कृषि बिमामा कृषकको पहुँच बढाउनुपर्नेमा जोड «

कृषि बिमामा कृषकको पहुँच बढाउनुपर्नेमा जोड

कृषि तथा पशुपन्छी बिमालाई अझ सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पु¥याउनपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
बिमा समितिले गरेको अन्तरक्रियामा सहभागीहरुले कृषि बिमामा कृषकको पहुँच बढाउनुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगालले हाल पाँच प्रतिशत कृषकमा मात्र सीमित रहेको कृषि तथा पशुपन्छी बिमालाई बढाएर ९५ प्रतिशतभन्दा बढी कृषकको पहुँचमा पु¥याउनका लागि ठोस कार्ययोजनाका साथ अगाडि बढ्नुपर्ने बताए । उनले कृषकहरूलाई कृषि तथा पशुपन्छी बिमाका बारेमा जागरूक गराउन कम्तीमा पनि वडा वडामा पुगेर बिमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, बिमा प्रक्रियालाई सहज एवम् सरल बताउनुपर्ने र अनुगमनलाई कडाईका साथ अगाडि बढाउनुपर्ने बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषि तथा पशुपन्छी बिमाको कार्यान्वयनमा देखिएका समस्याहरूको दीर्घकालीन समाधानका लागि मन्त्रालयले सफ्टवेयर निर्माण गरी कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाएको बताए ।

सचिव डा. शर्माले हाल पशुपन्छी बिमा र व्यावसायिक कृषिको बिमा गर्ने कृषकको संख्या बढ्दै गएको उल्लेख गर्दै कृषि तथा पशुपन्छी बिमालाई प्रतिस्पर्धात्मकरूपमा अगाडि बढाउन प्रत्येक जिल्लामा कम्तीमा पनि दुईवटा बिमा कम्पनीलाई जिम्मा दिनुपर्ने र धान, मकै, गहुँ लगायतका बालीको समूहगत बिमा गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि तथा पशुपन्छी बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समितिले लक्ष्य दिएर बिमा कम्पनीहरूलाई जिल्ला जिल्लामा खटाएको बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरिएको लघुबिमा कार्यक्रम चार पाँच महिनाभित्रै प्रत्येक प्रदेशमा नमूनाका रूपमा सञ्चालन गरिने बताए ।
लघुबिमा कार्यक्रम कार्यान्वयनमा आएपछि पनि बिमा कम्पनीहरूलाई दिइएको लघुबिमा कार्यान्वयनको जिम्मेवारी यथावत् रहने भन्दै अध्यक्ष सिलवालले भने, “कृषकले जुन स्थानमा बिमा गरेको हो, त्यही स्थानमा नै बिमाको दाबी भुक्तानी हुनुप¥यो, सरकारको बिमा अनुदान पनि त्यहीँ स्थानमा नै कम्पनीलाई भुक्तानी हुनुप¥यो । यसमा सम्बद्ध सबै सरकारी निकायहरू गम्भीर हुनुपर्छ ।”
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कृषि तथा पशुपन्छी बिमालाई सशक्तरूपले विस्तार गर्नका लागि समितिले यससम्बन्धी निर्देशिकामा समय सापेक्ष सुधार, कृषि तथा पशुपन्छी बिमामा मध्यस्थकर्ताको व्यवस्था, नयाँ बिमालेख निर्माण, पुराना बिमालेखको संशोधन र सम्बद्ध संघ संस्थाहरूको समन्वयमा तालिम संचालन लगायतका कार्यहरू निरन्तररूपमा गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्