Logo

डडेल्धुराको राजमार्गमै ग्यारेज

डडेल्धुरा-बिग्रिएका यातायातका सवारी साधन बीच सडकमै पार्किङ गरी मर्मत गर्दा डडेल्धुराको स्याउले चोकमा दुर्घटनाको जोखिम बढेको छ । भीमदत्त राजमार्ग आफैमा साँघुरो छ । त्यसैमा पनि बिग्रिएका यातायातका सवारी साधन ल्याएर अमरगढी नगरपालिका–१ को स्याउले चोकको सडकमै राखेर मर्मत गर्दा दुर्घटना निम्तिने डर पैदा भएको हो ।
स्याउले चोकमा रहेका ग्यारेजका कारण यातायातका साधन ओहोरदोहोर गर्न समस्या भइरहेका बेला सम्बन्धित निकाय भने बेखबरजस्तै बनेका छन् । सुदूरपश्चिम प्रदेशका सातवटै पहाडी जिल्ला र तराईका दुई जिल्ला जाने प्रमुख केन्द्रसमेत रहेको स्याउले चोकमा ग्यारेज धनीहरू सडकको दायाँ र बायाँ दुवैतर्फ पार्किङ गरेर मर्मत गर्दा समस्या भएको स्थानीय शेरबहादुर दियालले बताए । ग्यारेज अन्यत्र व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । अमरगढी नगरपालिका–१ कै ढुनढुनेमा ग्यारेज व्यवस्थापन गर्न खोजिएको भए पनि अहिलेसम्म नबन्दा झनै समस्या भएको छ । बजार व्यवस्थापन र ग्यारेज व्यवस्थापनका लागि एक हप्ताभित्रै सबै निकायसँग छलफल गरी निकास दिने वडा नम्बर १ का वडाध्यक्ष लोकेन्द्रबहादुर ऐरको भनाइ छ ।
उता सडक डिभिजन कार्यालय कुलपातेले भने ग्यारेज व्यवस्थापनका लागि दुई पटक टेण्डरको सूचना निकाल्दा पनि स्थानीयस्तरमा सहयोग नपाउँदा आफूलाई समस्या भएको जनाएको छ । दुई कार्यालयका बीचमा समन्वय नहुँदा एकातर्फ ग्यारेज व्यवस्थित रूपमा स्थापना हुन सकेका छैनन् भने अर्कोतर्फ लाखौं रकम खर्च गरेर निर्माण सुुरु भएको कार्य अलपत्र परेको छ ।

प्रतिक्रिया दिनुहोस्