सेयर लगानीकर्ता सडकमा, चर्चा सदनमा «

सेयर लगानीकर्ता सडकमा, चर्चा सदनमा

पछिल्लो समयमा सेयर बजारको चर्चा सडकदेखि सदनसम्म चलेको छ । नेपाल राष्ट्र बैंकको नीतिका कारण ५२ लाख लगानीकर्ताको खर्बांै रुपैयाँ डुबिसकेको दाबी छ । र यसको चर्चा सदनसम्म चलेको छ । हुनत सेयर बजारका लगानीकर्ताहरूका बारेमा सदनमा चिन्ता लिनुलाई राजनीतिक स्टन्टका रूपमा पनि लिइन्छ । स्थानीय तह निर्वाचनको परिणाम आएदेखि सेयर बजारको यात्रा ओरालो लागेको हो । निर्वाचनमा प्रतिपक्षले हार बेहोर्नुपरेकाले यसको रिस सेयर बजारमा पोखेको भन्नेहरू भनिन्छ । सेयर बजारमा ठूलाबडा लगानीकर्ताहरू भनिने र सेयर बजारका तथाकथित नेताहरू धेरैजसो प्रतिपक्षका नै रहेको पनि बताइन्छ ।
सरकारी नियामक निकाय खासगरी गभर्नर साहेब सेयर बजारमैत्री नभएको र गभर्नर साहेब सेयर बजारप्रति नकारात्मक भइदिँदा सेयर बजारका लगानीकर्ताहरूले घाटा बेहोर्नुपरिरहेको आरोप पनि छ । सेयर बजार अर्थतन्त्रको एउटा पाटो हो भन्ने हेक्का नराख्दा सेयर बजारले गति लिन नसकेको हो । त्यसो त सेयर बजारका केही लगानीकर्ताका नेता, ठूलाबडा लगानीकर्ताहरूले आफनो स्वार्थको लागी बजार घटाएको अरोप पनि छ । सेयर बजारका केही नेताको आ–आफ्नो स्वार्थका कारण आन्दोलनको नाटक गरी लगानीकर्ताहरूलाई मारमा पारेको पनि भनाइ छ । नियामक निकायका वेवास्ता तथा कम्युनिस्ट सरकारहरू सेयर बजारप्रति सकारात्मक नभएका कारण बजार घटेको हो ।
प्रतिपक्षका कतिपय आँलाकाँचा नेताहरूले सेयर बजारका बारेमा अनापसनाप अभिव्यक्ति दिँदा पनि सेयर बजार तरंगित हुने गरेको छ । पछिल्लो समयमा पनि एक जना कम्युनिस्ट नेताले सेयर बजारका बारेमा नकारात्मक अभिव्यक्ति दिँदा सेयर बजारमा पहिरो गएको थियो । त्यसो त कम्युनिस्टहरू सेयर बजारप्रति नकारात्मक नै छन् । कम्युनिस्टहरू सेयर बजारप्रति जानकार नै छैनन् भन्दा पनि फरक नपर्ला । भन्नुपर्दा कतिपय कम्युनिस्टहरूकै कारण सेयर बजार ओरालो लाग्ने गरेको छ । विगतमा नेकपा माओवादी द्वन्द्वका कारण पनि सेयर बजार ध्वस्त नै हुने अवस्थामा आएको थियो । त्यसैगरी कम्युनिस्ट नेता डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सेयर बजारलाई जुवा भनेका कारण सेयर बजार ओरालो लागेको थियो । त्यसपछि सेयर बजारलाई सँभाल्न चार वर्ष लागेको थियो । त्यसैगरी नेकपा एमालेको सरकारमा अर्थमन्त्री बनेका अर्थविद् डा. युवराज खतिवडाले पनि सेयर बजारलाई अनुत्पादक क्षेत्र भनिदिँदा सेयर बजार तरंगित भएको थियो । त्यस बेला लगानीकर्ताहरूका माझ डा. खतिवडा आलोचनाको पात्र बनिरहेका थिए । डा. खतिवडा अर्थमन्त्री भइरहँदासम्म पनि सेयर बजार ओरालोमा नै थियो । वर्तमान अर्थमन्त्री पनि कम्युनिस्ट नेता नै हुन् । सेयर बजारप्रति जानकार नभएको स्वयम् अर्थमन्त्रीले नै बताइरहेका छन् । त्यसैगरी नेमकिपाका नेता प्रेम सुवाल पनि सेयर बजारप्रति नकारात्मक नै थिए । उनले त संसद्मै सबै सेयर बजारमा लागे अरू काम कसले गर्छ समेत भनेका थिए ।
सेयर बजार भनेको न जुवा हो, न अनुत्पादक क्षेत्र हो, न हावा भरेर फुलाएको बेलुन नै हो, न साम्राज्यवादको विकसित रूप नै हो । सेयर बजार भनेको देशको अर्थतन्त्रको एउटा पाटो हो, सेयर बजारले देशका लागि पँुजी निर्माण गरिदिने गर्छ, स–सानो रूपमा छरिएर रहेको पँुजीलाई एकीकृत गरेर देश विकासका लागि पुँजीको जोहो गरिदिने माध्यम हो— सेयर बजार । सेयर बजारले देशको अर्थतन्त्रमा महŒवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । देशमा तीन दर्जनभन्दा बढी हाइड्रोपावर कम्पनीहरू सञ्चालनमा छन् । यसमा आमलगानीकर्ताको लगानी रहेको छ । के यो अनुत्पादक हो ? त्यसैगरी होटलहरूमा पनि आमलगानीकर्ताले लगानी गरिरहेका छन् । होटल–व्यवसाय भनेको पर्यटन उद्योग होइन र सिमेन्ट कम्पनीहरूमा पनि आमलगानीकर्ताले सेयर बजारमार्फत लगानी गर्ने गरेका छन् । के यो अनुत्पादक हो ? सेयर बजारले व्यापार–व्यवसाय, उद्योग–कलकारखानाहरूका लागि पुँजीको जोहो गरिदिन्छ । सेयर बजारमा फुटपाथ व्यापारीहरूदेखि आमनागरिकको र ठूला–ठूला व्यापारीहरूको समेत लगानी रहेको हुन्छ । पँुजीबजारमा ५२ लाखभन्दा बढी लगानीकर्ता रहेका छन्, अनि कसरी पँुजीबजार साम्राज्यवादको विकसित रूप हो त ?
