विश्व नर्स दिवस मनाउनुको महत्व
आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा प्रत्येक वर्ष मे १२ तारिखका दिन विश्वभरि नै नर्स दिवस मनाइन्छ । फ्लोरेन्स नाइटिङ्गेल, जसले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सेवा प्रदान गर्नुका साथै निःस्वार्थ भावनाका साथ बिरामीहरूको सेवा गरेकी थिइन् । त्यसैले यस अवसरलाई नर्सिङ क्षेत्रमा आधुनिक र व्यावसायिक नर्सिङ सेवाको नयाँ मोड पनि मानिन्छ । उनले सन् १८६० मा लन्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिङ कलेज पनि सञ्चालन गरेकी थिइन् ।
‘लेडी विथ दि ल्याम्प’ उपनामले परिचित फ्लोरेन्सको जन्म सन् १८२० मा ब्रिटेनमा भएको थियो । आफू तथा परिवारका सदस्यभन्दा माथि उठेर सधैँ बिरामीको सेवामा समर्पित हुने नर्सहरूको सम्मान गर्दै यो दिवस मनाइन्छ । जसरी हामी आमालाई जीवन प्रदान गर्नुभएकाले भगवान्को दर्जा दिने गर्छौं, त्यसरी नै हामीलाई पुनर्जन्म दिने अर्को महान् व्यक्तित्वलाई हामी डाक्टर/नर्स भन्ने गर्छौं । जसरी हामीलाई आमाले अनेकौं दुःखकष्टबाट बचाउने गर्नुहुन्छ, त्यसरी नै हामीलाई डाक्टर तथा नर्सहरूले पीडा तथा रोगहरूबाट बचाएर नयाँ जीवन दिने गर्नुहुन्छ । त्यसैले हाम्रो जीवनमा चिकित्सा क्षेत्रमा कार्यरत पेसाकर्मीहरूको ठूलो भूमिका तथा महत्व रहेको छ । जस्तोसुकै विषम परिस्थितिमा पनि आफ्नो कर्तव्य निष्ठाका साथ पालना गरी बिरामीहरूको सेवामा जुट्ने गर्नाले पनि उहाँहरूप्रति उच्च सम्मान प्रकट गरिन्छ ।
विगतका वर्षमा कोभिडले हामीलाई यति धेरै आक्रान्त पा-यो कि यस्तो विषम परिस्थितिमा पनि आफू कटिबद्ध भएर, आफ्नो सुरक्षाको पर्वाह नगरी सेवा प्रदान गर्नमा लागिपर्नुभएको सम्पूर्ण चिकित्सा सेवाकर्मीहरूको जति नै प्रशंसा गरे पनि कमै होला । त्यसैले विश्वव्यापी महामारी बनेको कोभिड–१९ को उपचारमा जोखिम मोलेर फ्रन्टलाइनमा खटिइरहेका नर्सहरूका कारणले पनि नर्स दिवसको महत्व अझै बढेको छ । त्यस्तो कठिन समयमा पनि आफ्नो स्वास्थ्य, घर परिवारको चिन्ता नगरी आफ्नो कर्तव्य निष्ठाका साथ पालना गरी बिरामीको सेवा गर्नमा तत्पर थिए र अहिले पनि छन् । त्यस समयमा हामी आफ्नैबाट डराएर परपर भाग्ने गथ्र्यौं भने यो सोचौं, डाक्टर तथा नर्सहरूलाई कस्तो अनुभव हुन्थ्यो होला ? अझै पनि कोरोनाको जोखिम यथावत् नै रहेको हुनाले बढी जोखिम फ्रन्टलाइनमा खट्ने कर्मचारीलाई नै बढी छ । त्यसैले नर्सको नेतृत्व गर्ने संस्था नेपाल नर्सिङ संघका पदाधिकारीहरूले दिवसको ‘सेलिब्रेसन’ गर्ने मात्र नभई उनीहरूको हकहितका लागि लड्नुपर्ने, नयाँ–नयाँ कार्यविधि तथा कार्ययोजनाहरू बनाई यस पेसामा संलग्न सम्पूर्ण कर्मचारीको हक सुरक्षित गर्नुका साथै भविष्य समेत सुनिश्चित गर्ने कार्यविधिहरू अपनाउनुपर्ने हो । तर, यहाँ जुनसुकै दिवस पनि लिखित र किताबमा मात्र सीमित छ ।
नेपालमा पनि विश्व नर्स दिवसको दिनमा विभिन्न मेडिकल कलेज र अस्पतालहरूमा कार्यरत नर्ससहित अन्य स्वास्थ्यकर्मीहरूको सहभागितामा अभियानमूलक कार्यक्रमहरू जस्तै वृद्धाश्रमलाई सहयोग गरेर, कार्यक्रममा नर्स दिवसको महत्व र नर्सहरूको जिम्मेवारीबारे सन्देशमूलक तथा जानकारीमूलक प्रस्तुतिहरूको प्रदर्शन गरेर, शुभकामना आदानप्रदान, नर्सिङ प्रतिज्ञा र शपथग्रहण गरेर, त्यसैगरी नर्सिङ विभागअन्तर्गत विभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफहरूका तर्फबाट कविता वाचन, गायन, नृत्यलगायतका विविध मनोञ्जनात्मक कायक्रमहरू पनि प्रस्तुत गरेर भव्य रूपले नर्स दिवस मनाउने गर्छन् । त्यस दिन सामाजिक सञ्जालभरि तस्बिर तथा भिडियोहरू राखिएको हामी देख्न सक्छौं । कुनै कुनै समयमा अस्पतालको लापरवाहीले गर्दा मानिसहरूले आफ्नो ज्यान गुमाएका समाचारहरू पनि सुन्नमा आइराखेको हुन्छ । तर, हामीले आफूमा सकारात्मक सोच अनि व्यवहारको अनुसरण गरी चिकित्सा पेसाको राम्रो पक्षलाई हेर्नुपर्छ । यसका साथै भविष्यमा उहाँहरूबाट यस्ता गल्तीहरू नहोस् भनी आफू र उहाँहरू सबैलाई सचेत गर्न र गराउन भने आवश्यक छ ।