Logo

तुलसीपुर उपमहानगरको नीति कार्यक्रम सार्वजनिक

तुलसीपुर उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कृषि, सिँचाइ, रोजगारी, शिक्षा स्वास्थ्य र पर्यटन र विकासलाई प्राथमिकतामा राखेर उपमहानगरपालिकाले आफ्नो कार्यक्रम सार्वजनिक गरेको हो । ‘समृद्ध तुलसीपुर सधैका लागि, सबैका लागि’ बनाउने मूल नारासहित आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगर प्रमुख टीकाराम खड्काले तथ्यमा आधारित योजना तर्जुमा (इभिडेन्ट बेस पोलिसी) सिद्धान्तलाई आत्मसात गरिएको बताए । उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने भूगोल, समाज र अर्थतन्त्रलाई सूक्षम रूपमा पहिचान र दस्तावेजीकरण गर्न बृहत् वडागत प्रोफाइलिङको थालनी गर्ने, ‘मेरो नगर, मेरो नक्सा’ भन्ने नाराका साथ उपमहानगरपालिका अन्तर्गत पर्न आउने सबै प्रकारका जग्गा, वन, नदी, नालाको सेटलाइट नक्सालाई नापी विभागबाट उपलब्ध हुने कित्तावाल नक्सासँग गाभेर कानुनी र प्राकृतिक नक्साको सगोल रुप एकीकृत डिजिटल नक्सा तयार पारिने नीतिमा उल्लेख छ ।
चालू र आगामी आर्थिक वर्षमा गरिने कृषि, सिँचाइ र बजारीकरणका पूर्वाधार, अनुदान उपलब्धता र योजना तर्जुमा यस प्रोफाइलिङमार्फत उपलब्ध हुने तथ्यांक र नक्साका आधारमा गरिने र उक्त योजनाका प्रभावकारिता अध्ययन पनि सोही प्रोफाइलिङबाट सहजीकरण हुने गरी व्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै कृषिलाई पहिलो भू–उपयोग नियमावली–२०७९ को अवधारणामा रही कृषि प्रोफाइलिङमा आधारित कृषि सुदृढीकरण कार्यक्रमलाई मूलभूत कृषि योजनाको रूपमा प्रस्ताव गरी कृषिगत जमिनको संरक्षण र उपभोगलाई प्रोत्साहन गरिने नीति लिएको छ । भू–उपयोग नीति निर्माण गरी जग्गाको वर्गीकरणका साथै कृषि उत्पादनको कम्तीमा दुई वटा पकेट क्षेत्र निर्धारण गरिने छ ।
त्यस्तै एक वडा एक कृषि प्राविधिक तथा एक टोल एक कृषि समूहको व्यवस्था गरी किसानलाई प्राविधिक सहयोग प्रदान गर्ने अभियानलाई निरन्तरता दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । प्राङ्गारिक मलको प्रयोगमा प्रोत्साहन गरिने, व्यावसायिक कृषि तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न किसानलाई यन्त्र, औजारलगायत प्राविधिक सहयोगलाई वडास्तर बाटै निरन्तरता दिइने र उन्नत बीउको प्रयोगलाई वृद्धि गर्न कृषकलाई उन्नत बीउको प्रयोगमा ५० प्रतिशत अनुदान उपलब्ध गराई बीउ प्रतिस्थापन दरमा वृद्धि गरिने नीति उपमहानगरपालिकाले अगाडि सारेको छ । त्यस्तै कृषि, विद्युत मिटर प्रयोग गरी सिँचाइ गर्ने कृषकलाई विद्युत महसुलमा छुट, व्यावसायिक कृषक र कृषि समूहलाई प्रोत्साहन गर्न पुरस्कृत गर्नुका साथै कृषक परिचय–पत्र वितरण गरिने र घर निर्माण गर्दा कौसीखेतीको संरचना बनाउन प्रोत्साहन गरिने नीति कार्यक्रम रहेको नगर प्रमुख खड्काले बताए ।

