ओलानीको घरघरमा खानेपानी

धनगढी-कुनै बेला पानीकै हाहाकार हुने ओलानीका घरघरमा खानेपानी पुगेको छ । गोदावरी नगरपालिकाको वडा नम्बर १०, ११ र १२ मा पर्ने ओलानीमा विगत चार महिनादेखि निरन्तर खानेपानी आपूर्ति भइरहेको हो । वडा नम्बर ११, कृष्णमन्दिर टोलकी पार्वती विकले चार महिनादेखि पानी पिउनका लागि आनन्द भएको बताइन् । “पानी पिउन मन लागे गिलास थाप्छु, मजाले पिउँछु,” उनले भनिन्, “कसैले केही भन्दैन । कसैको कुरा पनि सुन्न पर्दैन ।”
ओलानीमा चार महिना अघिसम्म पानीका लागि टोलटोलमा हानथाप हुन्थ्यो । टोलभरिका लागि दिनमा एक पटकमात्रै पानी आउने धारा हुन्थ्यो । त्यही धारामा महिलाहरू पानी कुरेर बस्थे । पानी आएपछि तँछाड मछाड गर्दै पानी भर्थे । पानी भर्ने क्रममा भनाभन पनि हुन्थ्यो । “एक दुई गाग्री पानीका लागि टोलभरिका दिदीबहिनीसँग झगडा भइराख्थ्यो,” पार्वतीले ती दिन सम्झिइन्, “सधैंको कचकचले दिक्क बनाइसकेको थियो । अहिले त्यो दिक्दारी पनि छैन । पानी पिउन पाउँदैन कि भन्ने पिर पनि छैन ।”
गोदावरी नगरपालिका–११, वीरेन्द्रपुरमा ८ सय परिवारलाई धान्ने गरी गोदावरी खानेपानी योजना र सोही वडाको लिउसन टोलमा तारा खानेपानी योजना निर्माण भएपनि ओलानीका बासिन्दा घरघरमा पानी पुगेको हो । प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गोदावरी नगरपालिका र विभिन्न दातृ संस्थाको सहयोगमा वडा कार्यलयमार्फत् खानेपानी योजना निर्माण भएको थियो । वडा नम्बर ११ का निवर्तमान वडाध्यक्ष शिव विकले सबै वडाबासीलाई शुद्ध खानेपानी पु-याउने लक्ष्य पूरा भएको बताए ।
खानेपानीकै अभावका कारण ओलानी क्षेत्र अपहेलित भएको स्थानीय शिक्षक कृष्णबहादुर विकले सम्झिन्छन् । उनले खानेपानी नभएकै कारण ओलानीमा चेलिबेटीको विवाह गरेर पठाउन नमान्ने भएको थियो । खानेपानीका धारा घरघरमा पुगेर पानी आउन थालेपछि ती समस्या पनि टरेको शिक्षक कृष्णले बताए । उनले तत्कालीन गोदावरी गाविसमा पर्ने ओलानी क्षेत्रका हरेक घरमा खानेपानीको धारा पुगेर निरन्तर पानी आइरहेकोले यहाँका नागरिक खुसी भएको जनाए ।
गोदावरी नगरपालिकाको वडा नम्बर १० मा १२ सय, ११ मा एक हजार र १२ मा ११ सय घरधुरीको बसोबास छ । ती सबै परिवारमा खानेपानी पुगेको गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तथा वडा नं. १२ का वडा अध्यक्षका उम्मेदवार कृष्ण विकले बताए ।