निजी क्षेत्रलाई पेट्रोलियम आपूर्ति गर्न दिनु पर्छ «

निजी क्षेत्रलाई पेट्रोलियम आपूर्ति गर्न दिनु पर्छ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपाय’ विषयक अन्तरक्रियामा बोल्दै उनले पेट्रोलियम पदार्थको आपूर्तिका लागि निजी क्षेत्रलाई अनुमति दिनुपर्ने बताएका हुन् ।
निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न दिएमा नेपाल आयल निगमसँग पनि मूल्यमा प्रतिस्पर्धा हुने र उपभोक्ताले कम मूल्यमा पाउन सक्ने उनले बताए । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले दिर्घकालीन योजना बनाउन लागेको उल्लेख गर्दै उनले भने, “पेट्रोलियम पदार्थको आपूर्तिमा निजी क्षेत्रको सहभागिता गराउन एउटा अथोरिटी बनाइदिने हो भने र उसले रेगुलेट गर्ने हो भने आपूर्तिकर्ताहरु आउँछन् र मूल्यमा प्रतिस्पर्धा सुरु हुन सक्छ ।”
यसैगरी, महासंघ अध्यक्ष शेखर गोल्छाले नेपालले कुल आयातको करिब १५ प्रतिशत इन्धन आयात गरिरहेको भन्दै यसको केही अंश प्रतिस्थापन गर्न सकिने बताए । “साथै मूल्य समायोजन गर्न सकिने सम्भावना पनि छ । हाल ७ हजार मेगावाट क्षमताका परियोजना निर्माणाधीन छन् र यस वर्षामा नै करिब ५ सय मेगावाट बिजुली बढी हुने देखिन्छ । आयोजना निर्माणलाई तिव्रता दिनुका साथै विद्युतीय उपकरणको उपयोग बढाउने योजना ल्याउनुपर्छ ।”
यसैगरी उनले भान्सामा प्रयोग हुने इलेक्ट्रिक सामानको आयातमा थप महशुल घटाउनुका साथै प्रयोग बढाउन वाणिज्य मन्त्रालय, उर्जा मन्त्रालय, विद्युत प्राधिकरण समेतको समन्वयमा कार्ययोजना निर्माण गर्न आग्रह पनि गरे । राजधानीको रिंगरोडभित्र, बाक्लो बस्ती भएका रिंगरोड बाहिर एवं तराईका जिल्लाहरुमा सफा टेम्पो एवं साना इलेक्ट्रिक सवारी साधनलाई सार्वजनिक यातायातको मुख्य साधनका रुपमा प्रयोग बढाउने तथा आयात भएर रोकिएका ठूला बस सञ्चालन गरिनुका साथै इलेक्ट्रिक रेल एवं सवारी साधनको प्रवद्र्धन गर्न पनि उनले आग्रह गरे । भारतले पेट्रोलियम पदार्थमा अन्तःशुल्क घटाएर इन्धनको मूल्य प्रतिलिटर ७ देखि ९ रुपैयाँ २५ पैसासम्म सस्तो बनाएको जानकारी दिँदै गोल्छाले नेपालमा पनि इन्धनमा लाग्दै आएको उच्च करको दर घटाउनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्