एनएमबी बैंकलाई इक्रा एनपी आइआरको ‘ए’ रेटिङ

इक्रा नेपालले एनएमबी बैंकको विगतको रेटिङलाई स्तरवृद्धि गरी इक्रा एनपी आइआर ‘ए’ रेटिङ प्रदान गरेको छ ।
यो रेटिङ प्राप्त गर्ने संस्थाहरू समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरूमा न्यून कर्जा जोखिम रहेको बुझिन्छ । इक्रा नेपाल लिमिटेड भारतस्थित इक्रा लिमिटेड अफ इन्डियाको सहायक कम्पनीको रुपमा नेपालमा दर्ता भएको नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त नेपालको पहिलो रेटिङ ऐजेन्सी हो ।
विगतका वर्षमा विभिन्न संस्थासँग भएको मर्जर तथा प्राप्तीको सकारात्मक प्रभाव, सो पश्चात बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जालको कारण देशव्यापी रुपमा बैंकका ग्राहकको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ ।
यसबाट बैंकको बजार हिस्सामा भएको वृद्धि, पुँजीगत पर्याप्तता तथा तरलताको सहज व्यवस्थापनका कारण बैंकको कर्जा तथा तरलताको क्षेत्रमा देखिएको जोखिम व्यवस्थापन गर्न सक्ने क्षमता, कर्जामा भएको विविधता, साना तथा मझौला कर्जामा भएको वृद्धि, बैंकको सकारात्मक विगत, असल स्वामित्व तथा कुशल र अनुभवि व्यवस्थापन समेतका आधारमा इक्रा नेपालले बैंकलाई यस अघि प्रदान रेटिङमा स्तरवृद्धि गर्दै इक्रा एनपी आइआर ए रेटिङ प्रदान गरेको हो ।
कोभिड–१९ को असरको कारणले देशको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहेको समयमा समेत बैंकको परिसूचकमा देखिएको उल्लेखित सुधारले गर्दा यो स्तर वृद्धि सम्भव भएको बैंकले जनाएको छ ।