राहत वितरण एकद्वार प्रणालीबाट

वर्षाले पीडित त्रसित
बारा-शनिबार परेको पानीका कारण बाराका आँधीबेहरी पीडित थप समस्यामा परेका छन् । कामचलाउ त्रिपालको छाप्रो र टेन्टमा बसेका पीडितहरु वर्षाका कारण त्रसित बनेका हुन् ।
शनिबार पाँच घण्टा बारामा पानी पर्नुका साथै सामान्य हावाहुरी आएको थियो । यसका कारण राहत वितरण प्रभावित भएको र केही पीडित त्रासमा बसेको पाइएको जिल्ला प्रशासन कार्यालयले बाराले जनाएको छ । कतिपय पीडितकोे त्रिपाल र टेन्ट हावाले ढलाइदिएको थियो । जिल्लाका ८ स्थानीय तहका विभिन्न गाउँका पीडितहरु पानी परेका कारण त्रसित बनेका थिए ।
प्रहरी, सेना र सशस्त्रको टोली तत्कालै टेन्ट तथा त्रिपालहरु व्यवस्थापन गर्न जुटेका कारण खासै असर नपरेको बाराका प्रहरी उपरीक्षक सानुराम भटराईले जानकारी दिए । अधिकांश टेन्ट र त्रिपालको ओत लाग्ने स्थान खेतमै बनाइएका कारण डुबानको समस्यासमेत उत्पन्न भएको स्थानीयले बताएका छन् ।
वर्षाका कारण जिल्ला विपद् व्यवस्थापन समितिको बैठकसमेत बस्न सकेको थिएन । गत आइतबार राति आएको हावाहुरीका कारण २४ सय घरपरिवार प्रभावित भएको भए पनि अहिलेसम्म स्थानीय प्रशासन र विभिन्न संघसंस्थाको पहलमा झन्डै ६ सय टेन्टमात्र पुगेको बताइएको छ ।
घटनामा बारा र पर्सामा गरी २९ जनाको मृत्यु हुनुका साथै करिब ६ सय घाइते भएका छन् । २४ सय घर परिवार प्रभावित भएकोमा एक हजार घर पूर्णरुपमा भत्किएको रेडक्रसले जनाएको छ ।
राहतमा एकद्वार प्रणाली लागू
जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबारबाट राहत वितरणमा एकद्वार प्रणाली लागू गरेपछि ८ स्थानीय तहका आधादर्जन बढी स्थानमा शनिबारसम्म राहत पुगेको छ । जिल्लामा रहेको विपद् व्यवस्थापन समितिले राहत वितरण कार्य प्रभावकारी नभएको भन्दै एकद्वार प्रणाली लागू गरेको हो ।
जिल्लाका देवताल गाउँपालिका, महागढीमाई नगरपालिका, सुवर्ण गाउँपालिकाका बस्तिहरुमा कुनै किसिमको मानविय क्षति नभए पनि घरहरु पूर्ण रुपमा क्षति भएको छ । देवताल गाउँपालिकाको रामपुरवामा २ सय ५३ वटा घर पूर्ण रुपमा क्षेति हुँदा शुक्रबार साँझमात्रै राहत पुगेको थियो । दाताहरुले नजिकका स्थान र पायक परेका स्थानहरुमा मात्रै पटक–पटक राहत वितरण गर्दै आएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बाराले एकद्वार प्रणाली लागू गरेको हो ।
राहत वितरण गर्न आउनेहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत् स्थान तोकेर सो ठाउँमा राहत वितरणका लागि पठाउन सुरु गरेको छ । प्रहरी प्रशासन र जनप्रतिनिधिहरुले प्रभावित क्षेत्रमै टेन्ट राखेर राहत लिएर आउनेसँग बुझ्दै पीडितसम्म पु-याउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।
सुवर्णपुरका पीडितहरुले पनि शुक्रबारबाट मात्रै राहत पाउन थालेको बताएका छन् । राहत नपुगेका प्रभावित क्षेत्रमा अस्थायी शिविर खडा गरी प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा दाताबाट प्राप्त राहतलाई एकद्वार प्रणालीमार्फत् वितरण गर्न थालेको छ । एकद्वार प्रणली कडाइका साथ लागू गरिने र सबै प्रभावित क्षेत्रमा राहत पुगिसकेको जिल्ला प्रशासन कार्यालयको दाबी छ ।