चन्दननाथ गुठीको जग्गा अतिक्रमण

चन्दननाथ, भैरबनाथ गुठी व्यवस्थापन समिति जुम्लाको नाममा रहेको खेतियोग्य जमिन अतिक्रमण हुँदै गएको छ । पटक पटक सरकारी तथा निजी क्षेत्रबाट गुठीको जग्गा अतिक्रमण हुँदै गएको हो । जिल्लाभित्र र जिल्लाबाहिरका विभिन्न ठाँउमा रहेको गुठीको जग्गा अतिक्रमणको चपेटामा परेपछि कहाँ कति जग्गा छ भन्ने पनि एकीन छैन ।
जुम्लाको गज्र्याङकोट, देपालगाँउ, बियाँरे, महतगाँउ, तलिउम, कुडारी, डाँडाकोट, राजिकोट लगायत कालिकोटको राजकोट, मुगुको नागथार्प, बाजुराको कोल्टी र हुम्लामा समेत चन्दननाथ गुठीको जग्गा छ । तर जिल्ला बाहिरको सबै जग्गा अतिक्रमण भइसकेको छ भने जिल्लाभित्रको समेत अधिकांश गुठीको जग्गा अतिक्रमणमा परेको छ ।
केही वर्षअघि हजारौ हेक्टरमा रहेको गुठीको जग्गा अतिक्रमणमा पर्दै गएपछि हाल ७४ हजार २ सय ९४ बर्गमिटरको सेराज्युलो मात्र गुठीको नाममा छ । चन्दननाथ बाबाले मार्सी धानखेति शुरु गरेको किंवदन्ति रहेको यस सेराज्युलो र आसपासको जग्गा समेत यतिखेर अतिक्रमणको चपेटामा छ । यस बिषयमा जिल्लाका सबै सरोकारवाला भने मौन छन् । २०३६ सालमा स्थापना भएको गुठी ब्यवस्थापन समितिमा ३९ वर्षको अवधिमा ११ जना अध्यक्ष समेत नियुक्त भइसके ।
तर, कुनै पनि अध्यक्षको पालामा गुठीको जग्गा खोजि भएन । बरु समितिको लापारवाही र हेलचक्राईले गर्दा विश्वमै पुरातात्तिक इतिहाँस बोकेको प्रसिद्ध चन्दननाथ, भैरबनाथ मन्दिरमा धर्मको नाममा बारर्गेनिङको ब्यापार मौलायो । सोहि कारण हजारौ वर्ष पुराना धातुका मूर्तिहरू २०७२ मंसिर १२ गते चोरी भए । चोरीकाण्डमा अहिले मन्दिरका पुर्व बाहालवाला मुख्य पुजारी सहित नागरीक समाजका पुर्व अध्यक्ष जेलमा छन् ।
कसले गरे अतिक्रमण?
जिल्लाका विभिन्न ठाँउमा रहेको अरबौ मुल्यको गुठीको जग्गा अतिक्रमण भएको छ । जुुम्लामा पहिलो पटक कारोबारकर्मीले गरेको खोजी रिर्पोटिङका क्रममा अगुवाहरूलेले जग्गा अतिक्रमण गरेको पाइएको छ । चन्दननाथ ३ का जैसिंह सार्कीले स्थानीय एक ब्यक्तिलाई नेपाली सेनाको ब्यारेक नजिक रहेको गुठीको खेतियोग्य दुई रोपनी जग्गा बेचेका छन् ।
वर्षौदेखि जमिन उपभोग गर्दै आएका उनले मालपोतका कर्मचारीसँगको मिलोमतोमा गुठीको जग्गा बेचेको समितिले दावी गरेको छ । सोहि ठाँउका स्थानीय डङ्से सार्कीले खाँदै आएको दुई रोपनी गुठीको जग्गा नेपाली सेनाले अतिक्रमण गरेर मुअब्जा दिदाँ समेत गुठीले पत्तो पाएन । तर अहिले मुआब्जा गुठीले पाउनुपर्ने भन्दै समितिले उजुरी दिएको छ । चन्दननाथ नगरपालिका १० निवासी स्थानीय महाशंकर देबकोटाले नँया बसपार्क नजिक रहेको गुठीको चार रोपनी जग्गा ब्यक्तिगत नामसारी गर्नखोजेपछि दशकौंदेखि सर्वोच्चमा मुद्दा छ ।
हाल देवकोटाको स्वर्गारोण भइसकेको छ भने गुठीको चार रोपनी जग्गा देवकोटा परिवारलनै प्रयोजन गरिरहेका छन् । साथै, सेराज्युलाको छेउमा घर लगाएको गुठीको जग्गा आफ्नो भन्दै जुम्लाका नव गिरीले मुद्दा गरेपछि जिल्ला अदालतले उनलाई जितायो, तर उच्च अदालतले भने गुठीलाई जिताएपछि बिवाद कायमै छ । सेराज्युलो नजिकै विर श्रेष्ठ र विष्णु श्रेष्ठको घर समेत गुठीकै जग्गाभित्र पर्ने समितिको दावी छ । गुठीको जग्गामै कालि दमाईको नाममा जनता आवास कार्यक्रमबाट पाएको घर निर्माण भएको छ ।
