भोटो जात्राको सुरुवात कसरी भयो ? «

भोटो जात्राको सुरुवात कसरी भयो ?


सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ । ललितपुरस्थित रातो मत्स्येन्द्रनाथको जात्राको सुरुवातमा सर्वप्रथम म्हेपिदों (हालको म्हेपी डाँडा) को माटोबाट श्री करुणामयको मूर्ति बनाई कलशमा रहेको भँवरारूपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रतिस्थापन गरिन्छ । विभिन्न तिथिमा विभिन्न किसिमका कर्म र कृत्य गरेपछि वैशाख कृष्ण प्रतिप्रदामा श्री करुणामयको न्हवं (स्नान) कार्य गरिन्छ ।
एकपटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए । ती ज्यापू वैद्यले नागको अनुरोध स्विकारे । दुवै टौदह पुगे । वैद्यले नागिनीका आँखामा मल्हम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नागनागिनी ज्यादै खुशी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए ।
सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङफस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् । पाटनमा त्यसअघि मच्छिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपु-याउँदा उपत्यकावासी र भूतप्रेतहरू पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते ।
उनले भूतसँग आफ्नो भोटो मागे । भूतले दिन मानेन । दुवैका बीच ठूलो झगडा भयो । राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए । वैद्यले राजासामु ‘महाराज ! मलाई कर्कोटक नागले दिएको भोटो यसले चो-यो’ भने । भूतले भोटो मकैबारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुन्जेल त्यो भोटो नासोका रूपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ । प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्कोट नागलाई भेटे । नागले आफू पनि मान्छेको रूप लिई सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । “म आउँदा हुरी चल्नेछ । म अरूभन्दा अग्लो पनि देखिने छु”, कर्कोटक नागले भने ।
त्यस समय जावलाखेलमा मच्छिन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आस लिएर बेलैमा जावलाखेल आए । राजा गुणकामदेव पनि त्यहाँ आए । एकछिन हुरी चल्यो, तर वैद्यले हूलमा अरूभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मच्छिन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए । तर, साक्षी प्रमाणहसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझसम्म नेपालमा रहिआएको छ । यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । यस जात्रा हेर्न काठमाडौं उपत्यकाका तीनै सहरबाट श्रद्धालु भक्तजन पाटन आउने चलन छ ।

प्रतिक्रिया दिनुहोस्