Logo

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

नयाँ धावनमार्गबाट आठ वैशाखदेखि उडान

नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । प्राधिकरणले पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकर प्रदीप अधिकारीका अनुसार बुद्ध, यती, श्री, गुण र सौर्य गरी ५ वटा एयरलाइन्सले वैशाख ८ गतेदेखि नयाँ धावनमार्गमा उडान सुरु गर्ने भएका छन् । अन्तर्राष्ट्रिय उडान भने जेठ २ गते बुद्ध जयन्तीका दिनबाट सुरु गर्ने तयारी छ । महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थलमा टर्मिनल बिल्डिङ निर्माण र रन वेको क्षमता बढाउने काममात्र बाँकी रहेको स्पष्ट पारे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन विमानस्थलमा ट्राफिक कम हुने अपेक्षा गरिएको छ ।
महानिर्देशक अधिकारीले अहिले न्यारोबडी र वाइडबडीका लागि धावनमार्ग तयार भएको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि हालसम्म जजिरा एयरले अनुमति पाएको उनले जानकारी दिए ।
महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको र ढिलोमा अंग्रेजी नयाँ वर्ष र छिटोमा दसैंसम्ममा अन्तर्राष्ट्रिय उडान गर्ने बताए । उनका अनुसार पोखरा विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेको छ । अबको १५ देखि २० दिनभित्रमा डाँडा कटानको काम शुरु गर्ने र कटान दुई महिनामा सक्ने लक्ष्य राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्