Logo

नयाँ वर्ष २०७९ को उमंग

दिन बित्दै गएपछि रात पर्छ भनेझैँ प्रत्येक वर्षले पनि आफ्नो नयाँ काचुली फेर्ने गर्छ । नयाँ वर्षसँगसँगै नयाँ उमंग, जोसजाँगर र अतीतका वर्षमा जेजे नराम्रो भए पनि आगामी वर्षका दिनहरू शुभ होस् भनेर हामी भगवान्सँग कामना गर्ने गर्छौं । त्यसैगरी नववर्ष २०७९ ले सबैको जीवन सुखमय बनोस् भनी म देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई शुभकामना दिन चाहन्छु ।
विगतका दुई वर्ष सबैका लागि अप्रिय प्रमाणित भएको थियो । किनकि कोरोनाले गर्दा कैयौं मानिसले आफ्नो ज्यान अनि परिवार गुमाएका थियौं । विश्वकै आर्थिक स्तर खस्केर सबैले आर्थिक समस्या खेप्नुपरिराखेको छ । तर, अब जीवन पहिलेकै जस्तै सामान्य भएको हुनाले अबका नयाँ दिनहरूमा यस्ता दिनहरू फर्केर नआओस् भनी कामना गर्छु । किनकि जनता सुरक्षित अनि समृद्ध भएमा मात्र राष्ट्रको विकास सम्भव छ । त्यसैले यस नयाँ सालमा राष्ट्रले नयाँ–नयाँ कार्ययोजनाहरू बनाई, रोजगारी प्रवद्र्धन, सीपमूूलक तालिमहरू उपलब्ध गराएमा, प्रभावकारी नियमनहरू पारित गरिएमा र विगतमा भएका कमी–कमजोरीहरू नदोहो-याएमा हामी जनतालाई पनि निकै ठूलो राहत मिल्ने थियो ।
हामी सबै जनता एकजुट भई विभिन्न क्षेत्रमा हुने चुहावटहरू रोक्न सकेमा, देशमा रोजगारी बढी सिर्जना गरी युवाहरूलाई विदेश पलायन गर्नबाट रोक्न सकिएमा र उपलब्ध स्रोतसाधनको उचित प्रयोग अनि प्रवद्र्धन गर्न सकिएमा हामी नेपालीहरूले चाडपर्वको अवसरमा विदेशमा भएका आफन्तजनहरूलाई सम्झेर रुनुपर्ने थिएन होला । तर, एउटा भनाइ नै छ, ‘जे हुन्छ राम्रोको लागि हुन्छ’ भनेझैँ आगामी दिनहरूमा हामीहरूबाट यस्ता त्रुटिहरू नहुन् भनी आशा राख्छु ।
नयाँ वर्ष नजिकिँदै जाँदा हामी भविष्यसँग सम्बन्धित नयाँ–नयाँ योजनाहरू बनाउने गर्छाैं । मनमा यो अठोट आउने गर्छ कि विगतमा जे भए पनि आगामी दिनहरूमा हामीले धेरै मेहेनत अनि परिश्रम गरी आफ्नो गन्तव्यमा पुग्ने कोसिस गर्नुपर्छ । सामान्यतया १ गतेको दिन जसरी बित्यो, महिनाभरी नै त्यसरी नै बित्छ भन्नेजस्ता कथनले पनि हामीलाई धेरै नै प्रभावित बनाउने गर्छ । त्यसैले अधिकांश मानिस उक्त दिन घुमफिर गर्ने, आफन्तजनहरूसँग भेटघाट गर्ने र मीठा–मीठा पक्वान्नहरू पकाएर खाई नाचगान गरेर दिन बिताउने योजना बनाउने गर्छन् ।
नयाँ वर्षको दिनमा अति आवश्यक सेवाबाहेक सम्पूर्ण कार्यालयहरू बन्द हुने हुनाले सबैले उक्त दिन खुसी र आनन्दका साथ मनाउने गर्छन् । त्यसैले यस दिनमा सबैले सबैरै स्नान गरी, नित्य कार्य, कर्म पाठ गरी मन्दिरहरू जाने गर्छन् । दानपुण्यका कार्यहरू पनि गर्ने हुनाले उक्त दिनमा मन्दिरहरूमा समेत भीड हुन्छ । प्रायः सबैको योजना भनेको घुमफिर गर्ने नै हुन्छ । त्यसमाथि प्रत्येक सार्वजनिक स्थल, पार्क, रिसोर्ट, पिकनिक स्थल, फिल्म हलहरूमा मानिसको घुइँचो लाग्ने गर्छ । झनै बालबालिकाहरूको प्रिय स्थल चिडियाखाना र फन पार्कमा मानिसहरूको चाप यति धेरै हुने गर्छ कि खुट्टा टेक्ने ठाउँसमेत हुँदैन ।
नयाँ वर्षको दिन कोही घरमै नाचगान गरेर बिताउँछन् भने कोही घरमै खेल जस्तै लुडो, चेस र तास खेलेर बिताउने गर्छन । त्यस्तै फिल्म हल, रिसोर्ट तथा पिकनिक स्थलहरूमा उक्त दिन भीड नहोस् भन्ने हेतुले अग्रिम बुकिङको काउन्टर समेत खुल्ने गर्छ । यतिबेला बाह्यभन्दा पनि आन्तरिक पर्यटकहरूको चाप बढी हुन्छ । आजको दिनमा सामाजिक सञ्जालभरि नयाँ वर्ष मनाएका तस्बिरहरूले भरिएको हुन्छ । किनकि सामाजिक सञ्जाल अहिलेको समयमा सुख अनि दुख पोख्ने माध्यम भएको छ । आफ्नो दैनिकीमा जेजस्ता घटना घटे पनि हामी नेपालीहरूलाई सामाजिक सञ्जालमा पोस्ट गर्ने बानी नै बसिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्