अर्थशास्त्रका रोचक नियमहरू «

अर्थशास्त्रका रोचक नियमहरू

धेरैले रोजगारी पाउन् र सरकारको राजस्व बढोस् भन्ने 
अर्थतन्त्रको वितरण वा सामाजिक न्यायको पक्ष हो ।

मानिसलाई धनी बनाउन वा देशको अर्थतन्त्र ठूलो बनाउन धेरै नोटको छपाइ र आपूर्ति गरिंदैन । भएका नोटको कारोबार जति बढी गरियो, अर्थतन्त्रको आकार उति बढ्दै जान्छ । पैसाको कारोबार बढाउन उपभोग, लगानी वा बैंकमा बचत गर्नुपर्छ । कसैले घरमा पैसा राख्छ भने त्यसले अर्थतन्त्र बढ्नबाट रोक्छ ।

 कुनै पनि मुलुकको अर्थतन्त्र कसरी ठूलो हुन्छ ? चुरोट–रक्सीको उत्पादन र खपत बढ्नुले पनि अर्थतन्त्रलाई राम्रो गर्छ त ? धेरै नोट नछापी मानिसहरू कसरी धनी बन्छन् ? हामीले आफ्नो कमाइ घरमा जम्मा गर्दा अर्थतन्त्रमा के हुन्छ ? त्यही पैसाले सामान किन्यौं वा बैंकमा राख्यौं भने अर्थतन्त्रमा के हुन्छ ? यस लेखमा यस्ता जिज्ञासा मेट्ने प्रयास गरिएको छ ।
एक जना पर्यटक गेस्ट हाउसमा गएछ । साहुजीलाई ५ सय रुपैयाँ दिएर कोठा हेर्न गएछ । साहुजीले त्यो ५ सय रुपैयाँ तुरून्तै इलेक्ट्रिसियनलाई दिएछ, किनकि बिजुली बनाइदिएको पैसा उधारो थियो । इलेक्ट्रिसियनले त्यो पैसा तुरुन्तै किसानलाई दिएछ, किनकि किसानसँग उसले चामल किनेको उधारो थियो । किसानले त्यो पैसा तुरुन्तै डकर्मीलाई दिएछ, किनकि किसानको घर बनाएको ज्याला उधारो थियो । डकर्मीले तुरुन्तै त्यो पैसा गेस्ट हाउसको साहूलाई दिएछ, किनकि उसको पाहुनालाई एक दिन गेस्ट हाउसमा सुताएको थियो । त्यो पैसा साहुजीले अघि कोठा हेर्न गएको पर्यटकलाई फिर्ता दिएछ, किनकि पाहुनाले गेस्ट हाउसको कोठा आफूलाई चित्त नबुझेकाले नबस्ने निर्णय गरेछ ।
यहाँ एउटा ५ सयको नोटले गेस्ट हाउसको पर्यटकबाहेक चार जनाको ५÷५ सय रुपैयाँको काम ग¥यो । यहाँ कसैको केही गुमेको छैन । ५ सय रुपैयाँको नोटले २ हजार रुपैयाँको कुल गार्हस्थ उत्पादन (जीडीपी) सिर्जना ग¥यो । अर्थतन्त्र यसरी नै चल्दछ । मानिसलाई धनी बनाउन वा देशको अर्थतन्त्र ठूलो बनाउन धेरै नोटको छपाइ र आपूर्ति गरिंदैन । भएका नोटको कारोबार जति बढी गरियो, अर्थतन्त्रको आकार उति बढ्दै जान्छ । पैसाको कारोबार बढाउन उपभोग, लगानी वा बैंकमा बचत गर्नुपर्छ । कसैले घरमा पैसा राख्छ भने त्यसले अर्थतन्त्र बढ्नबाट रोक्छ ।
सरकारले ४ खर्ब १६ अर्ब रुपैयाँ मात्र छापेर बजारमा पठाएको छ । तर, सबै नेपालीले बैंकमा बचत गरेको पैसा ३१ खर्ब रुपैयाँ छ । त्यस्तै, गत आर्थिक वर्षमा नेपालको जीडीपी पनि ३० खर्ब रुपैयाँ छ । यसको अर्थ एउटै पैसा ७ पटक कारोबार भएको छ । एक जनाले बैंकमा बचत गरेको पैसाबाट बैंकले ८० प्रतिशत अरूलाई ऋण दिन्छ । त्यो ८० प्रतिशत पछि बैंकमा पुनः निक्षेप बन्न आउँछ । त्यसको ८० प्रतिशत ऋण र पछि पुनः निक्षेप बन्न आउँछ । मानौं सुरुको १ लाख रुपैयाँबाट अधिकतम ५ लाख रुपैयाँको निक्षेप बन्न सक्छ । यदि नेपाल राष्ट्र बैंकले ९० प्रतिशत ऋण दिन पाउने नियम बनाउने हो भने १ लाखबाट १० लाख रुपैयाँ सिर्जना हुन्छ ।
