Logo

ठगी गर्नेको फोटोसहितको नाम वेभसाइटमा राखिने

कन्सल्टेन्सी र मेनपावरको ठगी रोक्न प्रहरी र कर्मचारी परिचालन
पछिल्लो समय वैदेशिक रोजगारीको नाममा ठगी बढ्न थालेपछि सरकारले शैक्षिक परामर्श संस्था र मेनपावर विरुद्धको कारवाइलाई कडाई गर्ने भएको छ ।
शैक्षिक परामर्शको नाममा वैदेशिक रोजगारको काम गरिरहेको जनाउँदै एकै संस्थाविरुद्ध करोडौं रुपैयाँ ठगी गरेको उजुरी परेपछि कारवाई तीव्र बनाइने भएको हो । यसैगरी मेनपावर कम्पनीले विभिन्न नक्कली एजेन्ट खडा गरेर श्रमिकसँग चर्को सेवा शुल्क असुल्ने तथा लामो समयसम्म युवालाई विदेश नपठाई ठगी गरेको अभियोगमा उजुरी बढ्न थालेपछि कारवाही अघि बढाइएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले ठगीका धेरै उजुरी सम्बोधन नभएको जनाउँदै विभागका सबै कर्मचारीलाई अनुसन्धान गर्ने अधिकार दिने र विभागमा रहेका ७ जनाको प्रहरी टोलीलाई समेत सक्रिय बनाउने बताए ।
पछिल्लो समय कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आएपनि यसको नाम हुने ठगी भने बढेको विभागको भनाइ छ । विभागका महानिर्देशक पौडेलले वैदेशिक रोजगार ऐनको दफा ४४ अनुसार कारवाई गर्ने गरी अभियान सुरु गरेको जानकारी दिए । यसअघि पनि विभागले ठगीविरुद्ध कारवाही गर्दै आएपनि मेनपावरलाई साधारण कारवाही गरी छोड्ने गरिएको थियो । ऐनको दफा ४४ अनुसार कुनै इजाजतवालाले विभागबाट स्वीकृति नलिई कामदार विदेश पठाएमा वा कुनै इजाजतपत्रवालाले कसैलाई वैदेशिक रोजगारमा लगाइदिने भनी झुटो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिई विदेश नपठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम भराई त्यस्तो इजाजतवालालाई ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ देखी ७ वर्षसम्म कैद हुने भन्ने उल्लेख छ । यसअघि ठगी गर्ने मेनपावरलाई जरिवाना तिराएर छोडने गरीकोमा अब भने कैदसमेत राख्ने गरी कानुन कार्यान्वयन गरिने जनाइएको छ । यसरी ठगी गर्ने व्यक्ति वा संस्थाको नाम विभागको वेभसाइटमा समेत राखिने विभागले जनाएको छ ।
सरकारले अधिकतम १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिन पाउने नियमक बनाएपनि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि संस्थाको नाममा व्यक्तिगत ठगी बढेको छ । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाई दिने भन्दै रकम असुली गर्ने प्रवृत्तिका कारण ठगी रकम र उजुरी संख्या बढेको विभागको भनाइ छ । वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको गत आर्थिक वर्षको पहिलो ५ महिनाको विवरणमा ठगीको दाबी रकम १ करोड ७१ लाख ७६ हजार ९२० रुपैयाँ बढेर १३ करोड ७० लाख ९८ हजार ४६० रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको मंसिर महिनासम्म ११ करोड ९९ लाख २१ हजार ५२९ रुपैयाँ बराबर ठगीएको जनाउँदै पीडितले रकम दावी गर्दै उजुरी दिएको विभागले जनाएको छ । चालु आवको पहिलो ५ महिनामा ठगीको दाबी रकम १३ कारोड ७० लाख पुगेको छ । गत वर्ष ठगीमा परेर विभागमा उजुरी दिनेको संख्या १०८ रहेकोमा चालु आवमा सो संख्या २३९ पुगेको छ ।
सरकारले वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न नपाउने निर्णय गरेको भएपनि चालु आर्थिक वर्षको ५ महिनामा व्यक्तिगत १ करोड ७० लाख रुपैयाँले बढेको उजुरी विभागमा दर्ता भएको छ । गत आर्थिक वर्षको मंसिरसम्म वैदेशिक रोजगारी पठाइदिने भन्दै १०८ वटा व्यक्तिगत उजुरीमा ११ करोड ९९ लाख २१ हजार ५३१ रुपैयाँ बराबरको ठगीको उजुरी परेकोमा हाल आएर बढेको देखिन्छ ।
एजेन्ट राख्ने व्यवस्था खारेज भएसँगै मेनपावर कम्पनीको आडमा व्यक्तिगत ठगी गर्ने गिरोह सक्रिय रहेका कारण उजुरी बढेको देखिन्छ । व्यक्तिगत रुपमा ठगीमा परेका युवाले पैसा मेनपावर कम्पनीमा बुझाएको जनाएपनि पैसा बुझने व्यक्ति संस्थाको कर्मचारी नभएको पाइएको विभागले जनाएको छ ।
श्रमिकबाट पैसा लिने स्थान मेनपावरको परिसर बनाउँदै व्यक्तिगत रुपमा युवासँग पैसा असुल्न र मेनपावर कम्पनी पन्छिने गरेका घटना बढ्न थालेको विभागले जनाएको छ । विभागका अनुसार व्यक्तिगत ठगी मेनपावरको आडमा र समुह बनाएर गिरोहको रुपमा हुन थालेको छ । व्यक्तिगत ठगीका उजुरीमा मेनपावर कम्पनी भित्रै पैसा लेनदेन हुने गरेको पाइएको छ । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भएपनि व्यक्तिगत ठगी कमी आएको छैन ।
संस्थागत रुपमा भने वैदेशिक रोजगारीमा जाने कामदारबाट तोकिएको भन्दा बढी शुल्क लिएको, सम्झौतामा उल्लेख भएको भन्दा फरक काम दिएको, सम्झौतामा उल्लेख भएको भन्दा घटी पारिश्रमिक दिएको लगायतका उजुरी पर्ने गरेका छन । सम्झौतामा खान र बस्नको लागि व्यवस्था भएको भनिएकोमा सोको लागि तलबबाट रकम कट्टा गरेको लगायतबाट ठगी हुने गरेको छ । ठगीको उजुरी सम्बन्धमा विभागले क्षतिपूर्तिको कारबाही गर्ने गरेको भएपनि उजुरीका घटनामा भने कमि आएको छैन । वैदेशिक रोजगारीको ठगीमा वृद्धि भएकोले नियन्त्रणात्मक उपाय खोजी गर्ने र समयमा जाहेरी फरफारक गर्नुपर्ने विज्ञको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्