गुठीको जग्गा अतिक्रमण गरेर खेलकुद विकास समितिको कार्यालय बनेको छ । जो समितिकै नाममा भईसकेको छ । त्यस्तै गुठीकै जग्गामा जिल्ला उद्योग बाणिज्य संघ, कर्णाली खष संग्रहालय र नगरपालिकाद्धारा पार्किङ निर्माण गरीएको छ । भने, गुठीकै जग्गामा जिल्ला अदालतको भवन समेत निर्माण हुँदैछ । गुठीलाई नसोधि गुठीकै जग्गामा जिशिका र नगरपालिकाले समेत सडक काटेका छन् ।
भने देपालगाँउ र गज्र्याङकोट स्थित गुठीको जग्गा अतिक्रमण गरी चारवटा पिलरवाला पक्किघर ब्यक्तिको नाममा निर्माण भएका छन् । यसरी गुठीको जग्गामा बढ्दो अतिक्रमणले कँहाको जग्गामा के भइरहेको छ । तर यति सबै कर्तुत समिति थाहा हुँदा पनि समिति मौन रहेको छ ।
आर्थिक अपारदर्शीता
गुठीको नाममा अहिले पनि मासिक लाखौ कमाई हुने चल सम्पति मात्रै छ । ब्यापारीक प्रयोजनका लागि बनाईएका ३५ वटा टहरा बाट प्रतिटहरा मासिक तीन हजारदेखि सात हजारसम्म भाडा उठ्छ । करीब ४८ हजार बढि क्षेत्रफलको सेराज्युलो पनि लिजमा छ । लिजको जग्गामा स्याउ तथा तरकारी खेती भइरहेको छ । टहरा र लिजको जग्गाबाट आउने भाडा र मन्दिरमा चडाउने भेटी, दान गरी वार्षिक ६० लाख बढि गुठीलाई आम्दानी हुन्छ ।
त्यस्तै मन्दिरको संरक्षण प्रर्वद्धनका लागि भन्दै विभिन्न निकायबाट सहयोग पनि भईरहेको छ । तर गुठीको वार्षिक एकिन आय, ब्यय बारे कसैलाई थाँहा छैन । नत यसबारे सार्वजनिक सुनुवाई नै हुन्छ । नत गुठीको खातामा नै रकम छ । यदि खातामा रकम भएपनि केन्द्रिय गुठी संस्थानले तानेर लिने गरेको समितिका सचिब रमानन्द आचार्यको भनाई छ । यता गुठीले धर्मको नाममा ब्यापार गरेर लाखौ घोटाला गरेको नागरीकको आरोप छ ।
गुठीका प्रशासन प्रमुख रत्नप्रसाद आचार्यले सार्वजनिक सुनुवाई नगर्नुमा गुठीको कमजोरी भएको स्विकार्य गरे। ‘आय, ब्ययको हिसाब स्पष्ट राख्छौ, लेखा परीक्षण पनि हुन्छ’ उनले भने, ‘तर सार्वजनिक सुनुवाई नभएपनि गुठीको आय, ब्यय बराबर छ ।’ उनका अनुसार समयमै लिजको जग्गाबाट भाडा नआँउदा गुठी संचालनमा सकस छ । अतिकरणमा परेको जग्गा बारे अब खोजीनीति हुने दाबी गरे ।
कहाँ जान्छ रकम ?
गुठीले आम्दानी गर्ने लाखौ रकमबाट नै मन्दिरमा दैनिक पुजाआजा तथा गुठी संचालन हुन्छ । चन्दननाथ मन्दिरका मुख्य पुजारी रमेश न्यौपाने लगाएत ७ जना पारिश्रमिक खाने कर्मचारी छन् । मूख्य पुजारी न्यौपानेले मात्रै मासिक १५ हजार बुझ्छन् । भने सातै जनाले गरी वार्षिक १२ लाखसम्म पुजारी तथा कर्मचारी पारिश्रमिकमा खर्च हुन्छ ।
त्यस्तै गुठीको सेराज्युलोमा मार्सीधान लगाँउदादेखि संकलन गर्दासम्म ज्यामी तथा पानी तान्ने जेनेरेटर खर्च वार्षिक ५ लाख नाग्छ । गुठी प्रशासनका अनुसार अन्य लाखौ रकम मन्दिरको संरक्षण, टहरा मर्मत तथा निर्माण, दैनिक पुजाका सामाग्री, खाना र मन्दिरको भोक लगाँउदा खर्च हुन्छ । यस्तै मासिक पुजामा ५० केजिबढि गाईको शुद्ध घ्यु, तीन पेटीभन्दा बढी तोरीको तेल, सयौं लिटर दूध, मैदा तथा आटामा रकम खर्च हुने गरेको जनाइएको छ ।