पूर्वनासुविरुद्ध साढे दुई करोडको भ्रष्टाचार मुद्दा दर्ता «

पूर्वनासुविरुद्ध साढे दुई करोडको भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तत्कालीन नायब सुब्बा र उनका परिवारका चार जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ ।
तत्कालीन नासु गणपति झाविरुद्ध करिब साढे २ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०३९ मंसिर ९ बाट खरिदार (गाविस सचिव) बाट सरकारी सेवा प्रवेश गरेका धनुषा जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा (साविक देवपुरा रुपैठा गाबिस–२) का ५८ वर्षीय गणपतिले २०७८ साउन ३ मा नासु पदबाट अवकाश पाएका थिए । तत्कालीन जिल्ला विकास समिति (जिविस) कार्यालय कैलाली र धनुषा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, डिभिजन सडक कार्यालय जनकपुर, हेभी इक्विपमेन्ट डिभिजन कार्यालय जनकपुर, गृह मन्त्रालय र अवकाश हुँदा जिल्ला प्रशासन कार्यालय धनुषा गरी ८ स्थानमा कार्यरत झा धनुषा प्रशासनबाटै अनिवार्य अवकाशमा गएका थिए । गणपति सरकारी सेवामा हुँदा सेवाग्राहीबाट घुस माग्नेदेखि निर्माण कार्यमा कमिसन खोज्ने र आफैंले कागज मिलाएर आफन्तका नाममा निर्माण कम्पनी खोल्नेसम्मका काम गरेका थिए ।
प्रतिवादी बनाइएका गणपति १ वर्षअघि मात्रै जिल्ला प्रशासन कार्यालय धनुषाबाट अनिवार्य अवकाशमा गएका थिए । अख्तियारले सरकारी सेवामा छँदा गैरकानुनी सम्पत्ति कमाएर परिवारका नाममा समेत राखेको कसुरमा पत्नी र तीन छोराविरुद्ध पनि मुद्दा दायर गरेको छ । अख्तियारले गणपति र उनका परिवारविरुद्ध २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ बराबरको चलअचल सम्पत्तिको बैध स्रोत नखुलेको उल्लेख छ । स्रोत नखुलेको सम्पत्तिलाई नै बिगो कायम एवं बिगो बराबरको जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफत गर्ने गरी मुद्दा दायर गरिएको छ ।

पैतृक सम्पत्ति वापत गणपतिले आफू र छोरा शिवाकरकुमार झाका नाममा धनुषाको देवपुरा रुपैठा २ मा १६ कठ्ठा ८ धुर जग्गा देखाएका छन् । अख्तियारले गणपति, पत्नी मीनादेवी झा, तीन छोरा दिवाकर, शिवाकर र करुणाकरसहित सम्पत्ति फिर्ता प्रयोजनका लागि बुहारीहरू क्रमशः प्रिति, प्रतिभा र प्रितिकुमारीमाथि अनुसन्धान गरेको थियो । अख्तियारको आरोप पत्र अनुसार पत्नी मीनादेवीका नाममा जनकपुरधाम ४ मा दुई वटा घर ५९ घर ६३ हजार ८ सय ५५ लाखमा बनाएको उल्लेख गरेका छन् । छोरा दिवाकरका नाममा जनकपुरधाम २० मा दुईवटा घर २८ लाखमा बनाएको उल्लेख गरेका छन् ।
‘प्रतिवादी ८ जनाका नाममा रहेको स्रोत नखुलेकोमध्येको अक्षरुपी दुई करोड ४४ लाख ७१ हजार एक सय पाँच रुपैयाँ जफत एवँ जरीवाना असुल हुन तथा निज प्रतिवादी गणपति झाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत आफ्नी पत्नी प्रतिवादी मीनादेवी झा एवं एकासगोलका छोराहरु प्रतिवादी दिवाकर, शिवाकर करुणाकर नाममा राखेको देखिएको हुँदा निजहरुको नाममा रहेको सम्पत्तिसमेत जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरी मागदाबी लिइएको छ,’ अख्तियारको आरोपपत्रमा भनिएको छ ।
अख्तियारले गणपति, उनकी पत्नी र छोरा तथा बुहारीका नाममा रहेका १२ ठाउँको १ करोड ७५ लाख १३ हजार ३ सय ३२ रुपैयाँ बराबरका घरजग्गा पनि जफत गर्न मागदाबी गरेको छ । यसबाट अपुग हुने बिगो ६९ लाख ५७ हजार ७ सय ८१ रुपैयाँ बराबर वैध देखिएको सम्पत्तिबाट असुल गर्न पनि मागिएको छ ।

प्रतिक्रिया दिनुहोस्