के जातीय विभेद अन्त्य भएकै हो त ? «

के जातीय विभेद अन्त्य भएकै हो त ?

प्रत्येक वर्ष जेठ २१ गते देशभर जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइने गरिन्छ । यस वर्ष भने उक्त दिवस शनिबार परेको थियो । वि.सं. २०६३ साल जेठ २१ गते मुलुकलाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो । नेपालको संविधान तथा यसअन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण र हिंसालाई अपराधको रूपमा लिएकाले त्यसलाई निषेध गरेको छ ।
नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १६ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछूत र विभेद हट्न सकेको छैन । जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको हो र समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा यसको अन्त्य हुन नसकेको हो । नेपालमा प्रायः जे कुरा पनि लिखितमा नै सीमित हुने हुनाले व्यवहारमा उतारिएको हुँदैन ।
अहिले हामी जति नै ‘२१ औ शताब्दीमा आइसकेका छौं, देशले लोकतन्त्र र गणतन्त्र प्राप्त गरिसकेको छ, हामी स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ’ भनेर नारा लगाए पनि यही नारा लगाउनेहरूको भीड खोतल्ने हो भने प्रत्येक घरघरमा अझै पनि जातीय छुवाछूत कायम नै छ । अझै पनि मानिसहरू आफ्नो घरमा भाडामा मान्छे राख्नुअघि कुन जातिको हो भनेर सोधेर मात्र राख्ने गर्छन्, जुन यथार्थ हो । त्यसमाथि समाजमा बाहुन र क्षत्रीको बाहुल्यता बढी नै छ । बूढापाकाहरूको त झन् कुरै नगरौं ! दलित तथा तल्लो जातिले पकाएको खानासमेत खाँदैनन् । यस्तो जातीय छुवाछूतको क्रूरताको स्वरूप अत्यधिक मात्रामा गाउँगाउँमा देख्न सकिन्छ । गाउँतिर अझै पनि तल्लो जातिले छोएको पानीसमेत चल्दैन । उनीहरूले छोएको भाँडाकुडासमेत दोहो-याएर माझेर मात्र भित्र लाने गरिन्छ भने घरमा पस्न दिने कुरा त हामी सोच्न पनि सक्दैनौं । अझै पनि उपत्यकाको कुनै–कुनै ठाउँमा तल्लो जातिका मानिसहरूले पसलमा चिया पिएर भाँडा माझेर छोडेर गएको स्वयम् म आफैंले देखेको छु ।
बेलाबेलामा सामाजिक सञ्जालहरूमा जातीय छुवाछूत अर्थात् दलित जाति घरभित्र पसेको कारणले कुटपिट गरी घटना घटेको समाचारहरू पनि हामीले देखिराखेका हुन्छौ । अन्तरजातीय प्रेमविवाह गरेका कारण कैयौं दम्पती आफ्नै परिवारबाट समेत मारिएका छन् । दुःख त्यतिबेला बढी लाग्छ जब यस्तो व्यवहार पढेलेखेका व्यक्तिहरूले नै गर्ने गर्छन् । कहाँ गयो उनीहरूको मानसिकता ?
मानिसहरू अहिले पनि जात र धर्मका पछि लाग्ने गर्छन् । यसै सन्दर्भसँग सम्बन्धित उदाहरण साक्षात् मैले आफ्नै घरवरपरको परिसरमा देखेको छु । समाजमा देखाउनका लागि जातपातमा हामी विश्वास गर्दैनौ भन्दै हिँड्छन्, तर दलित जातिको घरमा भोजभतेर खान जानुपरेमा उनीहरूले पकाएको खाना शुद्ध हुँदैन भनेर अनेकौं बहाना बनाएर नखाई आउने गर्छन् । यदि खाइहालेमा कि त फलफूल खान्छन्, कि त खानाको विकल्पमा चिउरासँग सब्जीहरू खान्छन् । किनकि समाजमा यस्ता क्रूर सोच भएका मानिसहरू पनि छन्, जसले दलित जातिहरूले पकाएको भात अर्थात् खानालाई बिटुलो मान्ने गर्छन् । जबकि उनीहरूले खाने खाना पनि त्यही चामलको हो र सबैले खाने भात नै हो । अनि यहाँ मानिसहरू अन्यायको विरुद्धमा आवाज उठाउन डराउने गर्छन्, किनकि प्रहरी चौकी धाउन झन्झट हुने र यदि प्रहरीसामु आफू पीडित भएको उजुरी गरिहालेमा पनि ठूलै पहुँच भएका मानिसहरूले नातावाद र कृपावादजस्ता भनसुन गरी यस्ता घटनाहरूलाई लुकाउने गर्छन् । त्यसैले यस्तो सोचको अन्त्य हामी स्वयम् आफैंले आफ्नै घरबाट गर्नुपर्छ, तब मात्र राष्ट्र पूर्ण रूपमा स्वतन्त्र हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्