मर्जरमा जाने कम्पनीको सेयर कारोबार नरोकिने «

मर्जरमा जाने कम्पनीको सेयर कारोबार नरोकिने

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी आर्थिक वर्षदेखि कुनै पनि कम्पनी मर्जरमा जाने निर्णय गरेपछि सेयर कारोबार रोकिने अवस्था हटाउने भएको छ । यसका लागि मर्जर नियमावली संशोधन हुनुपर्ने तथा केन्द्रीय बैंकसँग पनि छलफल भइरहेको सेबोनका अध्यक्ष रमेश हमालले बताए ।
मंगलबार सेबोनमा आयोजित कार्यक्रममा उनले कुनै पनि कम्पनी मर्जर तथा एक्विजिसनको नाममा अब सेयर कारोबार रोक्का नहुने भन्दै साउनदेखि मर्जरमा जाने कम्पीको सेयर कारोबार रोक्का नहुने बताए । “अहिले कम्पनीको मर्जरको नाममा महिनौं, वर्षौंसम्म सेयर कारोबार रोक्का भइरहेको छ । अब साउनदेखि कुनै पनि कम्पनीको सेयर कारोबार रोक्का हुँदैन । यसका लागि हामीले केही गृहकार्य गरिरहेका छौं,” उनले भने ।
कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकले लिएको ४÷१२ को नीतिले सेयर बजार घटेको दोषारोपण पनि गरे । आन्दोलनरत लगानीकर्ताको माग सम्बोधन गर्नका लागि समिति गठन गर्नुभन्दा पनि माग पूरा गर्नतर्फ लाग्नुपर्ने भन्दै उनले नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा सेयर धितोको कर्जामा ४÷१२ को नीति ल्याएका कारण सेयर बजार घटेको आरोप लगाए । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा कुनै पनि व्यक्ति वा संस्थाले एउटा संस्थाबाट अधिकतम ४ करोड र समग्र प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म सेयर धितो राखेर कर्जा लिन पाउने व्यवस्था गरेको थियो । तर, केन्द्रीय बंैकले बैंक तथा वित्तीय संस्था तथा वित्तीय स्थायित्वको लागि लिएका नीतिलाई दोषारोपण गरेर धितोपत्र बोर्डले आफ्नो कमजोरी लुकाउन खोजेको छ । बैंक तथा वित्तीय संस्थामा हाल लगानी योग्य पँुजीको अभाव तथा असार मसान्तभित्र सीडी रेसीयो ९० प्रतिशतमा झार्नुपर्ने दबाबका कारण बढेको ब्याजले सेयर बजार लगातार घटेको छ । जसका कारण सेयर लगानीकर्ताहरु विभिन्न माग राखेर आन्दोलनरत छन् ।
“लगानीकर्ताले उठाएका धेरै मागहरु कार्यान्वयनको चरणमा छन्,” उनले भने, “विश्वका अन्य देशमा सेयर लगानीकर्ता आन्दोलन गर्दै सडकमा नआउने भन्दै नेपालमा यस्तो अवस्था आउनु दुःखद् हो ।”
पुँजीगत लाभकर घटाउने विषयमा अर्थमन्त्रीसँग छलफल भइरहेको जानकारी दिँदै सेबोनका अध्यक्ष हमालले यसका लागि राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र उक्त समितिले दिएको सुझाव अनुसार काम अगाडि बढाइने बताए ।
अध्यक्ष हमालले हाल मुलुकभरका २४ स्थानमा धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरुको शाखा विस्तार भइरहेको तथा ब्रोकर कमिसनका सम्बन्धनमा पनि अध्ययन समितिको प्रतिवेदन अनुसार काम हुने बताए ।
यसैबीच मंगलबार प्रतिनिधिसभामा पनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले पुँजीबजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजी बजार संकटपूर्ण अवस्थामा गुज्रिरहेको बताए । पुँजी बजार धराशयी हुँदा सिंगो अर्थतन्त्रमै गम्भिर असर परेको र लगानीकर्ताहरुको लगानी जोखिममा परेको भन्दै उनले पुँजी बजारको पुनर्उत्थान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । उनले बेला बेलामा नेताहरुले पुँजी बजारलाई नोक्सान हुनेगरी अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै नेताहरुलाई आफ्नो अभिव्यक्ति सच्याउन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्