कृषि तथा पशुपन्छी बिमामा गाउँपालिकाको छुट

मधेश प्रदेशको धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बिमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।
बिमा समितिले बिमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने क्रममा गाउँपालिकाको तुल्सीयाही जब्दीमा आयोजना गरेको बिमा सम्बन्धी जनचेतनामूलक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले कृषि बिमामा थप १० प्रतिशत छुट दिने बताए ।
अध्यक्ष यादवले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी बिमामा थप १० प्रतिशत अनुदान दिने कार्यक्रम समावेश गरिएको र यसलाई आगामी बजेटमा राखेर कार्यान्वयनमा लैजाने बताए ।

उनले किसानहरूले अझै पनि कृषि तथा पशुपन्छी बिमा गर्न नपाएको र बिमा गरेका किसानले पनि दाबी पाउन नसकेको उल्लेख गर्दै गाउँपालिकामा बिमा कम्पनीका शाखा कार्यालय विस्तार गर्न तथा बिमा दाबी भुक्तानीलाई सरल एवम् छिटोछरितो तुल्याउनका लागि आवश्यक व्यवस्था गर्न बिमा समितिसँग आग्रह गरे ।
बिमा समितिका निर्देशक दिनेशकुमार लालले बिमाको परिचय, महत्व, बिमा गर्ने तथा दाबी भुक्तानी पाउने तरिका, बिमाको पहुँच विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषयमा जानकारी दिए ।
निर्देशक लालले किसानले गाउँपालिकामै सहज किसिमले कृषि तथा पशुपन्छी बिमा गर्न पाउने र बिमा दाबी भुक्तानी समयमै पाउने व्यवस्था गर्न बिमा समिति प्रतिवद्ध रहेको बताए ।