चेम्बर र महासंघले हस्तकला निर्यात र प्रवद्र्धनमा सहकार्य गर्ने «

चेम्बर र महासंघले हस्तकला निर्यात र प्रवद्र्धनमा सहकार्य गर्ने

हस्तकलाका वस्तुहरूको निर्यात प्रवद्र्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघबीच सहकार्य हुने भएको छ ।
व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तर्राष्ट्रिय पहिचानका लागि हस्तकलाका सामग्रीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासंघले निर्यात प्रवद्र्धनमा सहकार्य गर्न लागेका हुन् ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको निर्यात सहजीकरण, कच्चा पदार्थमा सहकार्य, भन्सारमा देखिएका जटिलता हटाउन महासंघसँग हातेमालो गरेर अघि बढ्ने बताए ।
महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई जमलस्थित चम्बर भवनमा सोमबार स्वागत गर्दै अध्यक्ष मल्लले नेपालका हस्तकलाका वस्तुहरूको अन्तर्राष्ट्रिय प्रर्दशनी एवं मेलामा सहभागिताका लागि पहल गर्ने बताए ।
हस्तकलाका उद्योगले व्यापक मात्रामा रोजगारी सिर्जना गुर्नुका साथै सीप, कला कैशलका माध्यमबाट संस्कृतिको संरक्षण र सम्र्वद्धनमा ठूलो सहयोग गर्दै आएको उनको भनाइ छ ।
उनले भने, “चरम व्यापार घाटा न्यूनीकरणका लागि वर्तमानको एउटै विकल्प भनेको हस्तकलाका सामानहरुको अन्तर्राष्ट्रियकरण गरेर निर्यात प्रर्वद्धन गर्नु नै हो ।”
महासंघका अध्यक्ष प्रचण्ड शाक्यले आफूहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरूको निर्यातका लागि भन्सार लगायतका ठाउँमा विभिन्न नीतिगत समस्या रहेको सुनाए । निर्यात गर्ने व्यवसायीलाई सरकारले राहतको व्यवस्था गरेपनि वास्तविक व्यवसायीले पाउन नसकेको शाक्यले गुनासो गरे ।
निर्यात सहजीकरण गरिदिन शाक्यले नेपाल चेम्बर अफ कमर्ससँग आग्रह गरेका छन् । आगामी बजेट अघि नै नीतिगत सुधारका लागि सरकारसँग पहल गर्ने चेम्बर र महासंघबीच समझदारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्