एसपीपी सम्झौताबारे सांसदका आ–आफ्नै दाबी

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपाली सेनाको क्षमता वृद्धिका लागि भएको बताएका छन् ।

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली सेनाको सशक्तिकरण, आधुनिकिकरण र सैन्य क्षमता वृद्धिका लागि भएको बताए । उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघमा शान्ति सेनाको रुपमा खेलेको भूमिकालाई थप मजबुद बनाउनका लागि सो सम्झौताले सहयोग गर्ने बुझाइमा नेपाल सरकार रहेको बताए । उनले संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको भूमिका राम्रो रहेकाले नेपाली सेनाको क्षमता वृद्धिमा अमेरिका लागिरहेको उल्लेख गरे ।

नेकपा(एमाले)का सांसद भीम रावलले भने सो सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने बताए । आफूहरुले एमसीसी पारित गर्दा नै नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अंग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने काम हँुदैछ भन्ने आशंका गरेको उल्लेख गर्दै उनले एसपीपीको दफाहरु र घटनाक्रमहरुले पनि त्यतै संकेत गरेको दाब िगरे । यसको विषयमा सरकारले यथार्थ स्पष्ट गराउनुपर्ने उनले बताए ।

नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले एसपीपी सम्झौता गरिए राष्ट्रघात हुने र नेपाली सेना आइपिएसको अंग बन्न जाने बताए । यसले नेपालको राष्ट्रिय स्वाधिनतामाथि ठुलो समस्या पैदा गर्ने उनले बताए । उनले सरकारले त्यसप्रकारको सन्धी, सम्झौता नगर्नेमा विश्वास व्यक्त गरे ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले आफूहरु संविधानको व्यवस्था अनुसार पञ्चशिल र असंलग्न परराष्ट्र नीतिको पक्षधर रहेको उल्लेख गर्दै एसपीपी सम्झौताको विषय हल्ला मात्रै भएको बताए । यो विषय एमसीसीको बेलादेखि नै हल्लाको रुपमा रहेको उनले उल्लेख गरे ।