मेलम्चीको पानी ११ वैशाखबाट घरघरमा «

मेलम्चीको पानी ११ वैशाखबाट घरघरमा

चुहावट नियन्त्रणमा लाग्न केयूकेएललाई मन्त्रीको निर्देशन
खानेपानीमन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका १० वटै रिजर्भ पानी टैंकीबाट समानुपातिक ढंगले खानेपानी वितरणको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रमा कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै यस्तो बताएका हुन् । गत चैत २९ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स क्षेत्रको वैकल्पिक सुरुङबाट पानी पथान्तरण गरेपछि मंगलबार सुरुङको पानी सुन्दरीजल आइसकेपछि मन्त्री चौधरीले पानी प्रशोधन केन्द्रमै समस्या र समाधानका विषयमा सम्वद्ध निकायका प्रमुख र सरोकारवालालाई यस्तो निर्देशन दिएका हुन् ।
यही वैशाख ११ गते काठमाडौं उपत्यकाका नागरिकका घरको धारामा पानी आउनु पर्छ, कुनै बहाना वा कारण देखाएर रोक्न मिल्दैन,” मन्त्री चौधरीले भने, “पानी वितरणका लागि धेरै वटा कमिटी बनाएर जिम्मेवारीबाट भाग्ने बहाना काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्न पाउँदैन ।”
उनले काठमाडौंको कुनै ठाउँमा पुरानो र मेलम्चीको नयाँ धारामा गाडी धुने गरी पानी आउने र कुनै नागरिकको घरमा पिउनका लागि एउटा पनि धाराबाट पानी नआउने अवस्था नबनाउन आग्रह गरे । ४० प्रतिशतसम्म खानेपानीको चुहावट हुने गरेको विवरण सुन्दा आफूलाई अचम्म लागेको भन्दै मन्त्री चौधरीले चुहावट नियन्त्रण गर्न र पानीको शुल्क उठाउन केयूकेएललाई निर्देशन दिए ।
मन्त्री चौधरीको प्रश्न थियो, ‘मेलम्चीको पानी काठमाडौं बासीले प्रयोग गरेवापत शुल्क लिने हो भने आफूहरूलाई शुल्कको २५ प्रतिशत आम्दानी स्थानीय हेलम्बु गाउँपालिकाले मागिरहेको अवस्थामा शुल्क उठाउने कुरामा केयूकेएलले किन प्रगति गर्न सकेन ?
एसियाली विकास बैंक (एडीबी) ले समेत केयूकेएलको व्यवस्थापन राम्रो नभएको भनेर आफूसँग गुनासो गरेको मन्त्री चौधरीले बताए । उनले वर्षायाममा मेलम्ची नदीमा पुनः बाढी आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी बाढीको पूर्वसूचना दिने प्रणालीको विकास गर्न साइरन जडान गर्नु पर्नेमा जोड दिए । उनले आयोजनाका पुराना गेटलाई हटाएर नयाँ हाईड्रोलिक गेट हाल्न पनि निर्देशन दिए ।
खानेपानी सचिव सुरेश आचार्यले मेलम्चीको पानी उपत्यकामा समानुपातिक ढंगले वितरणका लागि पूर्वतयारी गर्नुपर्ने भन्दै चुहावट नियन्त्रणमा विशेष सतर्क हुनुपर्ने बताए । खानेपानी मन्त्रालयका सहसचिव तिरेशप्रसाद खत्रीले १७ करोड लिटर पानी उपत्यकामा थप वितरण गरिने बताए ।
आगामी आइतबारदेखि केयूकेएलले महाँकालचौर, मिनभवन, अनामनगर, बाँसबारी, महाराजगंज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमीको तिगेरी र कटुन्जे रिजर्भवेर टैंकबाट पानी वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्