अर्थशास्त्रमा कुनै पनि चिजमा खर्च गर्नु नराम्रो मानिँदैन । मदिरा, चुरोट, सुर्ती, खैनी आदि सेवन स्वास्थ्यका लागि हानिकारक हो । तर, अर्थतन्त्रका लागि लाभदायक हो । अर्थतन्त्रमा जे उपभोग भए पनि त्यसको सकारात्मक नतिजा हुन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने मदिरा र सुर्तीजन्य उत्पादन र उपभोग नहुने हो भने जीडीपी त घट्छ नै, सरकारी राजस्व एकै वर्ष संकटमा पर्छ । आन्तरिक वस्तु उत्पादनमा हाम्रो राजस्वको सबैभन्दा ठूलो स्रोत मदिरा र चुरोट नै हो ।
उपभोक्ताका दृष्टिकोणबाट कतिपय सरसमान वा सेवा व्यर्थमा खर्च गरेको भनिन्छ । तर, अर्थतन्त्रमा कुनै पनि खर्च व्यर्थ हुँदैन । नचाहिएको वा चाहिएको लुगा किन्नु, सिनेमा हेर्नु, फन पार्क घुम्नु वा आइसक्रिम उद्योग खोल्नु अर्थतन्त्रका लागि सबै समान हुन् । अर्थशास्त्रले एउटै पैसाको कारोबार कति पटक भयो भनेर मात्र हेर्छ । दोस्रो कुरा, कारोबारले सबैलाई नाफा नै होस् ताकि भविष्यमा कारोबार अझ बढोस् भन्ने दृष्टिकोण अर्थशास्त्रको हुन्छ । धेरैले रोजगारी पाउन् र सरकारको राजस्व बढोस् भन्ने अर्थतन्त्रको वितरण वा सामाजिक न्यायको पक्ष हो ।
पैसाको लेनदेन निरपेक्ष रूपमा अर्थतन्त्रको हिस्सा भने हुँदैन । एउटाले उत्पादन गरेको र अर्कोले किनेको हुनुपर्दछ । दुई जना मानिसले पैसा सापट लिने र दिने गर्दैमा अर्थतन्त्र बढ्दैन । सेवा वा वस्तु उपभोगबापत तिरेको पैसा मात्र अर्थतन्त्रको हिस्सा हुन्छ । सेकेन्ड ह्यान्ड वस्तु, जग्गा–जमिन र सेयरको खरिद–बिक्री पनि अर्थतन्त्रको हिस्सा हुँदैन, किनकि त्यो उत्पादन होइन । हरेक वस्तु पहिलो पटक जहिले उत्पादन वा उपभोग हुन्छ, त्यो वर्षको मात्र जीडीपीको अंश हुन्छ । त्यस्तै, गैरकानुनी वस्तु उत्पादन र खरिद–बिक्री पनि अर्थतन्त्रको अंश हुँदैन ।
अर्थतन्त्रमा हुने वस्तुलाई सार्वजनिक वस्तु र निजी तथा असल र खराब वस्तुमा वर्गीकरण गरिएको हुन्छ । अर्थतन्त्रको विकास दिगो र स्वस्थ हुन यी वस्तुहरूबीचको सन्तुलन भने हुनुपर्छ । सार्वजनिक वस्तु वा सरकारले दिने निःशुल्क सेवा वा वस्तुको उपभोग अनावश्यक हुनु हुँदैन । सित्तैंमा पाएको सुविधा भनेर मानिसहरूले अनावश्यक उपभोग गर्न थाले भने सरकारको लागत बढ्छ । त्यस्तै, खराब वस्तुको तुलनामा असल वस्तुको खपत बढी हुनुुपर्छ । यस्ता विषयमा सन्तुलन कायम हुन नसके बजार असफल (मार्केट फेलिअर) हुन्छ ।
माथि उल्लेख गरिएजस्तो मानिसहरूले एक रुपैयाँ पनि साथमा नराखी खर्च गर्नु वा बैंकमा बचत गर्नु सम्भव हुँदैन । आम्दानी मिनेट मिनेटमा हुँदैन तर भैपरी खर्च जहिले पनि हुन सक्छ । त्यसैले केही पैसा गोजीमै राख्नुपर्ने हुन्छ । यदि दुर्घटना, उपचार, भवितव्यको बिमा गरिन्छ भने मानिसले कम मात्र पैसा साथमा राखे पुग्छ । त्यस्तै, बजारमा जहाँ पनि अनलाइन भुक्तानी वा कार्ड भुक्तानी हुन्छ भने साथमा पैसा राख्नु पर्दैन । विकसित देशमा यस्तै भएकाले अर्थतन्त्रको आकार बढ्नमा सहयोग पुगेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्