Logo

तमोर नदीको पुलको पिल्लरमा रड निस्कियो

तेह्रथुमको आठराई गाउपालिका र पाँचथरको फिदिम नगरपालिका जोड्ने तमोर नदीमा निर्मित पक्की पुल सञ्चालन भएको पाँच वर्ष नबित्दै पिल्लरको रड निस्कन थालेको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने तमोर नदीमा लगाएको मोटरेबल पुलको पिल्लरको सिमेन्ट उक्किएर रड निस्किन थालेको हो ।
तमोर नदीको माझिटारमा रहेको २ सय मिटर लामो पुलको पिल्लरमा रड निस्किएपछि सो पुलबाट यात्रा गर्न जोखिमपूर्ण बन्न थालेको छ । नदीमा पानीको बहाव घटेको बेलामा तेह्रथुमपट्टि रहेको पिल्लरको ढलान उक्किएर रड देखिन थालेको हो । निर्माण भएको केही समय नबित्दै मोटरेबल पुलको पिल्लरमा रड निक्लन थाल्नु प्राविधिकको कमजोरी भएको टीआर लिम्बुले बताए ।
दैनिक सयौंको संख्यामा साना तथा मालवाहक सवारी साधन चल्ने पुलको पिल्लरको ढलान भत्किएर रड देखिन थालेको ६ महिनाभन्दा बढी हुन लाग्दा पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सडक डिभिजन कार्यालयले समेत यसमा ध्यान दिएको देखिँदैन । यस विषयमा समयमा नै सम्बन्धित निकायको ध्यान जानुपर्ने नागरिक समाजका प्रतिनिधि खगेन्द्र सापकोटाले बताए ।
२०७० सालमा निर्माण सम्पन्न भएको पुलको ६ स्न्याप आरसीसी र ५० मिटरको एक स्न्याप ट्रस्ट रहेको छ । पुल लामा र सपना कन्ट्रक्सन जेबीले २०६६ सालमा निर्माण ठेक्का लिएको थियो । पुल १५ करोड १७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको थियो । पुल निर्माणपछि दैनिक रूपमा तेह्रथुम र पाँचथर जिल्लाका दुई दर्जन बढी ठूला तथा साना गाडी गुड्र्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्