उच्च उत्पादन लागत निर्यातको मुख्य बाधक «

उच्च उत्पादन लागत निर्यातको मुख्य बाधक

नेपाली उत्पादनको उत्पादन लागत उच्च हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको सरोकारवालाहरुले बताएका छन् ।
देशको व्यापारघाटा कूल बजेटको आकार भन्दा पनि धेरै भइसकेको अवस्थामा आन्तरिक उत्पादन बढाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न जरुरी देखिए पनि उच्च उत्पादनलागतका कारण स्वदेशी वस्तुहरु प्रतिस्पर्धी बन्न सकेका छैनन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक नै मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग भएको बताएका छन् । उनले सम्भावना भएको क्षेत्र लघु घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै उच्च उत्पादन लागतका कारण प्रतिस्पर्धी बन्न नसकेको बताए ।
उत्पादन लागत घटाउन, गुणस्तर बढाउन कसरी सकिन्छ त्यसतर्फ ध्यान दिन सरोकारवालालाई आग्रह गरे । ‘खोजौं नेपाली, रोजौं नेपाली’ भन्ने मूल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रुपमा तयार गरेको इकमर्श साईट ‘एमएसएमई डट कम’को बिहीबार शुभारम्भ भएको छ । “अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक निजी क्षेत्र हो । त्यसमा घरेलु तथा साना उद्योगहरु मुलुकका मेरुदण्ड हुन । यस्ता उद्योग नै उत्पादन बढाउने आधार क्षेत्र हुन्” मन्त्री बडूले भने । सरकारको साथै व्यक्तिगतरूपमा पनि यस्ता उद्योगहरू पनि प्राथमिकतामा रहेको भन्दै उनले भने, “यो क्षेत्रले मुलुकलाई आत्मनिर्भर बनाउँछ, रोजगारी सिर्जना गर्दछ । यो क्षेत्रमा समस्या के–के छन्, समाधानका लागि के गर्नुपर्छ हामी छलफल गर्न तयार छौँ ।”

लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुलाई बजारीकरण, आधुनिक व्यापारीकरण र विश्वव्यापीकरणको मार्गमा लैजान इकमर्श साइटले सहयोग पुग्ने मन्त्री बडूले बताए । इ–कमर्समार्फत स्वदेशी बस्तुको प्रवद्र्धन र बजारीकरणका लागि सहज हुनेछ । यो क्षेत्रका लागि नयाँ अभ्यास भन्दै मन्त्री बडुले यसमा सरकारले साथ दिने पनि प्रतिवद्धता व्यक्त गरेका छन् । मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, स्वदेशी वस्तुको प्रवद्र्धन गर्ने र निर्यात व्यापार बढाउनेतर्फ सरकार क्रियाशील रहेको उनको भनाइ थियो । आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएको समेत उनले बताए ।
लघु, घरेलु तथा साना उद्योगका लागि नेपाली उत्पादन बढाउन मेड इन नेपाल मेक इन नेपालको दशकका रूपमा कार्यक्रम अघि बढाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्घिको सम्बाहकका रुपमा रहेपनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताए । हाम्रा उत्पादनहरु गुणस्तरीय र निर्यातयोग्य छन् तर सहज रुपमा हाम्रा उत्पादनहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बजार विस्तार हुन सकेको छैन ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलताको समस्याले उद्योग धन्दाहरु विस्तार हुन नसकेको बताउँदै रुस र युक्रेन युद्धको असरले बजार मूल्य आकासिएको बताए । अहिले होलसेल इन्डेक्स १८ प्रतिशतले वृद्धि भइसकेको अझै बढ्दै जाने देखिएको उनको अनुभव छ । यता नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले पनि देशको अर्थतन्त्रलाई सहि दिशामा अगाडी बढाउन राष्ट्रिय योजना आयोग, केन्द्रिय बैंक, अर्थ मन्त्रालयको समन्वय प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्