हङकङसँग नेपाल पराजित «

हङकङसँग नेपाल पराजित

एसीसी महिला ट्वान्टी २० च्याम्पियनसिपअन्तर्गत भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ ।
मलेसियाको किनरारा ओभलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाएर पुरा गरेको हो । यससँगै नेपालले समूह चरणको अन्तिम खेलमा पराजय भोगेको छ । अघिल्ला तीन खेलमा स्पष्ट जित निकालेको नेपाल बलियो हङकङसँग पराजित भए पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
एक खेल खेल्न बाँकी रहेको हङकङले ३ खेलमा ६ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ । नेपाल ४ खेलमा ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । अब नेपालले सेमिफाइनमा समूह ए को विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा नेपालले प्रस्तुत गरेको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे । नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउनुअघि १ सय ९ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रनको योगदान गरिन् । उनले ३६ बलमा चार चौका प्रहार गरिन् । यस्तै, बिन्दु रावलले २३, अप्सरी बेगमले २२, सीता राना मगरले ९ र ममता चौधरीले सात रन जोडिन् । हङकङकी बेट्टी चानले दुई तथा मर्याम बिबी र इल्सा हब्बार्डले समान एक विकेट निकाले ।
च्याम्पियनसिपको फाइनल टोलीले एसिया कपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्