Logo

ढल व्यवस्थापनका लागि बृहत् आयोजना

गोरखा-गोरखा बजारको ढल व्यवस्थापनका लागि बृहत् आयोजना सञ्चालन गरिने भएको छ । संघीय खानेपानी आयोजना कार्यालय लमजुङले गोरखा बजारको ४ वटा वडाको ढल व्यवस्थापन र प्रशोधनसहितको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रिया अघि बढाएको हो । गोरखा नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ का एक हजार २८ घरधुरीबाट निस्कने शौचालय र भान्छाको फोहोर व्यवस्थापन गर्ने गरी योजना कार्यान्वयन प्रक्रिया अघि बढेको संघीय खानेपानी आयोजना कार्यालय लमजुङका प्रमुख शेखर केसीले बताए ।
तीन वर्षमा सम्पन्न हुने आयोजनाको लागत ६९ करोड ३१ लाख रहने अनुमान गरिएको छ । “गोरखा बजारको मुख्य सडकको बीचमा ढल राखेर शौचालयजन्य र भान्छाको फोहोर व्यवस्थापन गर्ने योजना हो,” कार्यालय प्रमुख केसीले भने, “मुख्य पाइपलाइन सडकको बीचबाट लैजाने कुरा छ । शाखा पाइपलाइन मार्फत विभिन्न टोल बस्तीको फोहोर मुख्य पाइपलाइनमा जोडिनेछ । मुख्य पाइपलाइनमार्फत गएको ढलजन्य फोहोर प्रशोधन गरेर मात्रै खोलामा छोड्ने योजना हो ।”
ढलजन्य फोहोर प्रशोधनका लागि गोरखा नगरपालिकाले जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइसकेको छ । गोरखा नगरपालिका–८ मा जग्गा व्यवस्थापनका लागि सुरु गरिएको प्रक्रिया प्रशासन कार्यालयमा पुगेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए । जग्गा नगरपालिकाले उपलब्ध गराए पनि प्रशोधन प्लान्ट जडान भने आयोजना कार्यालयले नै गर्नेछ ।
शौचालय र भान्छाको फोहोर व्यवस्थापनका लागि योजना सञ्चालन गरिए पनि सदरमुकाममा अहिले बनाइएको नाला भने यथावत रहने संघीय खानेपानी आयोजना कार्यालयका इन्जिनियर सन्तोष पोखरेलले बताए । “ढल व्यवस्थापनका लागि खनिएको मुख्य सडक आयोजनाले नै मर्मत गर्ने गरी डिजाइन गरिएको छ,” उनले भने, “चालू आर्थिक वर्षको अन्त्यसम्ममा ठेक्का प्रक्रिया सकेर आगामी आर्थिक वर्षको सुरुबाटै काम थाल्ने योजना हो ।”

यस्तै, गोरखाको बारपाक गाउँमा ढलको दीर्घकालीन व्यवस्थापन गरिने भएको छ । बारपाक सुलिकोट गाउँपालिका–१ र २ बारपाक ठूलोगाउँको ढल दीर्घकालीन व्यवस्थापनका लागि प्रक्रिया सुरु भइसकेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय लमजुङले जनाएको छ ।
बारपाकको ढलको दीर्घकालीन व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण गरिने कार्यालय लमजुङका प्रमुख शेखर केसीले बताए । यसका लागि कार्यालयले जेठ १ गते बोलपत्र आह्वान गरेको छ । करिब ३४ करोड रुपैयाँमा ठेक्का आह्वान गरिएको छ । टेण्डर प्रक्रिया पूरा गरेर निर्माण कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया अघि बढाउने केसीले जानकारी दिए । बारपाक वडा नम्बर १ र २ को मुख्य बस्तीका शौचालयबाट संकलन भएको ढललाई प्रशोधन गर्नेगरी योजना बनाइएको छ । बारपाकमा अहिले शौचालयबाट निस्किने ढलको उचित व्यवस्थापन हुन सकेको छैन । जसका कारण बाक्लो बस्ती रहेको गाउँमा दुर्गन्धसँगै महामारीको पनि जोखिम रहेको स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्