Logo

कीर्तिपुरमा वाणिज्य विभागको बजार अनुगमन

आन्तरिक राजस्व कार्यालय कालीमाटीले कीर्तिपुर नगरपालिकाको नयाँ बजार क्षेत्रमा बजार अनुगमन गरेको छ ।
कर परीक्षण तथा अनुसन्धान अधिकृतसहितको टोलीले ७० व्यवसायको अनुगमन गरेको हो । सो क्रममा विल विजक काट्ने नगरेको, कर पाटी नराखेको, खाता नराखेको लगायत कर कानुन पालना नगरेका १० जना करदातालाई आयकर तथा मूल्य अभिवृद्धि कर ऐनको प्रावधान अनुसार जरीवाना गरिएको आन्तरिक राजस्व कार्यालय कालीमाटीले जनाएको छ ।
व्यवसाय सञ्चालन गरी रहेका तर स्थायी लेखा नम्बर नलिएका केही करदातालाई दर्ता हुन पत्राचार गरीएको कर अधिकृत नेत्रप्रसाद घिमिरेले बताएका छन् ।
अनुगमनको क्रममा करदाता शिक्षा चाहिएको भनी माग भएको सन्दर्भमा नयाँ करदाताको हकमा मासिक रुपमा नियमित करदाता शिक्षा कार्यक्रम सञ्चालन हुने गरेको बताइएको छ । स्थानीय स्तरमा कुनै विशेष प्रकृतिको करदाता शिक्षा आवश्यक परे विभिन्न संघ संस्थामार्फत माग गर्ने र मागमा आधारित प्रकृतिको करदाता शिक्षा स्थानीय स्तरमा प्रदान गरिने आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
करदाताले व्यवसाय गर्नुपूर्व नियमानुसार दर्ता गरेर मात्र कारोबार गर्न, कारोबारको लेखा र विल विजक नियमानुसार काट्न, कारोबार स्थलमा व्यवसायको स्थायी लेखा दर्ता प्रमाण पत्र, करपाटी देखिने गरी राख्ने कानुनको परिपालना गर्न कर अधिकृतहरुले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्