पछिल्लो समयमा सेयर बजार फैलिँदो अवस्थामा रहेको छ । सेयर बजार फराकिलो हुँदै गइरहेको छ । सेयर बजारप्रति आमनागरिकको आकर्षण बढ्दो छ । सेयर बजारमा नयाँ–नयाँ लगानीकर्ताहरूको प्रवेश बढ्दो छ, डिम्याट खातामा आबद्ध हुनेहरूको संख्या दिनानुदिन बढ्दो छ भने विगतमा राजधानीमा मात्र सीमित रहेको सेयर बजार पछिल्लो समयमा मोफसलहरूमा पनि आकर्षणमा छ । सेयर बजारमा सबै वर्ग, तह, पेसाका व्यक्तिहरू संलग्न भइरहेका छन् । प्राथमिक बजारमा सेयर खरिदको आवेदन दिनेहरू नै २४ लाख भइसकेका छन् ।
सेयर बजार फराकिलो भइरहेका कारण सेयर बजारमा लगानीकर्ताहरू, सेयर लगानीकर्ताका नेताहरू, सेयर बजारका विज्ञ, विश्लेषक भन्नेहरू च्याउसरि उम्रिरहेका छन् । सेयर बजारमा त सेयर लगानीकर्ताका नेता÷नेतृ बन्नेहरूको होडबाजी नै चल्ने गरेको छ । बेलाबेलामा सेयर बजारका कतिपय आलाकाँचा लगानीकर्ताहरू, सेयर लगानीकर्ताका नेताहरू, सेयर बजारका बारेमा ‘स’ पनि नजान्ने राजनीतिक नेताहरू, विज्ञ–विश्लेषकहरूले बेलाबेलामा सेयर बजारका बारेमा प्याच्च बोलिदिँदा सेयर बजार भने तरंगित हुने गरेको छ । नेप्से यतिसम्म बढ्छ, यतिसम्म घट्छ भनेर नै भविष्यवाणी गर्ने गरिरहेका छन् । कतिपय लगानीकर्ताहरूको भनाइमा यसरी नेप्से घट्ने÷बढ्नेबारेमा भविष्यवाणी गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ ।
सरकार पनि सेयर बजारमैत्री हुनुपर्छ भन्नेमा दुईमत नहोला । सेयर बजारका नियामक निकायहरू पनि सेयर बजारप्रति सकारात्मक हुनुपर्छ । नियामक निकायहरूले सेयर बजारसम्बन्धी नीतिनियमहरू बनाउँदा सेयर बजारमैत्री हुनैपर्छ । सेयर बजारमा ५२ लाखभन्दा बढी लगानीकर्ताको खर्बौं लगानी रहेको छ । सेयर बजारबाट मात्रै सरकारले अर्बौं राजस्व उठाउने गरिरहेको छ । यस्तो महŒवपूर्ण क्षेत्रका बारेमा नेताहरूले अनापसनाप बोलिदिँदा सेयर बजारले घाटा बेहोर्नुपरेको छ । त्यसो त कतिपय लगानीकर्ताहरू यस्ता विवेकहीन व्यक्तिहरूको भनाइमा चल्नुलाई परिपक्व नभएको भनेर भन्नुपर्ने हुन्छ । कतिपय सरोकारवाला सेयर बजारमा हल्लाले पनि काम गर्ने गरेको बताउँछन् । त्यसो त हल्लाको पछि लागेर कतिपयले कमाएका पनि हुन्छन् होला, तर यसले सेयर बजारका लगानीकर्ताहरूले घाटा नै बेहोर्नुपर्ने हुन्छ । सेयर बजार भनेको जोखिमको व्यवसाय पनि हो । यसमा जोखिम पनि हुने गरेको छ भने हल्लाको भरमा अरूको देखासिकीमा लगानी भने गर्नु हुँदैन, सेयर बजारका लगानीकर्ताहरूमा धैर्य भने हुनैपर्छ । सेयर बजारमा धैर्य हुनेहरूले होल्ड गर्न सक्ने लगानीकर्ताहरू धेरैजसो नाफामा नै हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्