भारततर्फ पेट्रोलियम पदार्थको अवैध निकासी «

भारततर्फ पेट्रोलियम पदार्थको अवैध निकासी

नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको अवैध निकासी बढेको छ । नेपालमा भन्दा भारतमा इन्धनको मूल्य महँगो भएकाले अवैध निकासी बढेको हो । भारतबाट सामान लिएर आउने ट्रकहरूबाट नै अवैध निकासी भरहेको बताइएको छ । भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र नवलपरासीका सिमावर्ती नाकाबाट यसको अवैध निकासी हुने गरेको हो । सवारी साधनमा मात्र नभई ग्यालेनमा लगेर समेत सिमावर्ती भारतीय बजारमा बिक्री गर्ने र त्यहाँ प्रयोग गर्ने क्रम बढेको हो ।
भारतसँग सिमाना नजिक रहेका ग्रामीण क्षेत्रका पेट्रोल पम्पबाट ग्यालेन भरेर व्यक्तिले र सहरमा रहेका पेट्रोल पम्पबाट नेपालमा सामान ढुवानी गरी फर्केका रित्ता भारतीय मालवाहक ट्रक तथा सवारी साधनले ट्यांकी पूरै भरेर फर्कने गरेका छन् ।
“समान खालका वस्तुको मूल्यमा परिवर्तन हुनासाथ सिमावर्ती बजारमा यसको असर पर्ने गर्छ,” रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालय प्रमुख अशोक साहले भने, “मूल्य फरकले गर्दा हुने पेट्रोलियम पदार्थको अवैध निकासी नियन्त्रण गर्न स्थानीय प्रशासनसमक्ष आग्रह गरेका छौं ।” कुनैपनि पम्पमा पेट्रोलियम पदार्थ भर्न आएको स्वदेशी तथा विदेशी गाडीलाई माग गरेअनुरुपको इन्धन उपलब्ध गराउन अस्विकार गर्न नपाइने प्रावधानले गर्दा यसको नियन्त्रण गर्न समस्या हुने गरेको उनले बताए ।
उनका अनुसार पेट्रोलियम पदार्थ भारतमा भन्दा नेपालमा सस्तो भएपछि भारततर्फ ठूलो परिमाणमा अवैध निकासी हुन नदिन भारततर्फ फर्किने ठूला मालवाहक गाडीलाई ५० लिटरमात्रै उपलब्ध गराउने निर्णय पुस ३० गते गरी यसको अनुगमन तथा कारबाहीका लागि तीनवटै जिल्लाका प्रशासन कार्यालयमा आग्रह गरिएको छ ।
नेपालमा भन्दा सिमावर्ती भारतीय बजारमा यतिबेला पेट्रोलमा प्रतिलिटर १८ र डिजेलमा ३२ रुपैयाँ महँगो छ । नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ ५० पैसा र डिजेलको ७९ रुपैयाँ ७ पैसा कायम छ भने भारतमा पेट्रोल प्रतिलिटर १ सय १९ रुपैयाँ र डिजेल १ सय २ रुपैयाँ मूल्य छ । भैरहवा नाकाबाटमात्रै दैनिक २ सय ५० भन्दा धेरै भारतीय मालवाहक गाडी नेपाल भित्रिने गर्छन् । सुविधा काटेर नपालको नजिकको बजारसम्म आउने भारतीय साना गाडी तथा मोटरसाइकलको संख्या हजारौं छ । एउटा मालवाहक गाडीको ट्यांकीको क्षमता २ सय ५० देखि ५ सय लिटरसम्म अट्छ । भारतीय मालवाहक गाडीले नेपालको सबै सहरमा ढुवानी गर्ने गर्छन् । भारततर्फ रित्तो फर्केका यस्ता गाडीलाई आफ्नो पम्पको बिक्री बढ्ने कारणले नेपालका अधिकांश पम्पवालाले मागे जतिको इन्धन दिने गर्छन् । कुनै पम्पवालाले ५० लिटरमात्रै उपलब्ध गराएपनि गाडीवालाले ४–५ वटा पम्पमा भरेर फर्किदा ट्यांकी भर्ने गर्छन् । कुन पम्पमा कुनले कति परिमाणमा इन्धन भरे ? भन्ने वारेमा र फर्केका गाडीको ट्यांकी हेर्न आवश्यकता अनुरुपको जनशक्ति छैन ।
आयल निगमका क्षेत्रीय प्रमुख साहले तीन जिल्लाको सिमावर्ती क्षेत्रका पेट्रोलियम बिक्रेताले साविकमा भन्दा बिक्री बढी भएकाले २५ देखि ३० प्रतिशत माग बढेको बताए । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले यसबारेमा अनुगमन गर्न प्रहरीलाई निर्देशन दिईएको र हालसम्म अवेध निकासी भएको सूचना नआएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्