Logo

महानगरपालिकाले बक्यौता उठाउन सकेन

पोखरा महानगरपालिकाले पोखराको सोलार पोलमा राखिने प्रचार सामग्रीको रोयल्टी तथा विज्ञापन करवापतको ३१ लाख रुपैयाँ दुई वर्षदेखि उठाउन सकेको छैन् । पोखरा जिरोकिलोमिटरदेखि हल्लनचोकसम्मका ७४ वटा सोलार पोलमा राखिने प्रचार सामग्रीको रोयल्टी तथा विज्ञापन करवापतको ३१ लाख ९ हजार २ सय रुपैयाँ दुई वर्षसम्म पनि उठाउन नसकेको हो ।
२०७३ साल फागुन २३ गते महानगरले पोखरा उद्योग वाणिज्य संघसँग ५ वर्षका लागि वार्षिक १५ लाख ९ हजार ६ सय रुपैयाँ लिने गरी सम्झौता गरेको थियो । संघसँग महानगरले सम्झौता गरेको ४ दिनपछि २०७३ फागुन २७ गते संघले छाया एड्भरटाइजिङ कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता पत्रमा उल्लेख भएअनुसार आधुनिक प्रविधिको ३ फिट लम्बाइ र २ फिट चौडाइको स्लिम लाइट बोर्ड दोस्रो पक्षले राख्ने तर उक्त बोर्डभन्दा फरक राख्नु परेमा महानगरसँग अनुमति लिनुपर्नेछ । सरकारी विज्ञापन र कल्याणकारी सूचनाका लागि १५ प्रतिशत स्थान राख्नुपर्नेछ जुन सूचना राख्दा महानगरको सिफारिसमा राख्नुपर्ने सम्भौता पत्रमा जनाइएको छ । उक्त पोलको प्रतिवर्ष रोयल्टीवापत २० हजार ४ सयका दरले र विज्ञापन करवापतको प्रतिवर्गफिट ७५ का दरले शुल्क तिर्नुपर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । व्यानरको हकमा भने प्रतिव्यानर प्रतिसाता एक सय रुपैयाँ शुल्क लाग्ने सम्झौता पत्रमा उल्लेख छ ।
यस विषयमा पोखरा महानगरापालिकाका प्रमुख कर अधिकृत छविलाल शर्माले संघसँग गरेको सम्झौताअनुसार दुई वर्षदेखिको रोयल्टीवापतको रकम लिने बताए । पोखरा महानगरापालिकाका प्रवक्ता धनबहादुर नेपालीले महानगरसँग गरेको सम्झौताअनुसार कुनै पनि संघ संस्थाले दिनुपर्ने रकम तिर्नुपर्ने बताउँदै यस विषयमा संघसँग छलफल गर्ने जनाए । सम्झौता कार्यान्वयन गर्न पोखरा उद्योग वाणिज्य संघलाई गत वर्ष महानगरले पत्रसमेत लेखेको उनले जनाए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले महानगरसँग सम्झौता भएको दुई वर्ष भए पनि आफूहरूले सोलार पोलमा विज्ञापन भने नगरेकोले यस विषयमा महानगरले आफूसँग कुनै रकम नमागेको बताए । उनले भने, “यस विषयमा महानगरले हामीलाई केही भनेको छैन तर बाहिर यस्तो कुरा कहाँबाट आयो ।”
उक्त सम्झौता गर्दा महानगरबाट कार्यकारी अधिकृत नवराज ढुंगाना, संघबाट तत्कालीन संघका अध्यक्ष विश्वशंकर पालिखेले दस्तखत गरेका थिए ।
यसैबीच महानगरले पोखरा क्षेत्रमा रहेका २ हजार ८८ वटा सोलार पोलमा स्लिम लाइट बोर्ड राखी विज्ञापन गर्ने ठेक्कासमेत दिएको छ । ललितपुर महानगर २ मा रहेको नेपाल मिडिया टेक्नोलोजीलाई २०७५ फागुन ३० देखि लागू हुनेगरी ५ वर्षका लागि ५ करोड ६७ लाखमा सम्झौता गरेको महानगरका प्रमुख कर अधिकृत छविलाल शर्माले बताए । उक्त कम्पनीले पोखराका करिब ५७ वटा स्थानमा महानगरले दिएको निर्देशन पालन गरी १० किस्ता ६÷६ महिनामा ५६ लाख ७० हजार बुझाउनु पर्ने सम्भौता पत्रमा उल्लेख गरिएको छ । प्रथम किस्तावापत उक्त कम्पनीले महानगरमा ५६ लाख ७० हजार बुझाइसकेको शर्माले जनाए ।

प्रतिक्रिया दिनुहोस्