निर्माण सामग्री अभावमा पुनर्निर्माण अलपत्र «

निर्माण सामग्री अभावमा पुनर्निर्माण अलपत्र

सिन्धुपाल्चोक – स्थायी आवास निर्माणका लागि आवश्यक सामग्री नपाउँदा पुनर्निर्माणमा बाधा भएको छ । स्थानीय बजारमा सहज रूपमा निर्माण सामग्री नपाएकै कारण जिल्लाका अधिकांश भूकम्पपीडितले आवास निर्माणको काम रोकेका छन् ।
भूकम्पपीडितका लागि पर्याप्त सामग्री भित्र्याउन नपाएका कारण बजारमा अभाव भएको व्यवसायीहरू बताउँछन् । निर्माण सामग्रीको भाउ दिनैपिच्छे फरक हुन थालेपछि व्यवसायीले सामग्री लुकाएको भूकम्पपीडितको आरोप छ । सामग्री अभावकै कारण जिल्लाका अधिकांशले घरको डीपीसीमात्रै गरेर छाडेका छन् ।
“परेको पैसा दिन्छु भन्दा पनि सामान छैन भनेर टार्छन्,” इन्द्रावती गाउँपालिका–१२ का सन्तबीर माझीले भने, “भाउ बढ्ने भएकाले सामान लुकाएको हुनसक्छ ।” अहिले एक बोरा सिमेन्टको साढे ११ सयसम्म पर्ने भए पनि आफूले भने नपाएको दुखेसो उनले पोखे । माझीले घरमा कामदार भए पनि सामग्री अभावकै कारण आवास निर्माण रोक्नुपरेको बताए ।
माझीको जस्तै समस्या चौतारा साँगाचोकगढी नगरपालिकाका बुद्धराम श्रेष्ठको छ । उनी पनि बनाउँदैको घर छाडेर सामग्रीको खोजीमा छन् । “महँगी पनि उस्तै बढेको रहेछ, तैपनि सामान पाइँदैन,” उनी भन्छन्, “सामान कहिले सहज रूपमा पाइएला भनेर कुर्नुपर्छ ।” उनले सिमेन्टमात्र नभई बालुवा र गिटी पनि अभाव भएको सुनाए ।
आवास निर्माणका लागि सिमेन्ट, छड, बालुवा, गिटीजस्ता निर्माण सामग्री अभाव र मूल्य वृद्धिले घर बनाउन थालेका भूकम्पपीडितहरू चपेटामा परेका छन् । सामान खोज्न दैनिक बजार धाउँदा पनि पर्याप्त सामान नपाएको उनीहरू गुनासो गर्छन् । “गाउँमा दाङबाट ल्याइएका कामदार त्यत्तिकै बसिरहेका छन्,” चौतारा साँगाचोकगढी नगरपालिका–४ का हरि सापकोटा भन्छन्, “उनीहरूलाई कामै नगरी ज्याला दिनुपर्ने बाध्यता आइपरेको छ ।” आफूले समयमै सामग्री लैजान नसकेकाले यो अवस्था आएको उनको भनाइ छ ।
दैनिक रूपमा सामग्री आए पनि मागलाई थेग्न नसक्दा सामग्री अभाव भएको हो । बजारमा मागको ४० प्रतिशतमात्र सामान आउन थालेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए । महँगो तिरेर पनि उपभोक्तालाई समयमा सामान उपलब्ध गराउन नसकेको श्रेष्ठ स्वीकार्छन् । “कम्पनीले नै मूल्य वृद्धि गराएको छ । भारतबाट कच्चा पदार्थ नआएको भन्दै कम्पनीले मूल्य वृद्धि गराएको छ, हामीले मागेजति सामग्री पनि पठाउँदैन,” उनले भने ।
तीन साताको बीचमा एक बोरा सिमेन्टमा मात्रै झण्डै डेढ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको उपभोक्ताले बताएका छन् । “छडको भाउ पनि बढेको छ,” अर्का व्यवसायी छत्र बिकले भने, “यो साता सिमेन्टको भाउ केही घट्ने संकेत भने छ ।” माग अत्यधिक भएकाले सामान ल्याएर उपभोक्तालाई दिन निकै गाह्रो भएको उनले बताए । बढेकै मूल्यमा पनि उपभोक्तालाई सामान उपलब्ध गराउन व्यवसायीले सकेका छैनन् ।
भूकम्पपछिको पुनर्निर्माणले गति लिएसँगै क्रसर व्यवसायीले गिट्टी र बालुवाको भाउसमेत ह्वात्तै बढाएका छन् । एक ट्रिप गिटी र बालुवामा चारदेखि पाँच हजार रुपैयाँ मूल्य बढेको उपभोक्ताको गुनासो छ । कृत्रिम अभाव सिर्जना गराएर भएपनि व्यवसायीले भाउ बढाउने गरेका छन् । पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिले जिल्लामा ७८ हजार पाँच सय ३७ परिवार लाभग्राही सूचीमा समावेश गरेको थियो । प्राधिकरणको तथ्यांकअनुसार हालसम्म दोस्रो किस्ताका लागि ३३ हजार ८ सय १६ परिवारको प्रमाणिकरण भएको छ ।

 किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्