Logo

कालिगण्डकी नदी किनारमा प्रहरीको नमुना अभ्यास

स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम (राम्दी) मा ‘बाढी पहिरोमा उद्धार नमुना अभ्यास’ (सिमुलेसन) गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल ३० नं. गुल्म स्याङ्जाको आयोजनामा सिमुलेसन गरिएको हो । कालिगण्डकी नदी किनारामा बाढी पहिरो आउँदा र नदीले बगाउँदा गरिने उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म पु-याउने विधिकाबारेमा नमुना अभ्यास गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल ४ मुक्तिनाथ बाहिनी र गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको समन्वयमा सिमुलेसन गरिएको हो । बाढी पहिरो आउँदा कसरी र कुनकुन माध्यम उपयोग गरेर मानवीय र सोसंँगै जोडिएका भौतिक संरचनाको उद्धार एवं सहयोग कसरी गर्न सकिन्छ भन्ने अभ्यास गराइएको सशस्त्र प्रहरी नायब उपरिक्षक मोहन न्यौपानेले जानकारी दिए ।
बर्षेनी बाढी पहिरो, चट्याङ्, आगलागी, दुर्घट्ना र महामारी लगायतका विपत्ति तथा प्रकोपले पु-याउने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार टोलीले गर्नुपर्ने विविधकार्य, तयारीका बारेमा सिमुलेसन गरिएको न्पौपानेले बताए । बाढी रपहिरोजन्य जोखिममा नेपाल विश्वकै ३०औं नम्बरमा रहेकोे स्पष्ट पार्दै उनले बर्सेनि बाढी पहिराले धेरै ब्यक्तिले ज्यान गुमाएका हुन्छन् भने करोडौं मूल्यको सम्पत्ति नष्ट हुँदै आएका बताए ।
प्राकृतिक तथा अन्य विपत्तिबाट छिटोछरितो जोगिन र जोगाउनका लागि तत्काल अपनाउन सकिने विधि र प्रक्रिया अपनाई सिमुलेसन गरिएको मुक्तिनाथ बाहिनीपति शम्भु सुवेदीले जानकारी दिए ।
“विपत्ति र आपत्ती कति बेला आउँछ त्यो कसैलाई थाहा नै हुँदैन ।” बाहिनीपति सुवेदीभने, “विपत्तिका बेला सुरक्षाकर्मीले आफ्नो शरीरलाई जोखिममै राखेर पनि उद्धार कार्यमा खटिरहन्छन् ।” अभ्यासमा गरेजस्तै उद्धार टोली यसरी नै तयारी अवस्थामा खटिरहने उनले बताए ।
बर्सेनि गरिने अभ्यासअन्तर्गत चालू वर्ष लम्जुङ्मा भूकम्पसम्बन्धी, कास्कीमा फेवातालमा डुब्ने अभ्याससम्बन्धी र स्याङ्जा विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गरिएको बाहिनीपति सुवेदीले बताए ।
जिल्लामा हुने हरेक विपद्का बेला नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले बढो जिम्मेवारीपूर्वक काम गर्दै आएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति संयोजकसमेत रहेका राजुप्रसाद पौडेलले बताए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ कार्यान्वयमा रहेको र जसका कारण विपद् व्यवस्थापन तथा उद्धारमा थप सहज बनेको प्रजिअ पौडेलको बुझाइ छ । विपद् व्यवस्थापनको नमुना अभ्यास वडा तहसम्म पु-याउनु पर्ने आवश्यकता रहेको उनले औंल्याए ।
करिब डेढ घण्टाको नमुना अभ्यासका क्रममा ‘बाढीपहिरोमा परी कालिगण्डकी नदीमा चिच्चाउँदै बगेका ४ युवालाई केही सुरक्षाकर्मीले डोरीबाट हाम फालेर, केही डुंगामा चढेर, केही पौडिँदै गएर बग्दै आएका युवालाई उद्धार गरी, प्राथमिक उपचार गरेर अस्पतालसम्म पु-याउने गरिएको थियो ।
नमुनाका रूपमा बेपत्ता एक ब्यक्तिलाई गोताखोरका माध्यमबाट खोजेर नदीबाट बाहिर निकाली मृत रहेको शरीर उनका आफन्तलाई जिम्मा लगाउनेसम्मका चरणबद्ध कार्य प्रदर्शन गरिएको थियो । बाढी पहिरोले घर भत्केपछि गरिने उद्धार र अस्थायी घर बनाई स्थानान्तरणसम्मका अभ्यास पनि समावेश गरिएको सशस्त्र प्रहरी बल निरीक्षक उमेश ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्