बिमा कम्पनीको व्यवसाय बढोस् भन्ने समितिको चाहना

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बिमकको हितमा पुँजी वृद्धिको निर्णय भएकाले एक वर्षभित्र बिमा कम्पनीहरुले चुक्ता पुंजी बढाउनै पर्ने बताएका छन् । बिमकको पुँजी वृद्धि सम्बन्धी अन्तरक्रियामा अध्यक्ष सिलवालले बिमाको पुँज बढोस् भन्ने समितिको चाहना रहेको बताए । “बिमा समितिले बिमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पुँजी वृद्धिको निर्णय गरेको हो” उनले भने, “बिमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो । बिमा कम्पनीले एक वर्षभित्र चुक्ता पुँजी बढाउनै पर्छ । त्यसमा सहजीकरण गर्न बिमा समिति तयार छ ।”
पुँजी बढाउन सक्ने बिमा कम्पनीले बढाउनुपर्ने र नसक्नेले विकल्पहरु खोज्नुपर्ने उल्लेख गर्दै उनले भने, “मर्जरको कुरा बिमा कम्पनीहरुबाटै आएको हो, बिमा समितिले मर्जरमा जान दबाब दिएको छैन, समितिले त मर्जरमा जान बाटो खोलिदिएको मात्र हो । समितिले जारी गरेको जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशिका आगामी २०८१ सालदेखि पूर्णरुपमा लागू हुन्छ र त्यसका लागि पनि थप पुँजी आवश्यक पर्नसक्छ ।”
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले तोकिएको एक महिनाको अवधिमा करिव करिव सबै बिमा कम्पनीबाट पुँजी वृद्धिको योजना समितिमा प्राप्त भइसकेको बताए । उनले पुँजी वृद्धिका लागि कतिपयले हकप्रद सेयर, कतिपयले बोनश सेयर, कतिपयले मर्जर र कतिपयले समयावधि थपको विषय योजना समावेश गरेको जानकारी दिए ।
कार्यकारी निर्देशक पौडेलले बिमा कम्पनीको संख्या धेरै भएपनि बिमाप्रतिको विश्वसनीयता बढ्न नसकेको र दाबी भुक्तानीमा समस्या देखिएको औंल्याए । उनले बिमा बजारलाई मर्यादित, सुशासित र दीगो बनाउने उद्देश्यले पुँजी वृद्धिको निर्णय भएको बताए ।
कार्यक्रममा बिमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पँगेनीले बीमकको पुँजी वृद्धि सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।