अविरल वर्षाले निम्त्याएको विपत्ति «

अविरल वर्षाले निम्त्याएको विपत्ति

विगत केही दिनयता प्रत्येक दिन पानी परिराखेको छ । यति मात्र नभएर रात्रिको समयमा चट्याङ पर्ने र आकाश गर्जने भइराखेको छ । प्रायः बेलुकीपख र रातिको समयमा पानी पर्ने गर्छ, जसका कारण जनजीवन प्रभावित हुनुका साथै यसले विभिन्न क्षेत्रमा निकै प्रभाव पारेकोे छ । यसरी भइराखेको वर्षाको कारणले देशको विभिन्न ठाउँमा बाढी, पहिरो, तटीय क्षेत्रमा कटान र डुबानजस्ता समस्याहरूले वितण्डा मच्चाइराखेको छ भने कैयौं मानिसको धनजनमा क्षति पु¥याइराखेको छ । कैयांैले बाढीपहिरोमा परी ज्यान गुमाउनुका साथै आफ्नो सर्वस्व नै गुमाएका छन् ।
बर्खाको कारण दिनहुँ ज्याला–मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्नेहरूलाई निकै नै अप्ठेरो परिराखेको छ । भारी बोक्ने, सडकमा ससानो ठेला राखेर मकै पोल्ने, सब्जी बेच्ने, फलफूलहरू बेच्नेलगायत अन्य सामग्रीहरू बेचबिखन गरेर आफ्नो गुजारा चलाउनेहरूलाई यतिबेला आफ्नो गुजारा गर्न निकै मुस्किल परिराखेको हामी देख्न सक्छौं । किनकि अन्य पक्की पसलहरूसरह यस्तो सानातिना व्यापारीहरूको निश्चित र सुरक्षित ठाउँ नभएकाले पानी र हुरीबतास चल्दा यस्ता व्यापारीहरूले आफ्नो व्यापार थन्क्याएर आफ्नो घर फर्किनेबाहेक अर्को विकल्प उनीहरूसँग हँुदैन । किनकि त्यतिबेला न त क्रेताहरू ठेलासम्म पुग्न सक्षम हुन्छन्, न त व्यापारीहरू त्यहाँ व्यापार गर्न नै ! त्यस्तै खोलावरिपरिको परिसरमा छाप्रो बनाएर बसेका मानिसहरूलाई यतिबेला रुनु न हाँस्नु बनाएको छ । कतिबेला खोलाको वेग बढेर आएर बास बगाउँछ, टुंगो छैन ।
देशभरि नै वर्षा भइराखेका कारण कैयौं ठाउँमा बाढीपहिरोले विकराल रूप लिइराखेको छ । एक साताअघि मात्रै पोखरा–मुग्लिन राजमार्ग पहिरोले अवरुद्ध भएका कारण त्यस मार्गद्वारा आवतजावत गर्नेहरूले धेरै नै कष्ट खेप्नुपरेको थियो । उक्त मार्गद्वारा स्वयम् मेरा काकाकाकी पोखराबाट काठमाडांै आउने क्रममा सडक अवरुद्ध भएका कारण घरबाट निस्किएको दुई दिनमा मात्र काठमाडौं आइपुग्नुभएको थियो । यस्तै देशको अन्य राजमार्गहरूमा पनि पहिरो र सडक भास्सिएका कारण दुःख खेप्नुका साथसाथै घाइते भएर कतिपयले ज्यान गुमाएका घटनाहरू पनि सामाजिक सञ्जालमार्फत देख्न, सुन्नमा आइराखेको छ । त्यसमाथि जाममा घण्टौं फसी, आफूसँग पैसा हुँदाहँुदै पनि खानेकुराहरू किनेर खान नपाउनुको पीडा अलग छ । राजमार्ग विस्तारको कारणले यात्रुहरूले सकस त खेप्नु परिराखेको छ नै, त्यसमाथि वर्षाले बिजोग बनाएको छ र त्रास अझै कायम छ ।
राजमार्गका साथसाथै वर्षाको कारण उपत्यकाका भित्री सडक मार्गहरूको अवस्था यति जटिल बनेको छ कि पानी पर्नासाथ पीर पर्ने गर्छ कि अब घर कसरी जाने ? देशको राजधानीजस्तो ठाउँमा समेत बर्खायाममा सडकको साइड–साइडमा तथा जताततै भएको खाल्डाखुल्डीका कारण दिनहुँ आवतजावत गर्नमा मुस्किल भइराखेको छ । उपत्यका भनेर हामी घमन्ड गर्छौं, तर यहाँ अवस्थित सडक, सडकको ठाउँठाउँमा रहेका खाडल, त्यसमा अवस्थित हिलो, अनि जताततै छरिएर रहेको फोहरको डंगुर र त्यसबाट आएको गन्धको कुरा गरेर साध्य नै छैन । विकास निर्माणका लागि बजेट पास गरिन्छ, तर उक्त बजेटको चुहावट कहाँ र कसरी हुन्छ, थाहा हँुदैन ।
जबजब चुनाव आउँछ र बजेट भाषण हुन्छ, तबतब विकासको लागि बजेट छुट्ट्याइन्छ र भोट माग्न आउँदा सडक, पानी र बत्तीजस्ता अत्यावश्यक सेवासुविधालाई विशेष प्राथमिकता दिनेछौं भनेर प्रण गरिन्छ । तर, त्यसपछि सबथोक पहिलेको जस्तै अवस्थामा आउँछ । देश विकास गर्ने शैली यस्तो भएका कारणले बर्खायाममा देशका जनताले पीडा तथा दुःख झेल्नुपरिराखेको छ । आखिर यो सब कहिलेसम्म सहनुपर्ने हो ?

प्रतिक्रिया दिनुहोस्