निर्वाचनको माहोल बनाऔं : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)ले देशमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व आफ्नो एजेण्डा भएकाले नेपाली जनताले पुनः साथ दिने विश्वास व्यक्त गरेको छ । जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित परिवर्तनका कार्यसूचीलाई पूर्णता दिन पनि नेपाली जनताले आफूहरुलाई नै पुनः विश्वास गर्ने माओवादीको दाबी छ ।
स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनका बीचमा साझा उम्मेदवार टुंगो लगाउने चटारोका बीचमा माओवादीको केन्द्रीय प्रचार विभागले पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही महत्वपूर्ण सन्देश मतदातालाई दिन खोजेका थिए । उनले गठबन्धन परिवर्तनकारी एजेण्डाको रक्षाका लागि स्थापना भएको, निर्वाचन संविधानको कार्यान्वयनका लागि आवश्यक रहेको तथा पूर्वमाओवादी घटक एक ठाँउमा आउन लागेका लगायत पाँच सन्देश दिन खोजे ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि संविधानको रक्षाका खातिर पाँच दलीय गठबन्धन निर्माण भएको अध्यक्ष दाहालको भनाइ छ । स्थानीय निर्वाचनमा संविधानको रक्षामा सामेल भएका दलहरुका बीच साझा मत कायम गरेर अघि बढ्ने भन्दै छलफल जारी छ । साझा उम्मेदवार चयन गर्न छलफलमा जुटेका दलहरुबीच समान धारणा बन्न सकिरहेको छैन । अध्यक्ष दाहालले भने, ‘एउटै दलभित्र सहमति जुटाउन गाह्रो भएकाले पाँच दलबीच सहमति जुटाएर साझा उम्मेदवार चयन गर्न समय लाग्नु स्वभाविक हो ।’
संवाद अनि सहमति
नेपाली समाजमा एउटा भनाइ लोकप्रिय छ । त्यो हो, ‘वादे वादे जयते तत्व बोधः’ । निरन्तर छलफलका बीचबाट निर्णय गर्ने अन्तिम अवस्थामा सत्तारुढ दल पुगेका छन् । कूल ७५३ स्थानीय सरकार, त्यसको साझा नेतृत्व चयन गर्ने विषय आफैँमा महत्वपूर्ण छ । महानगरपालिका र उपमहानगरपालिकाको निर्णय केन्द्रबाटै गर्ने तयारी छ । अध्यक्ष दाहालले पत्रकार सम्मेलनमा भने, ‘सोमबार रातिसम्म पनि अन्तिम टुङ्गो लगाउँछौं ।’
देशभर ६ महानगरपालिका छन् । काठमाडौँ र ललितपुर राजधानीका महत्वपूर्ण महानगर हुन् । भरतपुर, पोखरा, वीरगञ्ज र विराटनगर मोफसलका महानगर हुन् । तीन वटामा गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले लिने सैद्धान्तिक सहमति भएको बताइएको छ । बाँकी तीन महानगर माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले लिने विषयमा समान धारणा बनेको अध्यक्ष दाहालले बताए । सोही मोडलमा इटहरी, धरान, जनकपुर, कलैया, जीतपुर सिमरा, हेटौँडा, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको निर्णय गर्ने गठबन्धनको तयारी छ ।
गठबन्धनले नगरपालिका र गाँउपालिकाको हकमा निर्णय गरेर जानकारी गराउन जिल्ला समितिलाई नै अधिकार दिएको छ । विवाद भएका वा समस्या देखिएका नगरपालिका वा गाँउपालिकामा मिल्न सक्ने ठाँउ भए मिलाउने तयारीमा गठबन्धनको शीर्ष नेतृत्व छ । निर्वाचन आयोगले यही वैशाख १२ गतेका लागि उम्मेदवार मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । त्यसअघि नै उम्मेदवार छनोट गर्नुपर्ने बाध्यता र दबाव छ ।
गठबन्धन परिवर्तनकारी एजेण्डा संस्थागत गर्न
पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले पाँच दलीय गठबन्धन परिवर्तनका एजेण्डा संस्थागत गर्ने कार्यभारका साथ स्थापना भएको स्पष्ट पारे । ‘समावेशी, समानुपातिक प्रणाली, धर्मनिरपेक्षतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखा परेको थियो । त्यसलाई रोक्न गठबन्धन बनेको हो,’ उनले भने । नेपाली जनताको विकास र समृद्धिप्रतिको चाहनालाई सम्बोधन गर्दै राजनीतिक स्थिरताका लागि गठबन्धन आवश्यक रहेको उनको भनाइ छ । राजनीतिक स्थिरताका लागि दुई ठूला कम्युनिस्ट पार्टीको एकताबाट नेकपा बनाइएको स्मरण गर्दै अध्यक्ष दाहालले त्यसको दुःखद् परिणती नेपाली जनताले भोगेको बताए ।
नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले पनि निर्वाचनमा भाग लिने मनसाय बनाएको छ । सो पार्टीका नेताद्वय धमेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीले आइतबार माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, ‘उनीहरुलाई निर्वाचनमा सहभागी हुनका लागि सकारात्मक वातावरण बनाउनुपर्छ भन्नेमा गठबन्धनमा साझा मत छ ।’
माओवादी केन्द्र एक्लै निर्वाचन लड्न तयार छ
अध्यक्ष दाहालले आफ्नो पार्टी कमजोर नरहेको र एक्लै निर्वाचनमा जान तयार रहेको स्पष्ट पारे । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दाहालको पार्टी ११६ स्थानमा विजयी भएको थियो । एक हजार एक सय वडामा पार्टीका उम्मेदवार विजयी भएका थिए । ‘गठबन्धन एउटा निश्चित उद्देश्यका लागि बनेकाले साथ साथै अगाडि बढ्नु जरुरी छ,’ उनले भने । सबै स्थानमा गठबन्धन हुने अवस्था छैन । त्यस्ता स्थानमा गठबन्धनमा आवद्ध दलहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने वा एजेण्डा मिल्नेसँग सहकार्य गर्ने माओवादी केन्द्रको तयारी छ ।
निर्वाचन कुनै हालतमा सर्दैन
अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताए । ‘केहीले निर्वाचन सर्दैछ की भनेर जिज्ञासा राख्ने गरेको पाइन्छ । यो हल्ला मात्र हो । यही वैशाख ३० गते नै निर्वाचन हुन्छ, गरिन्छ ।’