अधिकांश बिमा कम्पनीले बुझाए पुँजी वृद्धि योजना

बिमा समितिले एक महिनाको समय दिएर बिमा कम्पनीहरुलाई पुँजी वृद्धि योजना पेश गर्न दिएको समय सकिँदा अधिकांश बिमा कम्पनीले आफ्नो योजना नियामक निकायलाई बुझाएका छन् । गएको १० चैतमा बमा समितिले जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पु-याउने निर्णय गरेको थियो । साथै, उक्त पुँजी वृद्धिको योजना समितिमा पेश गर्न एक महिना समय तोकेको थियो । समितिले बिमा कम्पनीहरुलाई चुक्ता पुँजी बढाउने समय २०७९ साल चैत मसान्तसम्म तोकेको छ ।
तोकिएको समयभित्र अधिकांश बिमा कम्पनीले आफ्नो पुँजी वृद्धि योजना पेश गरेको बिमा समितिका अध्यक्ष सूर्य सिलवालले बताए । अन्तिम दिन १० गते शनिबार परेकोले आइतबार अधिकांश बिमा कम्पनीले आफ्नो पुँजी वृद्धि योजना समितिमा बुझाएको उनले बताए । केही बिमा कम्पनीले शुक्रबारै पुँजी वृद्धि योजना बुझाइसकेका थिए । बाँकीले आइतबार बुझाउका हुन् ।
अध्यक्ष सिलवालका अनुसार सोमबार बिमा कम्पनीहरुको पुँजी वृद्धि योजना हेरेर निर्णय गरिनेछ । बिमा कम्पनीहरुले आफ्नो पुँजी दोब्बरभन्दा बढी बनाउनुपर्ने भएका कारण क्षमता भएका कम्पनीले बोनस सेयर दिएर, क्षमता नभएकाले भने हकप्रद र मर्जरबाट समेत पुँजी वृद्धि गर्ने मोटामोटी योजना ल्याएको भए पनि विस्तृत अध्ययन भने सामेबार हुने उनको भनाइ छ ।
बिमा समितिले भने सकेसम्म मर्जरबाट चुक्ता पुँजी वृद्धि गरोस् भन्ने चाहना राखेको छ । मर्जरमा गएर बिमा कम्पनीहरु घट्दा अर्थतन्त्रलाई राम्रै हुन्छ भने समितिको सोचाइ रहेको छ । तर, समितिले सबै बिमा कम्पनीहरुको पुँजी वृद्धि योजनालाई अध्ययन गरेपछि मात्र एउटा नीति बनाएर आधिकारिक धारणा बनाउने छ । धेरैजसो बिमा कम्पनीले मर्जरभन्दा पनि हकप्रदबाट पुँजी वृद्धि गर्ने योजना राखेको भए पनि बिमा समिति भने सकेसम्म हकप्रद सेयर निष्काशन गर्न नदिने तर मर्जरमा जाउन् भन्ने चाहना राखेको छ ।
हाल २० वटा निर्जीवन र १९ वटा जीवन बिमा कम्पनी छन् । जीवन बिमा कम्पनीमध्ये नेपाल लाइफको मात्रै समितिले तोकेको चुक्ता पुँजी पुग्छ । त्यसपछि नेसनल लाइफ इन्स्योरेन्सलाई पनि चुक्ता पुँजी पु¥याउन धेरै गाह्रो छैन तर, अन्य जीवन बिमा कम्पनीलाई भने चुक्ता पुँजी दोब्बर बनाउन समय लाग्ने देखिन्छ । बिमा समितिले समय तथा विधिमा लचकता अपनाइदिए बिमा कम्पनीहरु आफ्नो चुक्ता पुँजीदोब्बर बनाउन सक्ने एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । तर, बिमा समिति पुँजी वृद्धि योजनाप्रति कठोर नै हुने संकेत भएका कारण यसै हुन्छ भन्न नसक्ने अवस्था रहेको ती कार्यकारी अधिकृतको भनाइ छ ।
यसअघि बिमा समितिले बीमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका २०७३ जारी गर्दै २०७४-०७५ को अन्त्यसम्म सबै बिमा कम्पनीहरुलाई तोकिएको पुँजी पु-याउन निर्देशन दिएको थियो । निर्देशिकाअनुसार निर्जीवन बिमा कम्पनीले एक अर्ब र जीवन बिमा कम्पनीले दुई अर्ब रुपैयाँ चुक्ता पुँजी पु-याउनु पर्ने थियो । आर्थिक वर्ष २०७४-०७५ सम्म पुँजी जुटाउन नसक्ने कम्पनीका लागि पुँजी पु-याउन समितिले पटक पटक समय थप गरेको भए पनि अझै पनि सञ्चालनमा आएका केहि नयाँ जीवन बिमा कम्पनी र सरकारी स्वामित्वमा रहेका दुई बिमा कम्पनीको उक्त चुक्ता पुँजी कायम गर्न सकेका छैनन् ।