कैदीबन्दीले बनाएको मुढा बिकेन

गोरखा-बिक्री नभएपछि कैदीबन्दीले बनाएको मुढा गोरखा कारागारमै थन्किएको छ । दुई महिनायता मुढाको बिक्री घटेको कारागारका चौकीदार गोपाल बरामले बताए । “पहिले महिनामा करिब ५ सय मुढा बिक्री हुन्थ्यो,” उनले भने, “अहिले महिनामा एक-दुई सय पनि बिक्री भएको छैन ।” बसपार्कका हरि श्रेष्ठ र बिसौनीमोडका धर्मेन्द्र श्रेष्ठमार्फत कैदीबन्दीले बजारमा मुढा बिक्री गर्थे । तर, पछिल्लो समय बजारमा माग नभएको भन्दै उनीहरूले मुढा लैजान छाडेका चौकीदार बरामले जानकारी दिए ।
मुढा बिक्री हुन छाडेसँगै कैदिबन्दीले बनाएको करिब ५ सय मुढा कारागारमै थन्किएको छ । ३५ जनाको क्षमता रहेको गोरखा कारागारको पुरुष कक्षमा हाल ९३ जना राखिएकाले थप मुढा बुनेर भण्डारण गर्न समस्या हुँदा कैदीबन्दीले मुढा बुन्न छाड्न थालेका चौकीदार बरामले बताए । “बजार नपाएपछि मैले नै अहिले काम रोक्नु भनेको छु,” उनले भने, “यहाँ मुढा बुनेर राख्ने ठाउँ छैन, पानी प-यो भने कुहिन्छ त्यसैले स्टक मुढा बेचेपछि बनाउँला भनेको छु ।” कैदीबन्दीले मुढा बुनेर मासिक न्यूनतम ५ हजारदेखि अधिकतम २० हजारसम्म आम्दानी गर्दै आएका थिए । तर, अहिले मुढा बिक्री नहुँदा आम्दानी पनि घटेको चौकीदार बरामले बताए ।
दुई दिनमा एउटा मुढा तयार गर्दै आएका चेतबहादुर भुजेलले अहिले काम रोकेको बताए । “एउटा मुढामा करिब दुई सय नाफा हुन्थ्यो,” उनले भने, “आफूलाई चियापानी खान पुग्थ्यो, जहान परिवार भेट्न आउँदा केटकेटीलाई दुई चार सय हातमा राख्दिन पाइन्थ्यो, अहिले त पैसा नै परेको छैन ।” कारागारमा करिब ६० कैदीबन्दीले मुढा बुन्दै आएका छन् । तर, काम नपाएपछि अहिले धेरैजसो क्यारेमबोर्ड खेलेर दिन कटाउने गरेका सूर्यबाबु आचार्यले बताए ।
उनीहरूले तयार पारेको मुढा ५ सयदेखि ७ सय रुपैयाँसम्म र डाइनिङ १० हजारदेखि १६ हजार रुपैयाँसम्ममा बिक्री गर्छन् । साइजअनुसार मुढाको मूल्य फरक–फरक रहेको चौकीदार बरामले बताए । “हामीले बनाएको मुढा बजारको तुलनामा बलियो छ,” उनले भने, “बजारमा पाइने ३-४ वर्ष टिक्ला, हामीले बुनेको मुढा कम्तीमा ७-८ वर्ष टिक्छ ।” कारागारमा नै आउने ग्राहकलाई बजारको तुलनामा कम मूल्यमा बिक्री गरिने पनि उनले बताए ।
मुढा बनाउन डोरी, टायर, रंग, सिन्का आवश्यक पर्छ । तीमध्ये सिन्काका लागि बाँस मात्रै गोरखाको विभिन्न गाउँबाट सहयोगीको भरमा ल्याउने गरेको चौकीदार बरामले बताए । अन्य सामग्री गोरखा बजारसहित चितवन, वीरगन्ज, पोखरालगायतका सहरबाट ल्याउने व्यवस्था मिलाइएको छ । कैदीबन्दीले बनाएका मुढा बिक्रीका लागि बजार व्यवस्थापनमा पहल गर्ने कारागारका प्रमुख डिल्ली श्रेष्ठले बताए । “यहाँको बजारमा त्यति खपत छैन,” उनले भने, “बाहिरका बजारमा पनि बुझ्छौ ।”