Logo

विपद् व्यवस्थापन पूर्वतयारीका बारेमा सुझाव

मौसमविद्हरूले यसवर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदरभन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । यस वर्षको मनसुनजन्य विपद्बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरूले बताइरहेका छन् । यस वर्ष नेपालमा १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ । जसकारण मौसम विज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्वतयारीका लागि ध्यानाकर्षण गराइरहेका छन् । यस वर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकका स्थान र काठमाडौंबाट पश्चिमका क्षेत्रमा अत्याधिक वर्षा हुने मौसमविद्हरूको आकलन छ । त्यस्तै प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूले यस वर्षको मनसुनमा विपद् व्यवस्थापन र पूर्वतयारीको काममा अहिलेदेखि नै ध्यान पु-याउन सरकारलाई आग्रह गरेका छन् । कारोबारसँग कुरा गर्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्राकृतिक प्रकोपबाट निम्तिने विपद्हरूको व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै ध्यान पु-याउनुपर्ने बताए । उनले बाढी प्रभावित क्षेत्रमा भएको बसोवासलाई अन्यत्रै सारेर बेलैमा व्यवस्थापन गर्नुपर्ने बताए । सचेतक भुसालले विगतका घटनाहरूबाट पाठ सिकेर सरकारले विपद् व्यवस्थापनका लागि बजेट छुट्याउनुपर्ने बताए । सरकारले प्रभावकारी योजना र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘सरकारले बाढी आउने ठाउँका बसोवासहरूलाई अन्यन्त्र सारेर भए पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यस्तै खेती, बालिहरूलाई नोक्शान हुन नदिनका लागि पनि सरकारले विभिन्न किसिमका राहतका कार्यक्रमहरू किसान समक्ष पु-याउनुपर्ने अवस्था पनि हुन्छ । कतिपय पहिरोले घरहरू पुरिएर विस्थापित हुनुपर्ने अवस्थाहरू छ । त्यसको तथ्यांकहरू र विगतको घटनाहरूलाई लिँदै आएर त्यो घटनाहरू फेरि नदोहोरियोस् भन्नका लागि सरकारले विशेष रुपबाट बजेटबाट र विभिन्न कार्यक्रम र योजना ल्याउनु पर्छ । तत्कालै राष्ट्रिय बजेटबाट योजना र कार्यक्रम प्रभावकारी ढंगबाट अगाडी बढाउनका लागि पनि विशेष बजेटको व्यवस्थाहरू गर्नुपर्ने हुन्छ ।’
नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सम्भावित विपद्को सामना गर्न सरकारी संयन्त्र तयार रहनुपर्ने बताउनु भयो । उहाँले मनसुनबाट हुने क्षतिलाई अहिले नै अनुमान गर्न नसकिने भन्दै कमभन्दा कम क्षति हुनेगरी पूर्वतयारीमा जुट्नुपर्ने बताए । घटनापछि तत्काल ‘रेस्पोन्स’ गर्न सक्नुपर्ने उनले बताए । उनले भने, ‘विपद् व्यवस्थापन प्राधिकरण नै छ । सरकारको मातहतमा । त्यसो हुँदा तयारी गरेको होला भन्ने हो । सम्भावित विपद् बाढी, डुबान, पहिरो लगायतका अहिलेका सिजनमा हुने विपद्को तयारी गरेकै छ । तयारी आफ्नो ठाउँमा छ । खासगरी मनसुनबाट हुने क्षति अनुमान नै गर्न सक्दैनौं । कमभन्दा कम क्षति हुने गरी तयारी र घटना घटिसकेपछि त्यसलाई रेस्पोन्स गर्ने हुनुपर्छ ।’
