मौसम परिवर्तनले स्वास्थ्यमा परेको असर «

मौसम परिवर्तनले स्वास्थ्यमा परेको असर

प्रत्येक दिन पानी परेको देख्दा लाग्छ, बर्सात सुरु भइसकेको छ । कति बेला पानी र हावाहुरी चल्छ, टुंगो हुँदैन । यसरी बारम्बार परिराखेको पानीले कैयौं ठाउँमा धनजनको क्षति पु¥याएको छ । यस वर्ष बेमौसमी वर्षाका कारण कृषकहरूले धेरै क्षति खेप्नुपरिराखेको छ । बाली थन्क्याउने समयमा असिनापानी पर्नाले पाक्न लागेको बाली झर्दा, बिग्रँदा ती किसानहरूमाथि कत्रो बज्रपात परेको होला, हामी आफैं अनुमान लगाउन सक्छौं ।
वर्षभरिको मेहनत हावाहुरी र वर्षाले तहसनहस बनाएका कारण यसको असर किसानमा मात्र नपरी हामी सम्पूर्ण जनतामा नै परेको छ । यस्तै कारणले गर्दा वस्तुहरूको मूल्यवृद्धि हुने र सामानहरू बाहिरबाट आयात गर्नुपर्ने अवस्था समेत आउने गर्छ । यसका साथै अहिलेको मौसम यस्तो प्रकारको छ कि घाम नचर्किए पनि वातावरण पूरै गुम्म र अत्यधिक गर्मी छ । घाम चर्किंदा गर्मी बढ्नु त स्वाभाविक हो, तर विगत केही दिनयता पानी नपरी घाम धेरै नलागेको दिनमा पनि धेरै नै गर्मी बढेको छ । यस्तो मौसमका कारण स्वास्थ्यमा असर गर्न सक्छ । अझै विशेष रूपमा बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने गर्छ । किनकि गर्मी बढेका कारण चिसो पेय पद्धार्थ जस्तै— जुस, फ्रिजको पानी, कोक–फ्यान्टा, आइसक्रिम, दही, मही, कोल्ड कफीहरूको उपभोग बढी गर्ने गर्छन् । गर्मी बढेको छ भनेर दिनहुँ नुहाउने, दिनरात पंखा चलाएर बस्ने र पौडी खेल्नसमेत जाने गर्छन् । घाम लागेको देखेर पौडी खेल्न गइन्छ तर अचानक ठूलै वर्षा हुन्छ, जसका कारण बच्चाहरूको स्वास्थ्यमा निकै असर पर्छ ।
अहिलेको समयमा अधिकांश बालबालिका बिरामी भइराखेका छन् । प्रायः बच्चाहरूमा रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी दुखी टन्सिलले सताउने र पेट दुख्ने समस्या देखा परिराखेको छ । घाम चर्केको देखेर हामी नानीबाबुहरूलाई गर्मीमा पसिनाले भिजेर चिसो लाग्ला कि भनेर पातलो कपडा लगाएर पठाउँछौं, तर एक्कासि ठूलो पानी परिदिन्छ र चिसो मौसमको जस्तो पूरा बाउले कपडा लगाउनुपर्ने हुन्छ । घरी तातो र घरी चिसो मौसम हुनाले पनि बच्चाहरूमा स्वास्थ्य समस्या आइराखेको हुन्छ । स्वयम् मेरो छोरा नै सामान्य पेट दुखेका कारण विद्यालय जान सकिराखेको छैन । त्यस्तै उसको विद्यालयका प्रधानाध्यापक विद्यालयका धेरैजसो बालबालिका अहिलेको समयमा भाइरल ज्वरो, रुघाखोकी र पेट दुखेका कारण बिरामी भई विद्यालय उपस्थित हुन नसकेको जिकिर गरिराख्नुभएको थियो । अहिलेको परिप्रेक्ष्यमा, आज त स्वास्थ्यमा सुधार आएको छ, दिनभरि घरमा बसेर टिभी नै हेर्ने हुन् भनेर हामी अभिभावकहरू बच्चालाई विद्यालय पठाउँछौं । तर, त्यसको केही समय बित्न नपाउँदै फेरि विद्यालयबाट खबर आइसकेको हुन्छ कि तपाईंको बच्चालाई सन्चो भएन, लिन आउनुस् भनेर ।
त्यस्तै बर्सातको समयमा जारकै पानीमा पनि ठाउँठाउँमा प्रदूषण भेटिएका खबरहरू पनि सुन्नमा आइराखेको हुन्छ । जसको कारण साना–ठूला सबैलाई पेट दुख्ने, पखाला लाग्ने गर्छ । त्यसमाथि अहिलेका बच्चाहरू अधिकांश खानेकुरा घरबाहिरको अर्थात् जंकफुड खाने हुनाले पनि स्वास्थ्यमा समस्या आउने गर्छ । सिजन नै हेर्ने हो भने यतिबेला बल्ल आँप खाने समय हुँदै छ, तर यहाँ वैशाख लाग्नासाथ बजारमा सुई हालेर पकाएको आँप प्रशस्तै पाइने गर्छ । जसको सेवन गर्नाले पनि स्वास्थ्यमा समस्या आउँछ । हेर्दा पाकेको जस्तो पहेँलो देखिन्छ, तर भित्र मज्जाले पाकेको भने हुँदैन । त्यसमाथि जाडो मौसममा जे खाए पनि शरीरले पचाउने गर्छ, तर गर्मीको समयमा भने सामान तथा खानीकुराहरू छिटै बिग्रने र शरीरले पनि पचाउन सक्दैन । त्यसैले गर्मी बढ्यो भन्दैमा बालबच्चालाई जथाभावी बाहिरको खानेकुरा, चिसो पदार्थहरू खानबाट जोगाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्