कृषिले धानेको गौंडा गाउँ

पछिल्लो समय वैदेशिक रोजगारीले जरा गाडेको छ । नेपाली युवाले पहिलो प्राथमिकता वैदेशिक रोजगारीलाई दिएका छन् । गाउँदेखि सहर प्रत्येक घरमा पुग्दा वैदशिक रोजगारीमा नजाने परिवार भेट्न मुस्किल पर्छ । तर, झापामा एउटा त्यस्तो गाउँ छ जहाँका युवाले कृषिलाई प्राथमिकतामा राखेका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका–६, गौंडाका ८० प्रतिशत नागरिक कृषि पेसामा संलग्न छन् । लामो समयदेखि कृषि पेसा गर्दै आएका गौंडाका नागरिकको कृषि कर्म फरक प्रकृतिको छ । सो गाउँ पुग्ने जो–कोहीलाई कृषि मोहले तान्छ । व्यावसायिक कृषि पेसामा नभए पनि निर्वाहमुखी कृषिमा लागेका उक्त क्षेत्रका अधिकांश नागरिक कृषिमा सरकारले सहयोग गर्नुपर्ने बताउँछन् ।
चित्रबहादुर राईले गौंडा गाउँ तराई भू–भाग भए पनि अलैंची, अम्रिसो लगाएका छन् । यससँगै उनले बाख्रापालन पनि गर्दै आएका छन् । जस्तोसुकै परिस्थिति आए पनि वैदेशिक रोजगारीका विषयमा कहिल्यै नसोचेको उनी बताउँछन् । विगत १५ वर्षदेखि कृषि व्यवसाय गर्दै आएका राईले अहिले ३५ वटा बाख्रा पालेका छन् । “धेरै आम्दानी गर्न नसके पनि कृषिबाटै परिवार पाल्दै आएको छु,” राईले भने, “कृषिको विकल्पमा अन्य व्यवसाय रोज्न सक्दिनँ, उमेर हुन्जेल विदेश जान मनै लागेन ।”
सरकारले कृषकलाई अनुदान दिन्छ, व्यवसायमा सहयोग गर्छ भन्ने कुरा सुने पनि अहिलेसम्म कुनै सहयोग प्राप्त नगरेको राई बताउँछन् । सहयोगका लागि भने उनले कुनै क्षेत्रमा पनि पहल गरेका छैनन् । कृषि कर्मबाटै परिवार पाल्दै आएका राईका पाँच जना दाजुभाइ पनि गौंडा गाउँमै कृषि व्यवसायमै निर्भर रहेको उनी सुनाउँछन् ।
गौंडा गाउँकै केशव पराजुलीले यतिबेला बारीभरि लटरम्म तरकारी फलाएका छन् । पराजुलीले सात कठ्ठा जमिनमा टमाटर र सिमी लगाएका छन् । पराजुलीको परिवारका कोही सदस्य पनि वैदेशिक रोजगारीमा गएका छैनन् । पूरै परिवार कृषि व्यवासयमा लागेको छ । व्यवसायमा उनलाई परिवारको पूरा साथ छ ।
पराजुली मात्र नभएर सो क्षेत्रमा अधिकांश किसानले यो सिजनमा टमाटर, सिमी, बोडीलगायत तरकारीजन्य कृषि वस्तु उब्जाइरहेका छन् । कृषि व्यवसायले नै परिवार धानेको पराजुली बताउँछन् । उनले अहिलेसम्म कुनै पनि निकाय, संस्थाबाट सहयोग लिएका छैनन् । व्यवसाय गर्नका लागि दृढ इच्छाशक्ति आवश्यक रहेको पराजुलीको भनाइ छ ।
पछिल्लो समय तराईका अधिकांश जमिन प्लटिङ गरिएको छ । प्लटिङकै कारणा झापाको ८० प्रतिशत बढी जमिन बाँझो रहेको जानकारहरू बताउँछन् । तर, झापाकै गौंडा गाउँ पुग्दा सबैको जमिनमा केही न केही तरकारी बाली लगाइएको छ । सबैको जमिनमा लगाइएको बाली र सागसब्जीले गौंडा गाउँ नै हरियाली बनेको पराजुली बताउँछन् । उत्पादित तरकारीको उचित मूल्य भने पाउन नसकेको गौंडाका कृषकको भनाइ छ । सो क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिर्तामोड र चारआली ल्याएर बिक्री गर्छन् । नदीको सिँचाइबाट खेती गरिरहेका गौंडाका किसानले कृषिलाई व्यवसायिक बनाउन प्रयास भने गरिरहेको जानकारी दिएका छन् ।
विगतमा शिक्षण पेसा गरेका गौंडाका युद्धकुमार दाहाल पनि यतिबेला कृषिमै संलग्न छन् । दाहालले बारीमा तरकारी खेती गर्दै आएका छन् । “बारीमा सागसब्जी लगाएको छु” दाहालले भने, “हामीले व्यावसायिक खेतीचाहिँ गर्न सकेका छैनौँ । हाम्रो व्यवसाय निर्वाहमुखी मात्र छ ।”
गौंडाका किसानले अधिकतम कम्पोष्ट मल प्रयोग गर्ने गरेको दाहाल बताउँछन् । गाउँका अधिकांश नागरिक कृषि पेसामा संलग्न रहेको र रेमिट्यान्सभन्दा कृषिकै भर रहेको उनी सुनाउँछन् । गांैडाका ८० प्रतिशत नागरिक कृषिमा निर्भर रहेको दाहालको भनाइ छ ।