Logo

श्रमिक दिवसको सार्थकता

प्रत्येक वर्ष वैशाख महिनामा अर्थात् मे १ तारिकका दिन विश्वभरि नै श्रमिक दिवस भव्य रूपमा मनाइने गरिन्छ । श्रमिकले पाउने सेवासुविधा र हक–अधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वको श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसैले विश्वका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिने गर्छन् । यस पर्ष पनि मे १ तारिकमा विश्वभर यो दिवश मनाइयो ।
तर, मजदुरका समस्या ज्यूँका त्यूँ छन् ।
पुँजीपति वर्गद्वारा मजदुरलाई मेसिनझंै चौबीसै घण्टा काममा लगाउने र अत्यन्त न्यून पारिश्रमिक दिई अमानवीय व्यवहार गर्ने परिपाटीका विरुद्ध सङ्गठित भएको ट्रेड युनियन आन्दोलनलाई मे दिवसका दिन विशेष चर्चा गर्ने गरिन्छ । नेपालमा पनि २००७ सालमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यस दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । तर, जुन उद्देश्यले श्रमिक दिवस मनाउन थालिएको हो, त्यस उद्देश्यलाई मूर्त रूप दिने कोसिस नगरी, सार्वजनिक बिदामा मात्र सीमित भएको हुनाले यसले सार्थकता पाएको छ जस्तो मलाई लाग्दैन । नेपालमा अझै पनि मजदुरको हक–अधिकारका लागि कसैले आवाज उठाएर उनीहरूको पक्षमा कसैले बोलेको छ जस्तो लाग्दैन । अझै पनि नेपालमा बालमजदुर अर्थात् बालबालिकालाई काममा लगाई उनीहरूको शोषण गरिराखेको समाचारहरू बेलाबेलामा सामाजिक सञ्जालहरूमार्फत देख्नमा र सुन्नमा आइराखेको छ । प्रायःजसो सामान्य खाजाघरहरूमा खाजा खाने क्रममा जाँदा स्वयम् मैले नै अधिकांश बालबालिकाहरूले सेवा दिइराखेको देखेकी छु । इँटाभट्टादेखि ठूलाठूला व्यापारिक केन्द्रहरूमा पनि बालबालिकालाई काम गर्न लगाइएको हामी देख्न सक्छौं ।
सरकारले श्रमिक दिवसको दिन बिदा दिने मात्र हैन कि अनाथ, टुहुरा बालबालिकाहरूको हकहितका साथसाथै राम्रो बसोबास अनि शिक्षादीक्षा दिने प्रबन्ध गरिदिए श्रमिक दिवसको गरिमा अझै बढ्ने थियो होला । किनकि सबै प्रकारका श्रमिकको हक–अधिकार सुरक्षित गरिनुपर्छ । श्रमिक अधिकारको व्यवस्था नेपालको संविधानमा समेत समावेश छ भनेर नारा लगाएर, बिदा मनाएर, रमाइलो गरेर मात्र यसको उद्देश्य पूरा हँुदैन । त्यसमाथि नेपालको परिप्रेक्ष्यमा ‘बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ भनेझैँ जसले अन्यायको विरोधमा आफ्नो हकहितका लागि आवाज उठाउँछ उसैले आफ्नो अधिकार प्राप्त गर्छ । यस्ता व्यक्तित्वलाई संस्थाले कि त संस्थाबाट नै खारेजी गर्ने गर्छ, कि त उसलाई दिने सेवासुविधा अन्यबाट गोप्य राख्ने गर्छन् । सरकारले प्रतिभाशाली युवाहरूका लागि रोजगारीमूलक तालिम सेवा प्रदान गरी रोजगारीको सिर्जना गरेदेखि देशका युवाहरू विदेश पलायन हुनुपर्ने अवस्था आउने थिएन । आफ्नो राष्ट्रसँग भएको स्रोत तथा साधनको सदुपयोग गरी युवा पलायन हुनबाट जोगाउन सकिन्छ । आफ्नो रगत, पसिना र श्रम बेचेर मेहनतको कमाइ खाने श्रमिकको पर्वका रूपमा रहेको श्रमिक दिवस श्रमिकको हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रूपमा बुलन्द गरी विश्वभरका श्रमिकलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने र सम्पूर्ण श्रमिकको एकता, वीरता र संघर्षको प्रतीक मानिने हुनाले हामीले नयाँ–नयाँ कार्ययोजनाहरू बनाई त्यसलाई पूर्णता दिने कोसिस गर्नुपर्छ । तर, यी सबै कुरा लिखितमा मात्र सीमित रह्यो ।

प्रतिक्रिया दिनुहोस्