मन्त्री संस्कृति, व्यवहार विकृति «

मन्त्री संस्कृति, व्यवहार विकृति

‘नाम होस् तर गुमनाम नहोस्’ भन्ने एउटा नेपाली उखान निकै चर्चित छ । यसको तात्पर्यता के हो भने कोही–कसैले नचिन्ने गरी बस्नुभन्दा केही न केही गरेर चर्चामा रहिरहनु ठीक भन्ने यसको अर्थ रहन्छ, चाहे त्यो राम्रो काम गरेर होस् या नराम्रो काम गरेर । यस्तै चर्चा–परिचर्चा नेपाली राजनीतिक वृत्तमा भइरहन्छ । दिनहुँजसो उनीहरूकै समाचार बने, सामाजिक सञ्जालको भाषा प्रयोग गर्ने हो भने एक हिसाबले भाइरल नै बने । प्रसंग हो— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको ।
प्रेम आले तिनै मन्त्री हुन्, जो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एमालेका तर्फबाट वन तथा वातावरण मन्त्री बन्न सफल भएका थिए । त्यतिबेला पनि उनी निकै चर्चित बनेका थिए । बोटबिरुवाले कार्बनडाइअक्साइड दिन्छ भन्दै भाषण गरेका आलेले आफ्नै अभिव्यक्तिमार्फत आलोचित र चर्चित एकैपटक बनेका थिए । जसका कारण उनलाई नचिन्नेले पनि चिन्न थाले, आले कोहो भनेर । पछि कोरोना महामारीको समयमा अक्सिजन सिलिन्डरमा आफ्नो फोटो अंकित गरी वितरण गर्दा पनि आलोचित बनेका थिए । एमालेमा रहँदा मन्त्रीको रहर नपुग्दै मन्त्री पदबाट बाहिरिएका आलेले गठबन्धनको सरकारमा नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने अवसर पाए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेपछि कतिपय कार्यमा वाहवाही पाएका आले त्योभन्दा बढी त वदनाम बने । उनले पछिल्लो मन्त्रालय सम्हालेपछि उनको मन्त्रालय मातहत सेटिङका ठेक्का रद्द गराए, जसको निसानामा बतास समूहका प्रमुख आनन्दराज बतासलाई पारे । बतास समूहलाई गैरकानुनी रूपमा नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुराँ सञ्चालन गर्न दिएको निर्देशनबमोजिम मन्त्री प्रेम आले खरो रूपमा त्यसको विरोधमा उत्रिएका थिए । छानबिन समिति बनाए, निर्माणाधीन रेस्टुराँ भत्काउन निर्देशनसमेत दिए । त्यस्तै पशुपतिको धर्मशालामा सञ्चालित होटलको समेत अनुगमन गरे अनि बतास समूहले लिएका अन्य ठेक्का पनि रद्द गर्ने प्रतिबद्धता जनाए, क्यासिनोको वक्यौता उठाए, विमानस्थललाई थप व्यवस्थित बनाए, कलाकारलाई भीआईपी प्रवेशद्वारको प्रयोग गर्ने व्यवस्था मिलाएका आले राम्राभन्दा नराम्रा कामले बारम्बार विवादित बनिरहन्छन् । उनी विवादित पनि आफ्नै कारणले बनेका छन्, जसमा उनको व्यवहार अनि बोलीकै कारण पटक–पटक विवादित बनिरहे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनजस्तो सम्मानित मन्त्रालयको मन्त्री बनेका आलेले नै संस्कृतिलाई नसुहाउने अपाच्य शब्द प्रयोग गरी मातहतका कर्मचारी थर्काउने कार्यले मन्त्रालयकै गरिमामा आँच पुगेको स्पष्ट हुन्छ । जसले संस्कृति मन्त्रालय सम्हालेको छ उसैले संस्कृतिको विकृति फैलाउँदा उनलाई किन कारबाही नगर्ने ? पर्यटनमन्त्री आलेले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि हातपात तथा अश्लील शब्द प्रयोग गरेको घटनाको अडियो सार्वजनिक भएसँगै उनीमाथि टीकाटिप्पणी हुन थालेको छ । हुन त उनका यस्तो घटना पहिलो होइन, यसअगाडि पनि एक नेपालीलाई अश्लील गालीगलौज गरेका थिए । पटक–पटक उनका यस्ता घटना बाहिर आउँदा पनि उनी राजनीतिमा संरक्षित भइरहेका छन् । यो मुलुकका लागि विडम्बना हो । उनले नैतिकताका आधारमा राजीनामा दिनुको साटो उल्टै त्यस्तो घटना नभएको भन्दै स्पष्टीकरण दिनाले यो समाजले अब उनीबाट के सिक्ने ?

प्रतिक्रिया दिनुहोस्