उत्थानका लागि दिएका सुझावलाई आधार बनाएर हाल गठित समितिले समितिले कार्ययोजना (एक्सन प्लान) तयार पारेर कार्यन्वयन पनि गर्ने संयोजक होमप्रसाद लुइँटेलले बताए । उनले भने, “समितिले एक्सन प्लान बनाएर प्रतिवेदन ७ दिनेमा दिनेछ ।”
सोमबार गठन भएको समितिमा पर्यटन मन्त्रालयका पर्यटन प्रवद्र्धन महाशाखाका सहसचिव संयोजक तथा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, निजी क्षेत्रबाट २ जना प्रतिनिधि र पर्यटन बोर्डका उपसचिव सदस्य रहेका छन् ।

सम्पदा जोड्ने सांस्कृतिक पदमार्ग निर्माण गरिने
नवनियुक्त मन्त्री श्रेष्ठले उपत्यकाभित्र रहेका सांस्कृतिक सम्पदाहरुलाई जोड्ने सांस्कृतिक पदमार्ग निर्माण गर्ने निर्णय गरेका छन् । विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमानढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमानढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने कुरामा विशेष जोड दिने बताए ।
मन्त्री श्रेष्ठले भने, “पर्यटकलाई पनि आकर्षित गर्ने र बढाउन सक्ने गरेर यहाँको सम्पदाहरु जोड्ने किसिमबाट ट्रेलहरु निर्माण गर्न अध्ययन गरिनेछ । हनुमानढोका र स्वयम्भू विश्व सम्पदा सूचीमा रहेका ठाउँहरु हुन् । यी दुई ठाउँलाई जोड्ने गरेर सम्पदा मार्ग बनाउने भनेर धेरै काम भइसकेको छ । यसको लागि थप काम गर्नेछु ।”

प्रतिक्रिया दिनुहोस्