त्यस्तै पशु विकासतर्फ पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन डिस्पेन्सरी सञ्चालन एवं प्रयोगशालामा सुधार गरी सेवालाई निरन्तरता दिनुका साथै पशुमा लाग्ने संक्रामक रोगविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिने छ । ‘पशुपंक्षीको नश्ल सुधार ः आम्दानी र रोजगारीको आधार’ भन्ने अभियानअन्तर्गत नश्ल सुधारका लागि कृत्रिम गर्भाधारण कार्यक्रमलाई निःशुल्क र प्रभावकारी बनाइनेछ । साथै पशु उपचारका लागि आवश्यक औषधि निः शुल्क रूपमा उपलब्ध गराइने, आवश्यकताअनुसार बाख्रा, बंगुर, भैंसी स्रोत केन्द्र स्थापना तथा पशुपालनको पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिने, व्यावसायिक पशुपालनका लागि भकारो सुधारका साथै पशुजन्य उत्पादनको सुरक्षित भण्डारण एवं गुणस्तर कायम गरी माछा, मासु, दही, दूधलगायतका किसानका पशु उत्पादनलाई बजार प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने छ ।
मत्स्य विकासका लागि पोखरी विस्तार एवं भुरा वितरण लगायतका कार्यक्रम सञ्चालन गरिने छ । हरियो घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्न ५०% अनुदानमा बर्षे÷हिउँदे घाँसको बीउ उपलब्ध गराउने कार्यक्रम ल्याइने आधुनिक बधशाला निर्माणको काम अघि बढाइने नीति तथा कार्यक्रम रहेको छ । त्यस्तै उद्योग व्यवसाय, रोजगारी, गरिवी निवारण अन्र्तगत लघु तथा साना उद्यम व्यवसाय, कृषि तथा पशुसेवासम्बन्धी कुनै पनि व्यवसाय दर्ता गर्र्दा सहुलियत प्रदान गरिने, महिला, दलित, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, सहिद तथा जन आन्दोलनका घाइते परिवार, विदेशबाट फर्किएर स्थानीय स्तरमा कुनै व्यवसाय दर्ता गरी सञ्चालन गर्न चाहेमा सहुलियत प्रदान गरिने नीति ल्याएको छ । ग्रामिण क्षेत्रमा स्थापना हुने उद्योगहरुलाई व्यवसाय करमा ५०% छुट दिईने उद्योग व्यवसाय प्रवद्र्धनका लागि युवाहरुको आकर्षण बनाउन विषेश कार्यक्रम ल्याइने छ ।
त्यसैगरी उपमहानगरपालिकाभित्र रहेका सरकारी तथा निजी बैंक तथा वित्तीय संस्थाहरुसँग आवश्यक समन्वय गरी कृषि, पर्यटन, उद्योग तथा व्यवसायमा लगानी गर्न प्रोत्साहित गरिने ‘मेयर उद्यमी कर्जा कार्यक्रम’ मार्फत वित्तीय संस्थासँग कोष साझेदारी गरी उद्यमका लागि कर्जा उपलब्ध गराउने नीति सार्वजनिक भएको छ । सहकारी संघसंस्थालाई कृषि तथा पशुपन्छीजन्य उत्पादनको प्रशोधन गरी मूल्य श्रृंखला विकास गर्न, ती उत्पादनको उचित मूल्य र बजार व्यवस्थापनका कृषि बजार स्थापना गर्न, र जग्गा चक्लाबन्दी, करार खेती, सामूहिक खेती, कृषि सामग्री बिक्री पसल, पशुपालन एवं संरक्षण, माछापालन, प्रशोधन युक्त उद्योग, डेरी सञ्चालन गर्नका लागि सहकारी संस्थाहरुको अवस्था मूल्यांकनको आधारमा प्राथमिक चरणमा चयन गरी उपमहानगरपालिकाबाट विषेश प्रोत्साहन गरिने छ ।
स्वास्थ्यमा तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरी सञ्चालनमा ल्याएको १५ शैयाको तुलसीपुर भीमसेन मेट्रो अस्पताललाई स्तरोन्नति गरी गुणस्तरीय र सर्वसुलभ उपचारात्मक तथा निदानात्मक सेवालगायत विशिष्ट सेवा सञ्चालन गरिने, अस्पतालमा न्यूनतम शुल्कमा उपचारको व्यवस्था मिलाइने साथै अन्य क्षेत्रमा पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याइने पनि उल्लेख छ । पालिकालाई निःशुल्क शल्य क्रियाका माध्यमबाट एक वर्षभित्र मोतियाबिन्दु मुक्त समाजको रूपमा रूपान्तरण गरिने कार्यक्रम रहेको छ । त्यस्तै एक घर, एक धारा अभियानलाई सफल पार्न नगरका सबै घरधुरीमा शुद्ध र गुणस्तरीय खानेपानी पु¥याउने अभियानलाई निरन्तरता दिइने, नगर क्षेत्रका खानेपानीका मुहानको पहिचान, संरक्षण र व्यवस्थापन गरिने भएको छ ।
उपमहानगरपालिका क्षेत्र भित्रका अनाथ बालबालिकालाई ‘उपमेयर बाल संरक्षण गृह’ को निर्माण गरी अथवा सार्वजनिक विद्यालयमा उपलब्ध संरचनाको उपयोग गरी निःशुल्क आवासको व्यवस्था गरिने, युवा तथा खेलकुदतर्फ स्वरोजगार कार्यक्रममार्फत विदेश पलायन हुने युवालाई स्थानीयस्तरमै रोजगारका अवसर सिर्जना गरिने र युवा उद्यमशीलताका लागि तालिम, व्यावसायिक तथा सीपमूलक शिक्षा, इन्टर्नसीप, स्टार्टअप, युवा केन्द्रित बीउ पुँजीको व्यवस्था गरी करिब एक हजार युवालाई तुलसीपुरमै रोजगारीको अवसर सिर्जना गरिने प्रबन्ध नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्