Logo

स्थानीय जनप्रतिनिधिद्वारा गाडी फिर्ता

सर्लाही-सर्लाहीका तीन स्थानीय तहका जनप्रतिनिधिने सेवा सुविधावापत प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गरेका छन् । जिल्लामा २० वटा स्थानीय तह भए पनि तीनवटा स्थानीय तहका जनप्रतिनिधिले मात्र सुविधावापत प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गरेका हुन् ।
सवारी साधन फिर्ता गर्नेमा हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं, कविलासी नगरपालिका मेयर कौशल किशोर यादव र बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो छन् ।
सोमवार बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोसहित वडाध्यक्षहरूले पनि पालिकाबाट सुविधाका लागि लिएका गाडी फिर्ता गरेका छन् । मेयर महतोले गाडी बुझाउन बाँकी रहेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूलाई पनि नगरपालिकामा आएर बुझाउन आग्रह गरे ।
जिल्लामा ११ वटा नगरपालिका र नौवटा गाउँपालिका गरी जम्मा २० वटा स्थानीय निकाय रहेका छन् । निर्वाचन आचारसंहिता लागू भए पनि सर्लाहीका १७ वटा स्थानीय निकायका जनप्रतिनिधिले सुविधावापत प्राप्त गरेको गाडी फिर्ता गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्