नेकपा (एमाले) का सांसद डा. सूर्य पाठकले गाउँमा सडक बनाउन अत्याधिक रूपमा डोजरको प्रयोग गरेका कारण पहिरोको क्षति बढेको बताए । उनले विकास निर्माणको काममा जथाभावी डोजर प्रयोग बन्द गर्नुपर्ने बताए । विपद्को सम्बन्धमा सरकारले सचेतना फैलाउनुपर्ने र पर्याप्त बजेट विनियोजन गरेर राख्नुपर्ने पनि उनको भनाइ छ । उनले सरकारले कुनै पूर्वतयारी नगरेको बताउनु भयो । सांसद पाठकले विपद् व्यवस्थापनमा स्थानीय तहले विशेष रूपमा ध्यान दिनुपर्ने बताए । उनले स्थानीय तहले पनि पर्याप्त बजेट विपत व्यवस्थापन र पूर्वतयारीका लागि छुट्याउनुपर्ने बताए । साथै विपद् परेको अवस्थामा तत्काल उद्धार गर्नका लागि एउटा युनिट गठन गरिराख्न पनि उनले स्थानीय तहलाई आग्रह गरे ।
उनेले भने, ‘बाढीपहिरोमा बढी क्षति किन भयो भन्दा गाउँघरमा जथाभावी डोजर हानेर हो । वातावरणीय प्रभावको मूल्यांकन छैन । जतापनि डाँडा कोतरेको छ । जतापनि करेसाबाट बाटो लगेको छ । हिउँदमा करेसाबाट बाटो खनेको छ । बर्खा घर गएको छ । त्यसकारणले यस्ताखालका विकास निर्माणका कामहरूमा पनि हामीले गम्भिरतापूर्वक छलफल गर्नुपर्छ । डोजरे विकासको अन्त्य गर्ने । सरकारले सचेतना फैलाउने । सरकारले बजेट पर्याप्त विनियोजन गर्ने । सरकारले तत्काल रेस्पोन्स गर्नका लागि रेस्पोन्स टिमहरू गठन गर्ने । पूर्वतयारी बिल्कुल देखिँदैन । सरकार पूर्वतयारी गर्दैन । स्थानीय तहको बजेटको ७० प्रतिशत बजेट डोजरमा जान्छ । प्रत्येक स्थानीय तहले क्वीक रेस्पोन्सका लागि तयार गर्ने । स्थानीय तहले सामाजिक संघसंस्थाहरूसँग छलफल गर्ने । विपद् व्यवस्थापनका लागि एउटा टिम बनाउनुपर्छ । मेरो आग्रह, स्थानीय तह नीति, कार्यक्रम, बजेट बनाउने ठाउँमा हुनुहुन्छ । पहिलो कुरा, विपद् व्यवस्थापनका लागि एउटा युनिट गठन गर्नुस् । र त्यसमा बजेट पर्याप्त राख्नुस् ।’
त्यस्तै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले यसवर्ष प्रदेश १ को हिमाली भूभाग र मधेस प्रदेशका केही भूभागमा बाहेक अन्य बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने भएकोले बेलैमा सजग हुनुपर्ने बताए । उहाँले विशेष गरी काठमाडौंबाट पश्चिमका क्षेत्रहरूमा बढी पानी पर्ने भएको भन्दै सरकारले त्यसमाप पूर्वतयारी थाल्नुपर्ने बताए । उनले हरेक जिल्लामा पूर्वसूचना प्रणालीको विकास गरेर र सुरक्षा निकायहरूलाई सजग गराएर राख्नुपर्ने अवस्थाको थालनी गर्न ढिलाइ गर्नुनहुने बताए ।
उनले भने, ‘लामो समयको प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले र भारतको मौसम विभागले, दक्षिण एसियाको मौसम विभागले जुन प्रक्षेपण गरेको छ, त्यो हेर्दा नेपालको पश्चिमी क्षेत्र काठमाडौंबाट पश्चिमी क्षेत्र र प्रदेश १ को हिमाली क्षेत्र बाहेक र मधेस प्रदेशको केही भूभागमा अलि कम पर्ने र बाँकी भागमा कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा यस वर्ष औसतभन्दा बढी पानी र वर्षा हुने प्रक्षेपण गरिएको छ । यस वर्ष १७ लाख मानिस प्रभावित हुने प्रक्षेपण छ ।’
विज्ञ उप्रेतीले ७५३ वटा नै स्थानीय सरकारमा स्थानीय आपतकालीन केन्द्रको व्यवस्थापन गर्ने कुरा ऐनमा भनिएको भन्दै त्यसले दिएको निर्देशनको आधारमा पूर्व तयारी थाल्नुपर्ने बताए । बढी पानी पर्ने भनेको बढी पहिरो र बाढी जाने सम्भावनाको कुरा रहेकोले त्यसतर्फ सचेत रहनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्